Subscribe Us

गुण्डा सखाप हुँदैछन् राजधानीमा

Ganesh-Basnet
महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौं परिसरलाई समेत साथमा लिई शुरु गरेको गुण्डाराज समाप्तीको अभियानलाई ब्यापारीसँगै आम नागरिकले पनि साथ दिएका छन । यो साथ र समर्थनबाट उत्साहित प्रहरी आगामी ६ महिनाभित्रै उपत्यकालाई गुण्डामुक्त क्षेत्र बनाउने स्पष्ट मार्गचित्रसहित अघि बढेको छ ।

चरीको नामले उपत्यकामा आतंक मच्चाइरहेको गुन्डा नाइके दिनेश अधिकारीको इन्काउन्टरलाई लिएर सदन र सडक दुवैतिरबाट प्रहरीमाथि आक्रमण भइरहँदा कारबाहीको नेतृत्व गर्दै अघि बढेका महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुष्कर कार्की अलिकत्ति पनि विचलित देखिएनन् । राजधानीमा मौलाएको गुन्डाराजलाई जरैदेखि समाप्त पार्ने अठोटका साथ अघि बढेका एसएसपी कार्की चरीको मत्युलाई लिएर आफूमाथि आक्षेपको वर्षा हुँदा पनि गुन्डा नियन्त्रणकै योजना बनाउन ब्यस्त रहे । परिणाम केही दिनभित्रै अर्का गुन्डा समूहका नाइकेलाई पक्राउ गर्दै राजधानीवासीको मन जित्न सफल भए ।
उपत्यकालाई गुन्डामुक्त क्षेत्र बनाएरै छाड्ने अठोट लिएर हिँडेका कार्कीले आफू मातहतका सबै प्रहरी अधिकृत र जवानलाई राजनीतिज्ञले जस्तो जवाफ होइन, गुन्डागर्दीको जालो तोड्ने काममा लाग्न निर्देशन दिएर परिचालन पनि गरे । त्यसैको परिणाम काभ्रेली समूहका एक नाइके दावा लामा अवैध लागूऔषधसहित पक्राउ गर्न प्रहरी सफल भयो । चरीको विषयलाई लिएर आक्रमण भएपछि प्रहरीको गुन्डागर्दीविरुद्धको काममा शिथिलता आयो कि भन्दै लागूऔषधको व्यापारमा लागेका लामालाई सुइँकोसम्म नदिई पक्राउ गरेर कार्कीले कसैको दबाबसामु गुन्डाराजविरुद्धको अभियान रोकिँदैन भन्ने प्रस्ट जवाफ दिए ।
पहिलाजस्तै दोस्रोमा पनि राजनीतिक दबाब आयो, छुटाउनका लागि संविधान बनाउने जिम्मेवारी बोकेका सभासद् स्वयं हनमानढोका पुगे, तर प्रहरीले आफ्नो अभियानमा साथ दिन नसके चुप बस्न सुझाएर गुन्डा छुटाउने दबाब लिएर नआउन भन्दै फिर्ता पठाइदियो । लामापछि प्रहरीको नजर अर्का समूहमाथि परेको छ, त्यसैको परिणाम थप समूहको नाइकेलाई पक्राउ गरी कानुनी दायरामा ल्याएर व्यापारी र आम उपत्यकाबासीलाई गुन्डाराजबाट मुक्ति दिलाउने योजना प्रहरीले बनाइरहेको छ । यही अभियानका क्रममा चार बर्ष अघि न्यूरोडमा ब्यापारीको हत्या गरी फरार रहेको अर्काे समुहका नाइकेलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । ब्यापारी अञ्जनीकुमार चाचनलाई २०६७ सालमा गोली हानी हत्या गरेर फरार रहेका सुनिल महर्जनलाई एसएसपी कार्की नेतृत्वकै अपराध महाशाखाले पक्राउ गरेको छ । एकपछि अर्काे गुण्डागर्दीको नाइके पक्राउ गर्ने अभियान गुण्डामुक्त क्षेत्रमा परिणत गरेपछि मात्रै रोक्ने प्रहरीको यो अभियान यतिबेला एकपछि अर्काे सफलताको सिढी चढिरहेको छ । ‘६ महिनाभित्र उपत्यकालगायत आसपासका क्षेत्रमा चलाइएको गुन्डाराजको जालो तोडेरै छाडिन्छ, यो अभियान कसैको दबाबमा रोकिन्न,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी कार्कीले आफ्नो योजना सुनाए ।
उपत्यका प्रहरीले यतिबेलासम्म राजधानीलगायत आसपासका जिल्लामा गुन्डागर्दी चलाउने समूहको पहिचान गरिसकेको छ । काठमाडौं परिसरमा यसअघि नै नेतृत्व गरिसकेका एसएसपी कार्कीलाई अब गुन्डा समूहको पहिचानका लागि थप समय खर्चिरहन पर्दैन । उनी गुन्डा समूह चलाउने नाइके र त्यसमा आबद्ध सदस्यको पहिचानपछि पक्राउका लागि प्रहरी परिचालन गरिसकेका छन् । गुण्डागर्दी नियन्त्रणका लागि ‘सम्झाउने, बुझाउने, सच्चिन मौका दिने, नसच्चिएर आइलागे जुनसुकै हदसम्मको जवाफ दिने रणनीति अबलम्बन गरेको देखिन्छ ।
उपत्यकामा ठूला व्यापारीदेखि सर्वसाधारण नागरिकसम्म पहुँच पु¥याइसकेको प्रहरीले पछिल्लो समय गुन्डालाई सहयोग गर्ने बिचौलिया समूहको समेत पहिचान गरिसकेको छ । राजनीतिक दबाबविरुद्ध नडग्ने अडानसँगै अब प्रहरीले गुन्डालाई सहयोग गर्ने बिचौलियामाथि पनि निगरानी निकै बढाएको छ ।
