Subscribe Us

टीके प्रथाको अन्त्य हुनु पर्दछ
उर्मिला थपलिया, महामन्त्री पदकी उम्मेदवार,

‘राष्ट्रिय एकता, समाजिक सद्भाव, र संघियतासहितको लोकतान्त्रिक संविधान, वैज्ञानिक र रोजगारमुलक शिक्षाका निम्ति नेविसंघको ११ औं राष्ट्रिय महाधिवेशन’ भन्ने  मुलनाराका साथ नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिको ११ औं राष्ट्रिय महाधिवेशनको प्रचार प्रसार तिव्र पारिए पनि महाधिवेशन हुनेमा अझै शंका छ । महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएकी महिला नेतृ उर्मिला थपलिया महाधिवेशन हुनेमा यतिबेला बिश्वस्त हुनुहुन्छ । आफूले विभिन्न जिल्लाको भ्रमण गरिसकेको र ठाउँ–ठाउँबाट सहानुभूति र कार्यकर्ता तथा नेताहरुले नै आफूलाई समर्थन गर्ने प्रतिवद्धता समेत जनाइसकेको हुँदा आप्mनो जित सुनिश्चित रहेको थपलिया बताउनुहुन्छ । यिनै सन्दर्भमा उहाँसँग गरिएको कुराकानीको सम्पादित अंशः

