Subscribe Us

लोकमान नेताको विरासतमा,
कर्मचारी जति हिरासतमा

काठमाडौं । सरकारी कर्मचारीको टाउको दुखाइको कारण बनेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग । लोकमासिंह कार्की प्रमुख भएर आयोगमा आएपछि कर्मचारीहरुका फाइल, उनका काम र गरेका भ्रष्टाचारमात्र होइन, सम्पत्तिका स्रोतहरुमा पनि अख्तियारले छापा हान्दै पक्राउ गरी मुद्दा चलाउन थालेपछि अहिले कर्मचारीको भागाभाग भएको छ । कसैले पनि सम्पत्ति आफ्नो नाममा सिधै राख्ने वा घुस माग्ने साहस पनि गरिरहेका छैनन् । सेवाग्राहीले बुझेर घुस दिएपनि त्यो क्याँसमा हुँदैन कि चेकमा हुन्छ, की बाहिर कतै ।
अहिले आतंक नै मच्चिएको कर्मचारी तन्त्रलाई न राजनीतिक दलले संरक्षण गर्न सकेको छ न कर्मचारी संगठनहरुले नै संरक्षण गर्न सकेका छन् । प्रमाणका आधारमा धमाधम अख्तियारले मुद्दा नै चलाएपनि कसैको केही चलेको छैन । बरु, कर्मचारीका तल्लादेखि उपल्ला तहसम्मका व्यक्तिहरुको सात्तो चाँही उडाएको छ । यसरी सात्तो खानेगरी काम गरिरहेका लोकमासिंह कार्कीको कामको कतै प्रशंशा भएपनि कर्मचारीवृत्तमा भने आलोचना सुरु भएको छ । अव यसलाई राजनीतिक मुद्दा नै बनाएर लोकमानको विरोधमा संघ संगठनहरु उत्रिने तयारी गरिरहेका छन् ।

 एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आशिर्वादमा अख्तियार प्रमुख बनेका लोकमानले एमाओवादी निकट कर्मचारीको मुद्दा नगर्ने र एमाले कांग्रेस समर्थक कर्मचारीलाई धमाधम पक्राउ गरी झुठा मुद्दासम्म लगाउने गरेको चर्चा सवैतिर भएको छ । ‘नेताको छायाँमा बसेर राजनीति प्रतिशोधजस्तो लोकमानले काम गरिरहेका छन्, यसको विरोधमात्र होइन अव लोकमानको नियतको पनि कुरा हुन्छ’, एक उपसचिवले भने,‘लोकमान साधु अरुचाँही भ्रष्टाचारी हुन्छ ? लोकमानले आफु कर्मचारी हुँदा अकुत सम्पत्ति कमाए, उनलाई पैसा कमाउने दुलो सवै थाहा छ । अनि त्यहाँ छापा हान्ने र मोलमोलाई गर्ने काममा पनि उनी माहिर भइसकेका छन् ।’
हुन त लामो समयसम्म मुख्यसचिवको जिम्मेवारी सम्हालेका लोकमान लोकतान्त्रिक आन्दोलनताका पूर्वराजा ज्ञानेन्द्रको पक्षपोषणमा लागेका तानाशाही राज्ययन्त्रका समर्थक पनि थिए । उनले लोकतान्त्रिक आन्दोलनको विरोधमा न कर्मचारीहरुलाई सडकमा जान भने । आफु कमजोर भएपछि पछि गिरीजाप्रसाद कोइराला र प्रचण्डलाई आफ्नो घरमा भेटाएर राजनीतिक सम्बन्ध बनाएर अहिले अख्तियार प्रमुख भएका उनको मिडियासँग पनि राम्रो सम्बन्ध स्थापित भएको थिए । उनको सम्बन्ध कान्तिपुरसँग विग्रियो, त्यसपछि विराटनगरमा पत्रकारसँग पनि नराम्रो सम्बन्ध बनाएका उनी अहिले मिडियालाई हातमा लिएर भ्रष्टाचारका नाममा धेरैको जागिर खान लम्किएका छन् । सरकारी कर्मचारीहरुलाई मात्र भ्रष्टाचारको अभियोगमा थुनामा राख्ने, कारवाहीको सिफारिस गर्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की आलोचना राजनीतिक वृत्तमा मात्रै होइन, कर्मचारी प्रशासनयन्त्रमा चुलिएको छ ।
राजनीतिक दलहरुको विरासतमा बसेर कर्मचारीलाई मात्र भ्रष्टाचारको अभियोगमा जेलनेल भोगाउने काममा लागेका लोकमानको यतिवेला कर्मचारीयन्त्रमा विरोध हुन थालेको छ । प्लानिङका आधारमा जबरजस्ती फँसाएर अख्तियारको नाममा लोकमान हिरो हुने र अन्य निकायका कर्मचारीलाई सताउने काम गरेको भन्दै अव लोकमानको पोल खोल्नका लाग कर्मचारी युनियन लाग्ने भएका छन् । ‘सवैभन्दा बढि भ्रष्टाचार र घुसको मोल मोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हुने गरेको छ । कर्मचारी नियुक्ति, काम गरिदिने सिफारिस अव नेताको विरासतमा होइन, लोकमानको हिरासतमा पर्ने डरले हुने गरेको छ ।’, स्रोतले भन्यो,‘भ्रष्टाचारको रकम, भनसुनका कामजति पनि लोकमानको आदेशमा मात्र हुने गरेको छ ।’
लोकमानले आफ्नो ६ वर्षको कार्यकालको २ वर्ष विताएका छन् । यो दुई वर्षमा भ्रष्टाचारका हरेक विषयमा माथि छानविन गरी कारवाहीको प्रकृया पनि अगाडी बढाएका छन् । तर, भ्रष्टाचारको मुल कडीका रुपमा रहेका राजनीतिक दलका नेताहरुसम्म उनको हात पुगेपनि गर्धनमा पुग्न नसक्नुको कारण खोजी हुन थालेको छ । स्रोतले भन्यो,‘लोकमानले किन नेताहरुको भ्रष्टाचारको कुरा गरिरहेका छैनन्, प्लानका आधारमा सवैलाई पक्राउ गरी कारवाही चलाइरहेका उनले नेताहरुलाई छुन नसक्नुको कारण के हो ?’कतिपय कर्मचारीहरुले लोकमानको कामको प्रशंशा भन्दा पनि आलोचना गर्नुपर्ने बताएका छन् । राजनीतिक रुपमा भएका भ्रष्टाचारमा हात नहाल्ने लोकमानको नियत स्पष्ट बनाउन पनि उनीहरुले माग गरेका छन् ।

Post a Comment

0 Comments