Subscribe Us

बैठकमा बाबुरामको बकबक


काठमाडौं । राज्यको शासकीय स्वरुप, संघिय संरचना र निर्वाचन प्रणालीका विषयमा विवाद भएपछि राजनीतिक संवाद तथा विवाद समाधान समितिलाई सहमतिका लागि संविधानसभाले आज (मंगलबार)सम्मको अन्तिम समय थपेको थियो । तर, आजसम्म पनि समितिले विवादीत विषयमा सहमति बनाउन सकेन ।

 समय खर्च गरेर प्रकृयामा नगई सहमतिको नाममा म्याद थपेपनि एमाओवादीबाट राजनीतिक संवाद तथा सहमति समितिको अध्यक्ष बनाइएका डा. बाबुराम भट्टराईले डाकेको वैठकमा पुष्पकमल दाहाल प्रचण्डलगायतका व्यक्ति नै उपस्थित हुँदैनन् । 

प्रमुख दलका शिर्षस्थ नेताहरु नै उपस्थित हुन छाडेपछि बाबुरामको टाउको दुखेको थियो । उनले पटक–पटक पत्रकारहरुलाई गुहारेर नेताहरुको आलोचना पनि गरिरहेका छन् । तर, नेताहरुले उनको गुनासोलाई पनि त्यति महत्व नदिएपछि समितिको वैधानिकता सकिएको छ । खासगरी संविधान निर्माणका क्रममा विवादीत विषय सहमतिको जस कसले लिने भन्ने आन्तरिक स्वार्थका कारणले पनि समितिको काम चुस्त र प्रभावकारी बन्न सकेन 

। बाबुरामले बल गरेर आफु सहमति जुटाउन लागि परेको बताउँदै आएपनि उनको बलको कदर प्रचण्ड, केपी ओली, सुशिल कोइराला, रामचन्द्र पौडेललगायतले नगरिँदिँदा उनी खिस्स परेका छन् । ‘अव वैठकमा नेताहरु नआएपछि के लाग्छ र ? गुनासो गर्नुको विकल्प पनि भएन नि । नेताहरुलाई तानेर ल्याउन नमिल्ने, अन्यत्र कार्यक्रमको बाहनामा संविधानको विवादीत विषयमा सहमति गर्नुपर्ने भन्ने महत्व नै दिएको पाइएन ।’त्यसो त अब विवादीत विषयमा सहमति हुनका लागि चमत्कार नै हुनुपर्ने भन्दै बाबुरामले दलहरु संविधान निर्माणका गम्भिर नभएको पनि आरोप लगाइसकेका छन् । तर, त्यसको आन्तर्य भने व्यक्तिगत र दलगत स्वार्थमा लुकेको छ ।
 
उच्चस्तरीय राजनीतिक संयन्त्र बने त्यसबाट नै विवाद समाधान गरेर नयाँ संविधान जारी गर्न आफ्नो भुमिका प्रभावकारी बनाउन लागि परेका प्रचण्डका अगाडी बाबुरामको केही सीप चलेको छैन । बाबुराम उक्त समिति नबनोस भन्ने चाहनामा छन् । र, विवाद समाधान आफैंले गर्न पाए हुन्थ्यो भन्ने मनसायमा पनि रहेका थिए । तर, बाबुरामको उक्त चाहनालाई प्रचण्डले नै धोती लगाइदिएपछि उनले वैठकमा नेताहरुको उपस्थिति नभएकोमा गुनासोमात्र गरेनन्, सहमति हुनै नसक्ने भनेर ठोकुवा गर्न थाले । 

‘प्रचण्ड नै आउँदैनन्, अनि बाबुरामलेमात्र बकबक गरेर के हुन्छ ?’, मधेसी मुलका एक नेताले भने,‘वैठक बोलायो, बस्यो, चिया खायो र फर्कियो । विवाद समाधान हुनुपर्ने विषयमा राजनीतिक दलहरुले चर्चा नै गरेका छैनन् । अन्य विषयमा मात्र चर्चा भइरहेको छ, त्यो त सवै सहमति भइसकेका विषय पनि हुन् ।’प्रधानमन्त्री सुशिल कोइराला अमेरिकामा रहेका कारणले यहाँ सहमति हुन नसकेको बताइएको छ । कोइराला आएपछि उच्चस्तरीय राजनीतिक समिति बनाएर त्यसको संयोजक प्रचण्डलाई तोकी त्यहिँ विवाद समाधानको विषय पनि पु¥याउने खेल भइरहेको स्रोतले जनायो ।

Post a Comment

0 Comments