उर्मिला थपलिया, महामन्त्री पदकी उम्मेदवार, नेविसंघ
० तपाईको उम्मेदवारी केका लागि ?
– विद्यार्थी हकहित, महिलाहरुको आवाजलाई बुलन्द पार्न तथा शैक्षिक मुद्दाहरुको उठानका लागि मैले महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेको हुँ । जनआन्दोलनमा लाग्दा मेरो टाउको नै फुटेको थियो भने जसको असर आजसम्म पनि भोग्दै छु । तर यति भन्दैमा मैले नेतृत्व पाउनुपर्छ भन्ने चाहिं होइन । नेविसंघमा लागेर मैले निभाएको भूमिका, मेरो नेतृत्वदायी भूमिका तथा साथीभाई, दिदीबहिनी तथा कार्यकर्ताहरुको आग्रह अनुसार नै मैले उम्मेदवारी दिने घोषणा गरेको हुँ ।
० धेरैको सुझाब तपाई महामन्त्रीमा उठ्न पर्छ नै भन्ने हो त ?
– धेरैले अध्यक्षमै उठ्नुपर्छ भनेर सुझाव दिए । तर म आफूलाई महामन्त्रीको उम्मेदवारमा सजिलो महसुस गर्छु ।
० सभासद्को उम्मेदवार भइसक्नुभएको होइन र ?
– हो, जिल्लाले समानुपातिक उम्मेदवार त बनायो, तर केन्द्रले सभासद् बनाएन ।
० फेरि किन विद्यार्थी राजनीतिमै फर्कनु भयो त ?
– विद्यार्थी राजनीति गरें, त्यसको नेतृत्वमा पुग्न खोज्नु स्वभाविक हो । निर्वाचित पदाधिकारी बनेर काम गर्ने इच्छा छ । त्यो इच्छा यो महाधिवेशनबाट प्राप्त हुनेछ भन्ने आशा राखेकी छु ।
० महाधिवेशन चाहिँ हुन्छ ?
– हुने भनेर मिति तोकिएर पटक–पटक रोकिएको अवस्था हो । यसपटक पनि हुँदैन कि भनेर शंका गर्नु स्वाभाविक हो । तर यसपटक महाधिवेशन हुन्छ भन्ने कुरामा म आशावादी छु ।
० के आधारले भन्दै हुनुहुन्छ यी कुरा ?
– अध्यक्ष रञ्जीत कर्ण सभासद् भइसकेका छन् । उनी यो पद जसरी भए पनि हस्तान्तरण गर्न चाहन्छन् । जिल्ला र क्याम्पसहरुमा अधिवेशन भइरहेको छ । त्यसकारण पनि अधिवेशन हुन्छ भन्ने लागेको छ ।
० पद हस्तान्तरण गर्न नेविसंघमा महाधिवेशन नै हुनुपर्छ र ?
– अधिवेशन नभई पद हस्तान्तरण भएको विगत नेविसंघसँग छ । यद्यपि यो इतिहास लेख्ने अवसर हो । यो अवसरलाई ऐतिहासिक बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । अखिल र अखिल क्रान्तिकारी दुवैले नेतृत्व छनोट गरिसके । लोकतान्त्रिक पार्टी कांग्रेसले पनि टीके प्रथाको अन्त्य गरी खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने वातावरण बनाउनुपर्छ ।
० नेविसंघको अधिवेशन नगर्दा के हुन्छ कांग्रेसलाई ?
– नेविसंघ भनेको कांग्रेसको नेता उत्पादन गर्ने नर्सरी हो । नर्सरीमा घामपानी र मलजलको सन्तुलन मिलायो भने मात्र बिरुवा हुर्कन्छ । कांग्रेसले भातृसंस्थाको अधिवेशन नगरेकै कारण नेतृत्व जाममा परेको छ ।
० नेविसंघलाई लोकतान्त्रिक पार्टीको भातृसंस्था भन्न लाज लाग्नुपर्ने होइन ?
– बेइज्जतै भइसक्यो नेविसंघको । पार्टी लोकतान्त्रिक भन्ने अलोकतान्त्रिक चरित्र देखाउनाले यो लाजमर्दो स्थिति सिर्जना भएको हो ।
० कसले गर्दा अधिवेशन नभएको ?
– कुनै एक व्यक्तिलाई दोष दिने ठाउँ छैन । पार्टीको शीर्ष नेतृत्व नै यसको जिम्मेवार हो । पार्टीमा जहिलेसम्म यो साठी र चालीसको भागबन्डा लगाइन्छ, तबसम्म यो समस्या रहिरहन्छ ।
० जसको हातमा कमान्ड छ, उसले जिम्मा लिनुपर्दैन ?
– पार्टीभित्र दुई खेमा छ, यो खेमाले जहिले पनि नेतृत्वमा मेरो मान्छे आउनुपर्छ भन्छ । अब यसरी पार्टी चल्दैन, नेतालाई गाली गरेर समस्या समाधान हुँदैन । त्यसैले शिर्ष नेतृत्वले यसको निकास दिन ढिला गर्नुहुँदैन ।
० तपाईं चाहिँ कुन गुटको ?
– यो प्रश्न नै मेरा लागि दुर्भाग्य हो । पार्टीभित्र यस्तो प्रश्न गर्ने वातावरण बन्न दिनु हुँदैन । म व्यक्ति चिन्दिन । म कांग्रेसको अनुशासित कार्यकर्ता हुँ ।
० कति भयो राजनीतिमा संलग्न भएको ?
– स्कुलको विद्यार्थी हुँदादेखि नै नेविसंघमा छु । ०५२ सालदेखि नै धादिङको नीलकण्ठ स्कुलबाट राजनीति प्रारम्भ गरे । त्यसबेला म ६ कक्षामा पढ्थे ।
० राजनीतिबाहेक अरु के गर्नुहुन्छ ?
– कांग्रेसको शुभेच्छुक संस्था लेखक संघको केन्द्रीय सदस्य पनि हुँ । मेरो चारवटा पुस्तक सार्वजनिक भइसकेका छन् भने दुईवटा निस्कने क्रममा छन् । मेरो पुस्तक हाम्रो पुस्ताकालय भन्ने अभियान सञ्चालन गरेका छौ । गाउँगाउँमा पुस्तक पुगोस् भन्ने उद्देश्यले हामीले यो अभियान सञ्चालन गरेका हौं । मैले लेखेका चारवटा गित पनि बजारमा आइसकेका छन् । राजनीति सँगसँगै मैले आफूलाई रचनात्मक कामतर्फ पनि ढालेको छु ।

Post a Comment

0 Comments