Subscribe Us

एमालेभित्र अध्यक्षको भाँडभैलो ओली भनेका प्रचण्ड हुन् ?

काठमाडौं । राजनीतिमा कहिले वाह वाही र कहिले विरोध सहनु पर्दछ । यद्यपि पद्दती र नीतिको कुरा गर्नेले नै त्यसलाई मिचेपछि उसको विरोध स्वभाविक ढंगबाट हुन्छ । अहिले एमाले अध्यक्ष केपी ओलीको पार्टीभित्र तिव्र आलोचना भएको छ । मृगौला रोगले पीडित ओलीलाई सहानुभुतिका कारणले अध्यक्षमा पनि जिताइएको भन्ने एकथरीले पार्टीभित्र प्रचण्ड शैली हावी भएको अभियोग लगाउन थालेका छन् ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना गर्ने नेकपा एमालेका अध्यक्ष ओलीको कार्यशैली पनि प्रचण्डको जस्तै भएको छ । एमालेका पदाधिकारीहरु र नेताहरुले नै ओली प्रचण्डको कार्यशैलीतिर उन्मुख भएका कारणले पार्टी संकटमा पर्न थालेको बताउन थालेका छन् । नवौं महाधिवेशनपछि गुटबन्दि अन्त्य भएको घोषणा भएपनि एमालेभित्र आन्तरिक विवाद बढेको छ । २६ सभासद मनोनयनमा परेको बेला एमालेबाट सिफारिस ८ सभासद मनोनयन, २ मन्त्री हेरफेर र सचेतक नियुक्तलगायतका विषयमा अध्यक्ष ओली एक्लौटी र मनमौजी हिसावले चलेको भन्दै नेता माधवकुमार नेपाल समुहले विरोध गर्दै आएको छ ।
 
विवादबारे बहसका लागि १० असोजमा डाकिएको केन्द्रिय समितिमा नेपाल समुहले छलफल चलाउने तयारी गरेलगत्तै ओलीले उक्त वैठक दशैं पछि सार्ने तयारी गरेका छन् । ‘पार्टी विगार्नका लागि धेरै समय लाग्दैन, यहि पाराले चल्ने हो भने एमाले एमाओवादीको हैसियतमा पुग्नेछ, जे पनि हुनसक्छ ।’, स्रोतले भन्यो,‘प्रचण्डले पार्टी विगारेको हामीले देखेका छौं, अव ओली पनि त्यहि बाटोतिर लम्किन थालेका छन् । माधवकुमार नेपाल, योगेश भट्टराई, रामकुमारी झाँक्रीले खुलेरै ओलीको विरोध गर्न थालेका छन् । पार्टीलाई एकताबद्ध होइन विगार्ने काममा ओली लागेको उनीहरुको आरोप छ ।

 ‘मनलाग्दी हिसावमा जे पनि गर्न पाइने नीति र पद्दती भयो, यसले दुर्घटना हुन्छ ।’, स्रोतले भन्यो । सभासद मनोनयनका विषयमा सचिव भट्टराइले अध्यक्ष ओलीका नाममा लेखेको पत्रको कुनै उत्तर आएको छैन । त्यहि कुरा केन्द्रिय समितिमा उठाउने तयारीमा भइरहेका बेला वैठक पनि सार्ने भएपछि नेपाल समूह आक्रोशित भएको छ । ‘वैठकमा कुरा हुन्छ, पदाधीकारी, स्थायी समिति वा केन्द्रिय समितिको वैठक राखी गर्ने निर्णय एक्लौटी रुपमा गर्ने हो र ?’, स्रोतले भन्यो,‘एमालेभित्र योग्यता र क्षमता भएका नेताहरु, बलिदान गर्नेहरु अरु धेरै छन्, यहाँ विभेद गरिएको छ । यो पद्दतीको उपहास हो ।’
 
त्यसो त ओलीलाई खुलेरै ज्ञानेन्द्र र हिटलर बन्ने कोशिश गरेको भन्दै नेपाल स्वयम्ले पनि आरोप लगाएका छन् । ‘पार्टी त्यसरी चल्दैन, हिटलर बन्न खोजेको हो भने तिनीहरुकै जस्तो हविगत हुनेछ, ज्ञानेन्द्र बन्न खोजेको हो भने त्यस्तै अवस्थामा पु¥याइन्छ ।’, नेपालले भने,‘पार्टीमा नीति र नियम विधान छ कि छैन, मनलाग्दी गर्न पाइन्छ ?’
पछिल्लो पटक युवा संघ अध्यक्ष बस्नेतलाई उद्योगमन्त्रीमा नियुक्त गरेपछि विवाद झनै चुलिएको छ । चुनाव हारेका, केन्द्रिय सदस्यको चुनाव पनि हारेकालाई जबरजस्ती मन्त्री बनाउन कुनै वैठक नै नगर्ने परिपाटीले राजनीतिक दिशा नलिएको आरोप ओलीलाई लागेको छ ।

