Subscribe Us

अख्तियारको बल्छीमा ठूला माछा किन पर्दैनन् ?

  श्रीविलास दाहाल 


अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन राम्रो काम र राम्रो उद्देश्य राखेर गरिएको थियो । प्रथम आयुक्त सूर्यनाथ उपाध्याय निःस्वार्थी र विवेकी छन् भनेर सबैले प्रशंसा गरेका व्यक्ति थिए । तर, सारै छोटो चित्त भएका घमण्डी बाजेले छानिछानी नेपाली कांग्रेसका व्यक्तिवादी भ्रष्टाचारीलाई मात्र कारबाहीको दायरामा ल्याए । संस्थागत भ्रष्टाचार गर्ने एमालेका नेता कसैलाई छोएनन् । हुँदाहुँदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासम्मलाई अख्तियारमा ठिंग्याए । यो सबै अर्थात् कांग्रेसको तेजोवध गर्ने क्रममा दरबारिया र एमालेको ग्राण्ड डिजाइनमा गरेको गोटी चाल थियो ।
अख्तियारको हाकिमलाई आफैं अख्तियार दुरुपयोग गर्न लगाउने मतियार भने अहिले सर्वोच्चको न्यायाधीश नपाएर पत्रपत्रिकामा ‘पेपर टाइगर’ हुन खोज्ने कानुन व्यवसायी ‘वस्थी’ नै हुन् । त्यतिखेर उनी सूर्यनाथको कानुनी सल्लाहकार थिए । उनकै बानीव्यहोराले होनहार कानुनविद् युवा वकिल दिनेश अधिकारी अख्तियारबाट बाहिरिए । आज उनी सरकारका सचिव छन् र अवकाश पनि पाइसके । सूर्यनाथ उपाध्याय सरकारको बेदाग कर्मचारी भने थिएनन् । उनी जलस्रोत सचिव हुँदा महाकाली सिँचाइ आयोजनामा भएको एउटा भ्रष्टाचारको आरोप लागेकै हो । तर, चिप्ला बाहुनले त्यसलाई कसरी कताबाट के गरी मिलाए कसैले थाहा पाएन ।

 त्यतिखेर महाकाली सन्धिको आरोप प्रत्यारोपको समय थियो । त्यसैले ससाना कुरा त्यसै बिलाएर गए र सूर्यनाथ उपाध्यायले सचिव पदबाट ससम्मान अवकाश पाए । सूर्यनाथ उपाध्यायले गिरिजाकै नजिकका कसैको या गिरिजाबाबुकै कुनै कमजोरी र उनको स्वाभाविक सरलता र कमजोरीको फाइदा उठाएर अख्तियारको फुल हाकिम हुनपुगे । उनले जेजस्तो उधुम मच्चाए त्यसको वर्णन माथि भएकै छ । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कसैले सक्रिय बनाउने चासो लिएन । माओवादी द्वन्द्वको अवसान र अवतरणतिर देश लाग्यो ।

 संविधानसभाको चुनावको माहौल पनि आयो । संविधानसभाले राजाले गरेका कामको मूल्यांकन नै नगरी सजाय हो कि ? माफिया पुरस्कार हो ? राजालाई नारायणहिटीबाट भगायो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको आगमनको चर्चाले ठूलै विवाद ल्याएकै हो । मधेशी दल र एमालेको वैशाखी टेकेर केकति दक्षिणा, केकति आश्वासन, कस्तो विश्वास दिलाएर उनी आए । उनको वेगलाई कांग्रेसले रोक्न सकेन । पहिले पनि लोकमान सिंह जलस्रोत सचिव हुँदा कांग्रेसका जलस्रोतमन्त्री बलदेव मजगैयालाई मन्त्रालयबाट भगाएकै हुन् ।

 त्यतिखेर राजतन्त्र भएकाले उनी बलिया भए भन्ने चर्चा चल्यो । मजगैयाजस्तो होनहार व्यक्तित्वको तेजोवध भयो । यसपटक कार्कीले कांग्रेसी नेताहरुलाई के गोटी चाले बुझ्न सकिएन । आवरणको कोटा प्रणाली त एउटा हात्तीको देखाउने दाँत मात्र हो । खाने दाँत त अर्कै छ । खुवाउन र घुमाउन जान्ने लोकमानसिंह कार्कीले के खुवाएर कसरी घुमाए बुझिनसक्नु छ । झापामा दुई जना पहाडे सामन्त एक जना सिके प्रसाईं, जो प्रजातन्त्रवादी, विद्वान् बुद्धिजीवी, राजाले राष्ट्र बैंकको गभर्नर खान बोलाउँदा पनि नगएका, सादा जीवन, उच्चविचारका धनी थिए । 

अलिकति पनि स्वभावले ढोंगी, लोभी र पापीचाहिँ थिएनन् । अर्का सामन्त भूपालमान सिंह कार्की लोकमानका बाबु दरबारिया, सेनामा जागिरे अवकाश भएपछि दरबारको कृपामा राजसभा स्थायी समितिको सभापति । दुवैको टक्कर थियो । तर, सिके प्रसाईंले झापा छोडेनन्, भूपालमानसिंह कार्कीले भने विराटनगरमा भव्य भवन बनाए । कोइरालाहरुले भव्य भवन नबनाए पनि विराटनगरमा नाम, दाम, मान, सबै कमाए पावर पनि कजाए । रिजालहरुले पनि भवन त बनाए दाम पनि कमाए नाम भने कमाउन सकेनन् ।

