Subscribe Us

पुँजीसँगै हुर्किरहेको छ, यौनि कोषधारी नवइन्द्रहरुको समाज

''देउताका राजा इन्द्रले एक ऋषिपत्नीलाई कपटी पारामा सम्भोग (सेक्स) गरेका कारणले नै उनले श्रापको भागीदार बन्नुप-यो । ऋषिको श्रापका कारण नै उनका शरिरभरी योनीहरुको कोष बन्यो र इन्द्रको पहिचान ‘योनीकोषी’ भयो ।''
विनोद ढकाल 
ति महिलाले फर्केर हेरिन् भने बुझ्नु तिनी सेक्स चहान्छिन्, मैले होइन ।
–अमेरिकन अभिनेता स्टिभ मार्टिन
पहिलो विश्व सेक्सप्रति निक्कै उदार छ । अहिलेपनि उदार छ र अघिल्लो शताव्दिमा पनि उत्तिकै उदार थियो । तर, २१ औं शताव्दिको २ दशक नजिक पुग्दा पनि तेस्रो विश्व सेक्समा पारंगत त भइसकेको छ तर अझै गोप्यताकै कुरामा संकिर्ण भएर बाँच्ने कोशिशमा लागेको छ । मुस्लिम बाहुल्यता भएका मुलुकहरुमा जनसंख्याको उच्च बृद्धिदर परिणामका रुपमा देखिएको तथ्य हो र उनीहरुको सेक्सप्रतिको कडा कानुन, त्यसवापत हुने कारवाही उदाहरण हुन सक्छन् । भारतीय जनसंख्या, चीनको जनसंख्या बृद्धिदर र त्यहाँ हुने घटनाक्रमहरु र समाचारहरु अर्का प्रमाण हुन् । एकजना चिनियाँ मोडलले सायद एक वर्षअघि भनेकी थिइन्– एप्पल कम्पनीको ‘आइफोन फोर’का लागि उनी आफ्नो कुमारित्व भंग गर्न सक्छिन् । अनि, भारतीय मोडल पुन पाण्डेहरुका ट्वीटे तस्विरहरु आधुनिक समाजका लागि काफी उदाहरण हुनसक्छन् । दिनदिनै बन्न थालेका निलो चलचित्र र इन्टरनेटमा देखिन थालेका भारतीय, नेपाली, चीनियाँ, जापानिज, इन्डोनेशियन, मेलिसीयन ब्लु फिल्महरुको फस्टाउँदो उद्योग, खुला विश्वसामु फरक पहिचानसँग उत्रिरहेका छन् ।
पूर्वीय संस्कृति सेक्सप्रति करोडौं वर्षदेखि उदार हो । वास्तविकता के हो भने मानव सभ्यताको विकासको कडी नै सेक्स हो । यसको सही र गलत तरिकाको व्याख्या हरकहिँबाट हुन्छ, भइरहेको छ । प्राकृतिक कुरा एउटा भयो र अप्राकृतिक कामहरु अर्कोेतिरबाट बढिरहनु अस्वभाविक ढंगको विकासक्रम रह्यो । केही चर्चा र परिचर्चा अनिवार्य छ ।  
कामसुत्रमा उल्लेख छ– देउताका राजा इन्द्रले एक ऋषिपत्नीलाई कपटी पारामा सम्भोग (सेक्स) गरेका कारणले नै उनले श्रापको भागीदार बन्नुप¥यो । ऋषिको श्रापका कारण नै उनका शरिरभरी योनीहरुको कोष बन्यो र इन्द्रको पहिचान ‘योनीकोषी’ भयो । सम्भोगका कलाहरुको ग्रन्थका रुपमा रहेको कामसुत्रले यी बाहेक अनेक ऐतिहाँसिक र पौराणिक ‘सेक्सुअल एक्टिभीटि’का बारेमा उल्लेख गरेको छ । त्यो कथालाई आधुनिक दुनियाँ र त्यसमा अल्पविकसित नेपाली समाजमा विश्लेषण गरेर यो आलेख तयार भएको छ । 
खासगरी आलेखमा संभ्रान्त परिवारभित्रको कथालाई समेट्ने कोशिश गरिएको छ र विश्लेषण पनि यीनै विषयमाथि तथ्यहरुलाई अगाडी सारेर गर्ने प्रयत्न गरिएको छ । सिरानीमा महाभारतको गाथा, पौराणिक कालका घटनाहरुको किताब राखेर दैनिक पुजा गर्नेहरु सामाजिक परिवेश र सहरमा छिर्दा हाकाहाकी सेक्सुअल कुरा आयो भने इमान्दार बन्ने प्रयत्नमा उत्रिन्छन् । तर, रात्रीबजारको फाइदामा रमाउने र यौनसदाचारीको भुमिकामा देखिनेहरु यौनिक कृयाकलापप्रति कति आशक्त हुन्छन् भन्ने कुराको खुला प्रमाण निक्कै छन् । यी खुला छन् तैपनि गोप्य छन् । तर, कानेखुसी गर्दै हर व्यक्तिका चरित्रका विषयमा हर व्यक्तिको कानमा कुनै न कुनै हिसावले खबर पुगिसकेको हुन्छ । तरपनि यी गोप्यजस्तै नै छन् । 