ओलीको बस्नेतलाई तथास्तु

थोरै समयमा नै एमालेभित्रको राजनीतिमा छलाङ मारेका महेश बस्नेतले ओलीको आशिर्वादमा मन्त्रीको पद नै पड्काई दिए । ओलीको भजन गाएरै एमालेभित्र राजनीतिमा टिकेका बस्नेतले ओलीबाट मन्त्रीको टिका पनि थापे । उद्योगमन्त्रीमा पठाइएका बाजुरेली कर्ण थापालाई रातारात हटाएर बस्नेतलाई नियुक्त गरिएपछि उनी विवादमा पनि तानिएका छन् ।

ओलीले समस्या र विवादको कारण बनेरै पनि बस्नेतलाई मर्नुअघि गुण लगाएका हुन् । स्वास्थ्यका हिसावले मृत्युसँग हरसमय लडिरहेका ओलीले युवा संघको अध्यक्षबाट राजनीतिक उचाई दिलाउनका लागि पनि बस्नेतलाई मन्त्रीमा नियुक्त गरेको भन्ने एमालेभित्र हल्ला छ । तर, राजनीतिमा लामो समय खर्च गर्ने अन्य युवालाई वाइपास गरेर बस्नेतलाई छिराउने कामको सर्वत्र विरोध भएको छ ।

गौतम जंगिए
पार्टीभित्र नेपाललाई कमजोर बनाउनका लागि ओली अहिले खनाललाई साथ लिएर अघि बढ्न लागिरहेका छन् । मन्त्री फेर्ने कुरामा पनि खनालसँगमात्र सल्लाह गरेका ओलीले उनलाई अध्यक्ष बनाउनका लागि क्याम्पेनमा लागेका उपाध्यक्ष वामदेव गौतमलाई बालै दिएनन् । मन्त्री नियुक्तिको विषयमा गौतम जंगिएका छन् । ‘गृहमन्त्री हुँदा ज्यान मार्नेसम्मको धम्की दिने त्यहि बस्नेतलाई गौतमको नेतृत्वमा गएको एमाले टोलीको क्याविनेटमा राखियो ।

 राज्यमन्त्री पनि होइन, एकै पटक फुल मन्त्री बनाएर सवैको अपमान गरियो ।’, स्रोतले भन्यो,‘गृहमन्त्रीलाई नसोधीकनै प्रधानमन्त्रीले नियुक्ति दिनु र दुई नेता बसेर मात्रै छलफल चलाएर निर्णय लिनु, अरुको अपमान गर्नु हो । के एमाले भनेको ओलीमात्रै हो ?’ उता, अहिले ओलीको हनुमान बनेका महासचिव इश्वर पोखरेलले त खुलेरै भनिदिएका छन्,‘एमाले भनेकै ओली हो ।’ उनले युवा संघको विस्तारित वैठकमा ओलीले खोकेपनि एमालेले खोकेको र ओलीले हाच्छ्युँ गरेपनि एमालेको हाच्छ्युँ हुने बताएपछि एमालेभित्र अर्को रडाको सुरु भइसकेको छ ।

झपटलाई झापड

युवा संघ अध्यक्ष मन्त्री भएपछि त्यसको कार्यवाहक र अध्यक्ष पद नै पाउने आशामा लालयीत झपट रावललाई ठूलो झापड लागेको छ । एमाले महाधिवेशनका क्रममा नै केन्द्रिय सदस्य उठ्नेले युवा संघ छाड्ने मौखिक सहमति भइसकेपछि अव त अध्यक्ष हुन पाइयो भनेर मख्ख परेका झपटले महाधिवेशन पछि पनि अध्यक्ष पद पाएनन् ।
 
बस्नेत मन्त्री भएपछि पाइएला कि भनेर वैठक टिका लगाइदिएर थपडी मारेपनि उनले नेतृत्व पाएनन् । बस्नेतले आफु नजिकका मान्छे बोलाएर बहुमतले निरु पाललाई कार्यवाहक अध्यक्ष घोषणा गरेर ताली पड्काएपछि झपटको अनुहार खिस्रिक्क परेको थियो । केही समय अघि बस्नेतको एक्लौटीपन ज्यादा भएको भन्दै युवा संघभित्र समानान्तर संगठन बनाउनका लागि रावल अघि बढेका थिए । पछि पालैपालो नेतृत्व गर्ने सहमति भएपछि विवाद मिलेको थियो । भीम रावलको पिए भएर काम गरेका रावललाई एमालेभित्र झन तल झार्ने काम भएको उनी निकटकाहरु ब्ताउने गर्दछन् ।
 

Post a Comment

0 Comments