‘राजनीतिक दबाबभन्दा पनि डरलाग्दो बिचौलियाको समूह छ, जसको राजनीतिक नेतृत्व, नागरिक अगुवा र प्रहरी वरिष्ठ अधिकृतसँग पनि रामो सम्बन्ध छ, तिनीहरू नै व्यापारीको सूचना दिएर फिरौतीका लागि गुन्डालाई सहयोग गरिरहका छन्, गुन्डाभन्दा पनि यो समूह निकै खतरनाक छ,’ गुन्डागर्दीविरुद्धको अभियानमा लागेका अपराध महाशाखाका एक अधिकृत भन्छन् ।
ती अधिकृतका अनुसार उपत्यकालगायत आसपासका क्षेत्रमा गुन्डाराज चलाउने समूहसँग बिचौलियाको समेत पहिचान भइसकेको छ । प्रहरीले पछिल्लो समयमा प्रहरी वरिष्ठ अधिकारीसँग पनि रामो सम्बन्ध भएका बिचौलियामाथि निगरानी बढाएको उनको भनाइ छ ।
निगरानीमा वीरेन्द्रलाल श्रेष्ठ, महेश सिंह, प्रशान्त शर्मालगायत एक दर्जनको सूची तयार पारिएको ती अधिकृतले बताए । रमेश बाहुनको नामले परिचित रामेछापका सुजन पौडेलको पक्राउपछि चरी प्रकरण हुँदै काभ्रेली समूहका दावा लामा र ब्यापारी हत्याका महर्जनसम्म आइपुग्दा उपत्यकामा मौलाएको गुन्डागर्दीको जालो तोड्न आवश्यक सूचना संकलनमा निकै हदसम्म प्रहरी सफल भएको छ ।
उपत्यकामा गुण्डागर्दी गर्दै आएका भनेर चिनिएका काजी शेर्पा, दीपक मनाङे, चक्रे मिलन, कुमार घैंटेमाथि पनि प्रहरीले निगरानी बढाएको छ । कुनै व्यापारीलाई धम्की दिएर रकम उठाउन गएकै बेला पक्राउ गर्ने गरी प्रहरीले आङ्खनो जालो बिछ्याएर राखेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् ।
प्रहरीका अनुसार गुन्डाराज चलाउने अहिले काभ्रेली समूहको नाममा गणेश लामा, बलराम सापकोटा र दावा लामाको एउटा समूह छ । मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्यसमेत रहेका गणेशसँगै एमालेनिकट रहेका सापकोटा र कांग्रेसनिकट विष्णु र दावा लामा मिलेर यो समूहलाई सञ्चालन गरिरहेका छन् । यो समूह काठमाडौंदेखि ल्हासासम्मलाई केन्द्र बनाएर हुने व्यापारीसँग हप्ता, महिनावारी असुलीसँगै ठेक्कापट्टा र टेन्डरमा समेत संलग्न छ ।
प्रहरीको सूचनाअनुसार अर्का गुन्डा नाइके कुमार घैंटे समूह काठमाडौं वरपर व्यापार व्यवसायमाथि आँखा लगाइरहेको छ । नुवाकोटे कांग्रेस नेताको साथ पाएर सामाखुसीतिर हप्ता असुली पनि गरिरहेको छ, कुमार घैंटे समूह । चरीको नामले चिनिएको समुह भने यतिखेर उनको मृत्युपछि केही गर्न सक्ने अवस्थामा पुगेको प्रहरीको ठम्याइ छ । रमेश बाहुन र चरीको दुवै समूह अहिले केही गर्न सक्ने अवस्थामा नभएको निष्कर्षका साथ प्रहरीको ध्यान अन्य समूहतिर केन्द्रित भएको हो । यस्तै, सगुन श्रेष्ठको समूह पनि व्यापारी धम्क्याएर फिरौती असुलीमा लागेको सूचना प्रहरीसम्म पुगेको छ ।
राजधानीमा गुन्डाराज चलाउनेमध्ये पछिल्लो समयमा दीपक मनाङे भने चुपचाप आङ्खनै व्यवसाय गरेर बसिरहेको प्रहरीको भनाइ छ । चक्रे मिलनदेखि अन्य सबै समूह केही न केही गरी नै रहेको सूचनाका आधारमा पक्राउका लागि प्रहरी परिचालित भएको छ ।
‘गुन्डाराज चलाउन विभिन्न समीकरण भइरहेको छ, एक अर्कामा थ्रेट पनि छ, एक आपसमै भिड्न लागेका छन्, त्यस्तो घटना हुन नदिएर हामी कानुनको दायरामा ल्याई उपत्यकालाई गुन्डामुक्त बनाएरै छाड्छौं,’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी कार्की भन्छन् ।
प्रहरीले गुन्डाविरुद्धको अभियान चलाउने क्रममा पीडित व्यापारीको सूचीसमेत तयार पारेको छ । अहिलेसम्म सैयौं व्यापारी गुन्डाको धम्कीकै कारण व्यापार छाडेर विदेश पलायन भएको सूचना पनि पाएको छ । व्यापारीको पीडा र सर्वसाधरणमा छाएको आतंक कम गर्नकै लागि ६ महिनाभित्र गुन्डाराज सकाएरै छाड्ने अभियान बनेको प्रहरीको भनाइ छ ।
(लेखक राजधानी दैनिकका समाचार सम्पादक हुन् ।)
- See more dainiknepal 

Post a Comment

0 Comments