 जनकपुरमा रुद्र गिरी र तुलसी गिरीको झगडाले काकताली परेर नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री भए नत्र पालो त रुद्र गिरीको थियो । लोकमानसिंह कार्कीले एक्लै अथवा पत्रकारसँगको अन्तर्वार्तामा भन्ने गर्दछन्, हामी बार्दलीबाट हेर्दा खुट्टामा चप्पल नभएकाहरु आज करोडपति भएका छन् । मलाई लाग्छ यो विराटनगरका कांग्रेसीहरुलाई भनेको होला । उनको विराटनगरको घरमा जाने अवसर मैले पाएको छु । यो अवसर उनका गेरु वस्त्रधारी दाजुले दिएका हुन् । कुन्नी त्यो घर विराटनगरमा ठगी खाने (बैंक, अस्पताल) भाँडो भएको छ कि थाहा छैन । महल भने भव्य छ ।

 मलाई डर के लाग्छ भने, लोकसेवा आयोग नै पास नगरी मुख्यसचिवसम्म भएको यिनको अन्तर्मनमा पूर्वका कोइराला, रिजाल र थापाहरुभन्दा माथि जाने अहंकार त पलाएको छैन ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अख्तियारीलाई स्वयं दुरुपयोग गर्ने धुनमा त यिनी छैनन् ? नेपालमा पैसा र पावर भए जे पनि गर्न सकिन्छ भन्ने दुई÷चार जनाको मोहभंग भएको छ । तर, लोकमानको चाला देख्दा यिनले ससाना माछा बल्छिमा पर्नेगरी जाल फाल्ने, ठूल्ठूला माछाचाहिँ पालेर राखेपछि आफ्नो राजनीतिक शक्तिका लागि उपयोगमा ल्याउने गर्दै त छैनन् ?

नत्र त प्रतिदिन दैनिक अखबारहरुमा सार्वजनिक रुपमै करोडौं भ्रष्टाचार गरेका, आपूmले पाएको अख्तियारीको दुरुपयोगका अनेकौं काण्ड छापिएर प्रकाशमा आएका हुन्छन् । तिनको अनुगमन र अनुसन्धान किन गरिन्न ? हुँदाहुँदा प्रधानमन्त्री स्वयंले मन्त्रिपरिषद्का सदस्यले समेत भ्रष्टाचार गरेमा र अख्तियारको दुरुपयोग गरेमा खुट्टा नकमाई कारबाही गर्नुभन्ने निर्देशन सार्वजनिक भयो । यो कुरा लोकमानसिंहले कसरी बुझेका छन् यो स्थिति आउनु उनका लागि ठूलो अपमान र अक्षमताको संकेत हो । लाजै नभएपछि के लाग्छ ?
अर्को विडम्बना त के छ भने, अख्तियारका हाकिमलाई भनेर तिम्रो समस्या हल गरिदिन्छु भन्ने समाचार आएको भोलिपल्ट अख्तियारका ठूला हाकिमका नाममा त्यही कार्यरत प्रहरीका जिम्मेवार अधिकृतले भ्रष्टाचारीसम्म मात्र पनि नभएर नेपालबाट हुण्डी गर्नेसँगसम्म असुली गरेका समाचारहरु प्रकाशमा आए । सबैले आशा र विश्वास गरेको संस्थाका यस्ता समाचार र व्यवहारले के सन्देश दिन्छन् ? लोकमानजीको ध्यान यता पुगेको छ ?अर्को मजाक काठमाडौं महानगरपालिकाको भ्रष्टाचारलाई लिएर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक जना काठमाडौं महानगरपालिकाका प्रमुख भएका अधिकृत त्यहाँ विज्ञका रुपमा क्रियाशील छन् । कुन–कुन फाँटमा के कस्ता भ्रष्टाचार हुन्छन् थाहा हुँदैन । के सडकका व्यापारीलाई तर्साएको हो ?त्यसो त लोकमानसिंह कार्की स्वयं आपूm लाजशरम पटक्कै नभएको व्यक्ति हुन् भन्ने कुरा एउटा उदाहरणले पनि प्रष्ट हुन्छ । विराटनगरबाट इटहरीतिर आउँदा दुहवीनिर बीच सडकमा एउटा बडेमानको शालिक रहेछ । कस्को हो यो रोडलाई नै डिष्टर्व गर्ने शालिक भनेको त भूपालमान सिंह कार्कीको अर्थात् लोकमान सिंह कार्कीको बुबाको उनले बनाइ दिएको शालिक रहेछ ।

 इरिटेट गराउने खालको, पछि माओवादी र मधेश आन्दोलनको शालिक तोडो अभियानमा त्यो शालिक पनि तोडियो क्यार ? लोकमान सिंह कार्कीजीलाई स्व. बाबुको कीर्ति राख्ने त्यत्रो इच्छा रहेछ, उनले त्यो सरकारले जनताका लागि बनाएको रोड मात्र देखे । हेर बुद्धि कति छोटो । पद र पैसा भएर मात्र सद्बुद्धि त नहुँदो रहेछ । यसै पनि विराटनगरमा राम्रो पार्क र पुस्तकालय छैन । एउटा राम्रो पार्क र पुस्तकालय र संग्रहालयको रुपमा बनाउन चाहेको भए उनले नसक्ने कुरै थिएन । तर, त्यतातिर बुद्धि गएन । सारा देश आफ्नो जागिर सम्झने सामन्ति संस्कार भएपछि के लाग्छ ?आर्थिक दैनीकबाट

Post a Comment

0 Comments