ग्रन्थ, इतिहाँस र वर्तमान घटनाक्रमले सेक्सलाई अति सरल रुपमा चित्रित गरेको छ । खासगरी घरानीया र राजकाजको जिम्मेबारी लिएको ठूलो पर्दाले छेकेको दरबारभित्र इन्द्रदेखि पारससम्मका कर्तुतहरु पढ्न पाइएको छ । सेक्स आवश्यक चिजमात्र होइन, नरसंहारको कारण पनि बनेको रहेछ । 
दरबारको परम्परा हो, अक्सर सुरा सुन्दरी र नृत्यंगनाहरुको नाचमा राजकाज चलाउनेहरु मनोरञ्जनमा डुव्नु । शाही जीन्दगीको रौनक नै साँझ ढल्केपछि र झिसमिसे सुरु नहुँदै चलिरहन्छ । काठमान्डुका हरेक ठाउँहरु शाही जीन्दगी बाँच्ने प्रयत्नमा उडिरहेको हुन्छ, अक्सर दैनिक जसो । यहाँ जिन्दगीका उत्सव एकातिर र सेक्सका उपभोग असंयमित पाराले खरिदविक्रीका आधारमा पनि हुन थालेका छन् । 
बसन्ती उपन्यासमा उल्लेखगरेअनुसार दरबारीया तत्वहरु सेक्सप्रति लालयीत हुने कुरालाई सत्य मान्ने हो भने बहादुर शाहलाई थुनामा राखेर गगन सिंह नामको सेनापतिसँगको सहवासको कल्पना गर्ने राज्यलक्ष्मीको उग्रव्यक्तिवादी सोचका कारण जंगबहादुर राणाहरुको उदय भयो । त्यहि उदयसँगैको नेपाल आधुनिक गणतन्त्रसम्म आइपुग्दा अकल्पनीय सेक्सबजारको निलो घेरामा अवैधानिक रुपमा रातो बजार सञ्चालनमा लागिरहेको छ, ओपन सेक्रेट उच्च घरानीया रासलीलाको नाममा । 
पुँजीपति प्रवित्ति नै हो, रासलिला । पौराणिक कथाका पुँजीपति महाराजहरु अप्सराहरुको अंगप्रत्यंगसँग रमाइलो गर्दथे । सयौं अप्सराहरुसँगको रासलिलाका कारण उनीहरु कहिले समस्यामा फँस्दथे । यतिसम्मकी उनीहरुले ऋषि र दैत्य पत्निहरुसम्मलाई छल कपटीले करणी गरेका कथाहरु उल्लेख छन् । सतीदेवीको सुन्दरतामा अन्तर्य भएर लिप्त भएका महादेवसम्मले कपटी विवाह गरेर प्रेम र सेक्सको अनुभव उतार्ने प्रयत्न गरे । त्यसैले त भनिन्छ, जहाँ सेक्सविनाको प्रेम हुन्छ त्यो प्रगाढ र गहिरो हुँदैन । पौराणिक कालदेखिको यो प्रचलन कलियुग वा आधुनिक युग मानिने अहिलेको पहिलोदेखि तेस्रो विश्वसम्म पनि यो नियतमा सुधार हुन सकेको छैन । खासगरी पूर्वअमेरिकी राष्ट्रपति विल क्लिन्टनको मोनिका प्रेम होस् वा भ्लादिमर पुटिनको सेक्स स्क्यान्डल । कर्नेल मोहम्मर गद्दाफीको युक्रेनी युवतीहरुसँगका रासलिलामय जीवनको कहानी होस् वा इराकका पूर्व राष्ट्रपति सद्दाम हुसैनका दरबारीया कहानी । र, केटिप्रतिको आशक्तिका कयन कथाहरु नेपालका पूर्वयुवराज पारस शाहकै पनि सुनि आएको र पढिआएको कथाहरु थिए । 
कतार, युएइ, बहराइन, साउदी अरबमा शेख परिवारका कथाहरु पनि नसुनिएका होइनन् । पुँजीपति वर्गको सेक्स स्क्यान्डल र रवाफभित्र झुमेको छ विश्लेषण, विवेचनासहितको फरक विश्व । यसको रंग नेपालका नवधनाड्य, आधुनिक शैलीमा बाँचेको बजारभित्रका दलालपुँजीपतिहरु र पैसाको थाकमाथि उन्माद व्यक्तिहरुमा पनि चढेको पाइन्छ । र त विश्लेषकहरु भन्छन्, सम्पत्तिको चाङमा उभिएको मानव अप्राकृतिक कुकृत्यका लागि फरक जीवन बाँच्ने ढाँचाको खोजी गर्छ । आजको विश्व त्यतातिरै लम्किएको छ, रखेल, मनोरञ्जनयुवती राख्ने, नगरशोभिनीको दैलो धाउने र जिगोलो पाल्ने ध्याउन्नमा पनि । नेपाली उच्च घरानीया समाजपनि त्यतैतिर लम्किरहेको छ । त्यसैले आधुनिक समाजमा पुँजीसँगै हुर्किरहेको छ, यौनि कोषधारी नवइन्द्रहरुसँगै, नवनारीहरुको फरक समाज पनि । 

Post a Comment

0 Comments