Subscribe Us

बेपत्ता महिला खोज्न कुकुर

वीरगन्ज, ११ भदौ । घरेलु हिंसा सहन नसकेर एक महिनादेखि बेपत्ता विवाहित महिलाको खोजीका लागि नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको सहयोग लिएको छ। साउन ५ गतेदेखि बेपत्ता रहेकी
रञ्जना सुवेदीलाई परिवारजनले हत्या गरेको आशंकामा खोजतलासका लागि मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट ल्याइएका दुईवटा तालिम प्राप्त कुकुर प्रयोग गरिएको हो।
अञ्चल प्रहरी कार्यालय नारायणीमा कार्यरत सिपाही जीवनाथ सुवेदीकी पत्नी रञ्जना बेपत्ता भएको एक महिनाभन्दा बढी भए पनि अझैसम्म उनी फेलापरेकी छैनन्।
प्रहरी टोलीले मधुवन मथवल ५, गादी ८ का साथै आसपासको जंगल क्षेत्रमा कुकुरको सहयोगमा बेपत्ता महिलाको खोजतलास गरेको हो।
छोरीलाई चरम यातना दिएर हत्या गरेको आरोपसहित रञ्जनाको माइती पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
सुवेदीको निवास, बस्ती, आसपासको खेतबारी र जंगल क्षेत्रमा समेत कुकुरको सहयोगमा खोजतलास गर्दा पनि फेला नपरेको अनुसन्धान अधिकृतले बताए। चार वर्षीय छोराकी आमा रञ्जनालाई राम्ररी घरधन्दा नगरेको भन्दै पतिले शारीरिक र मानसिक यातना दिने गरेको माइती पक्षको आरोप छ।
साउन ५ गते रामभौरी भाठामा साउने मेला घुमेर घर फर्किएपछि सामान्य विवाद भएलगत्तै पत्नीले माइत जान्छु भनेर हिँडेको पति जीवनाथ सुवेदीको भनाइ छ। गादी गाविस ८ रंगपुर टोलमा माइत भएकी रञ्जनाको घर छिमेककै मधुवन मथवल ५ अकुनिया टोलमा छ ।स्रोतःखबरदैनिक

Post a Comment

0 Comments