Subscribe Us

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, भेटघाटमा व्यस्त


 काठमाडाँ । प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यमा निकै सुधार आएपछि केही दिनयता भेटघाटमा व्यस्त हुन थाल्नुभएको छ । प्रधानमन्त्री कोइरालाले स्वस्थ महसुश गरेलगत्तै केही दिनदेखि उहाँ बालुवाटारमा मन्त्री, सल्लाहकार समूह, सभासद्, आफ्ना पार्टीका नेता–कार्यकर्तादेखि सरकारी कामकाजका लागि विभिन्न पदाधिकारीसँग प्रत्यक्ष भेटघाट र टेलिफोनमा व्यस्त हुन थाल्नुभएको उहाँको स्वकीय सचिवालयले बताएको छ ।

चिकित्सकको सल्लाहबमोजिम प्रधानमन्त्री केही दिनयता आफ्नो निवास बालुवाटारमा नै अधिकांश समय बिताउँदै आउनु भए पनि अब केही दिनमै नियमित सिंहदरबार कार्यालय जाने र बाहिर कार्यक्रममा समेत उपस्थित हुने बताइएको छ । अमेरिकाबाट रेडियोथेरापी विधिको उपचार गरी फर्केपछि प्रधानमन्त्री कोइरालाको स्वास्थ्यमा देखिएका मन्द ज्वरो, खोकी अहिले निको हुनुका साथै खानामा पनि रुचि बढेको उहाँका निजी चिकित्सक प्रा. डा. करवीरनाथ योगीले राससलाई बताउनुभयो ।
   
अमेरिकाबाट फर्केपछि विशेषज्ञ चिकित्सकको टोलीले विभिन्न परीक्षणसमेत गरेर हेर्दा उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार देखिनुका साथै घटेको तौलसमेत सामान्य भएको डा. योगीले जानकारी गराउनुभयो । फोेक्सोमा सेतो दाग देखिएपछि प्रधानमन्त्री गत असार २ गते अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा स्वास्थ्य परीक्षण गर्न जानुभएको थियो । मेरिकामा उहाँको उच्चप्रविधिबाट पाँच पटक रेडियोथेरापी विधिमार्फत स्वास्थ्योपचार गरिएपछि उहाँ यही साउन ६ गते स्वदेश फर्कनुभएको थियो । रासस

Post a Comment

0 Comments