Subscribe Us

दुई अर्ब कसले माग्यो गृहमन्त्री ज्यु ?

काठमाडौं । न्याय नपाए गोरखा जानु, पैसा नपाए अनशन बस्नु ? वाह गजवको नयाँ तरिका सुरु भएछ । हत्यारालाई कारवाही गर्न माग गर्दै गोरखा फुजेलका नन्दप्रसाद अधिकारी अनशन बसेको ११ महिनामा मृत्युवरण गर्न पुगेपछि अनेक रहस्य खुल्न थालेको छ । व्यवस्थापिका संसदको एउटा समितिले नन्दप्रसाद निधनमा सरकारको कमजोरी देखिएपछि गृहमन्त्रीसँग जवाफ मागेको थियो । कार्यबाहक प्रधानमन्त्रीका रुपमा रहेका गृहमन्त्रीसँग नन्दप्रसाद मृत्युको कारण माग्दा यसमा २ अर्बको खेल भएको चर्चा सुरु भयो । 

सरकारले बारम्बार अनशन तोड्नका लागि आग्रह गरेपनि नन्दप्रसादले अनशन तोडेनन् । गंगामाया पनि अहिले अनशनमा छिन् । अधिकारकर्मीहरुले न्याय दिनका लागि आग्रह गरेपनि सरकारले ठाडो कान लगाएको छैन । बरु, गृहमन्त्री वामदेव गौतमले उक्त अनशन तोडाउनका लागि २ अर्ब रुपैंया मागेको अभियोग लगाए । तर, गृहमन्त्रीले कसले माग्यो त्यत्रो पैसा भन्ने विषयमा केही खुलाएनन् । ७ महिनादेखि बाबुआमाको अवस्था बुझ्न पनि नआएका नन्दप्रसादका छोरा नुरप्रसादले अमेरिकामा सेटल हुन र न्यायका लागि राज्यले कम्तिमा २ अर्ब रुपैंया दिनुपर्ने माग राखेपछि कुरा नमिलेको स्रोतले बतायो । 

‘अनशन तोडाउने राज्यको काम थियो तर छोराले नै ठूलो रकम मागेपछि अनशन तोडिएन । राज्यले पनि ध्यान नदिएको हो । बरु, वीर अस्पतालमा उपचार गराएरै भएपनि ज्यान बचाउने काममा लाग्नुपर्छ भन्ने सरकारको निर्णय भयो ।’एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीले नन्दप्रसाद हत्याका अभियुक्तलाई कारवाही गरे मुलुक नै ठप्प पार्ने एकातिर चेतावनी दिएका थिए, अर्कातिर नुरप्रसादले ठूलो रकम मागेपछि सरकार अप्ठेरोमा परेको गुनासो सुनाएर गौतम फर्किएका थिए ।
 
‘नुरप्रसादले बाबुआमाको चासो लिन छाडेका थिए, उनले सरकारसँग कस्तो वार्गेनिङ गरे थाहा छैन । तर, उनी अस्पतालसम्म आउन छाडेका थिए । अवस्था बुझ्नका लागि बोलाउँदा पनि वेवास्ता गरि हिँडिरहेका थिए ।’ नन्दप्रसाद न्यायका लागि लडिरहेका एक अधिकारकर्मीले भने,‘राज्यले पनि चासो दिएन । नुरप्रसादको डिमान्ड के थियो भन्दा पनि नन्दप्रसादको ज्यान जोगाउनतिर ध्यान दिनुपर्ने थियो र अभियुक्तहरुलाई कारवाही गर्नुपर्ने थियो ।’
 
प्रधानमन्त्री सुशिल कोइरालाको कमजोरीका कारण नन्दप्रसादको निधन भएको हो । कोइरालाले पनि यो मुद्दालाई गहनताका साथ लिनुभन्दा प्रचण्डलाई कसरी खुसी बनाउन सकिन्छ भनेर हिँडेका कारण हत्या अभियुक्तहरुले उन्मुक्ति पाए, कोही विदेश गएर लुके केहीको प्रमाणको कुरा गरेर यो मुद्दालाई ढिसमिस बनाउने कोशिश पनि भयो । अधिकारकर्मीहरुले न्यायका लागि लडिरहेपनि डलरको आरोप लागेपछि केही महिनादेखि उनीहरुको अवस्थाबारे कसैले पनि सोचेको थिए । नन्दप्रसाद अन्तिम स्टेजमा पुगेपछि अधिकारकर्मीहरुलाई अस्पताल कर्मचारी र डाक्टरहरुले फोन गरेर बोलाएका थिए ।

Post a Comment

0 Comments