Subscribe Us

लुम्बिनी छोटी भन्सारमा अबैध असुली

लुम्बिनी । रुपन्देहीको कालीदह–ककरहवा सीमा नाकास्थित लुम्बिनी छोटी भन्सार कार्यालयमा खुलेयाम रुपमा अवैध असुली हुने गरेको छ । सो नाकाबाट नेपाल भित्रिने मोटरसाइकललगायतका सवारी साधनका लागि दिइने भन्सार सुविधाबापत कार्यालयका कर्मचारीले अवैध रुपमा असुली गरेको खुल्न आएको हो ।

उक्त नाकाबाट नेपाल भित्रिने भारतीय नम्बर प्लेटका प्रत्येक सवारी साधनबाट कार्यालयका कर्मचारीले रु १६ देखि २० सम्म अवैध रुपमा असुल्ने गरेको पीडितको आरोप छ । कार्यालय प्रमुखलाई देखाउँदै भारत सिद्धार्थनगर घरभएका भारतीय सञ्चारकर्मी जमिल अहमद खाँले भन्नुभयो, “यिनले भारतीय १० रुपैयाँ दिनुस् भने, मैले दिएँ ।

 म नेपाली बुझ्दैन, यहाँको कानुन मलाई थाहा छैन ।” यही साउन २४ गते आफ्नो निजी मोटरसाइकल युपी ५५ एमटी ७८९ बाट समाचार सङ्कलनका लागि उनी लुम्बिनी आएका थिए । नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेकाले पनि सीमा क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारी साधनको आवागमन बढी देखिनु स्वाभाविकै भएको स्थानीयको भनाइ छ ।नजिकै रहेको बुद्धजन्मस्थल लुम्बिनीको अवलोकनका लागि भारतीय पर्यटक लुम्बिनी छोटी भन्सार हुँदै मोटरसाइकलबाट बढी भित्रिने गर्दछन् । भन्सार स्रोतका अनुसार यस नाकाबाट दिनमा एक सयभन्दा बढी मोटरसाइकलले सो नाकाको प्रयोग गर्ने गर्दछन् ।

    सुविधा भन्सार बनाएपछि सो दिनको राति ९ बजेसम्म तोकिएको क्षेत्रभित्र नियम सङ्गत ढङ्गले बिना रोकटोक घुमी पुनः भारत फिर्ता जानुपर्ने प्रावधान छ । यस्तो भन्सार सुविधा भारतीय सवारी साधनका लागि निःशुल्क हुन्छ । यस सम्बन्धमा कार्यालय प्रमुख कमल खड्काले छोटो प्रतिक्रिया दिँदै भन्नुभयो, “यहाँ यस्तै हो । बाँकी भैरहवा भन्सार कार्यालयबाट बुझ्नु ।” यता भैरहवा भन्सार कार्यालयले भने भन्सार सुविधा गराएका गाडीबाट कुनै पनि किसिमको शुल्क तिर्नु नपर्ने बताएको छ

Post a Comment

0 Comments