Subscribe Us

‘एमाले विभाजन मैले नै गरेको हुँ’ खुमबहादुर खड्का

बामदेव गौतम जीवितै हुनुहुन्छ । २०५४ सालमा एमालेको नेपालगन्जमा महाधिवेशन हुँदै थियो । त्यो बेला तत्कालिन अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधव नेपालसँग गौतमहरुको निकै असहमति थियो ।
म गिरिजा प्रसाद कोइरालाको निकट ब्यक्ति । २५ बर्षको उमेरमा बीपीसँगै बनारस बाट नेपाल आएको ब्यक्ति पनि हुँ, विपीले विश्वास गरेको व्यक्ति भएकोले गिरिजा बाबुले पनि मलाई त्यति नै विश्वास गर्नुहुन्थ्यो । शैलेजा दिदी र मेरो कुरा धेरै मिल्थ्यो पनि ।
२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनले नेपाली कांग्रेस एमालेभन्दा सानो भइसकेको थियो । एमाले हामीभन्दा निकै ठूलो अवस्थामा पुगेको गिरिजा बाबुलाई पनि भान थियो । एमालेको संगठन पनि ठूलो थियो । त्यो संगठन नै हाम्रा लागि बाधक थियो । हामीले कांग्रेसलाई ठूलो बनाउने उपाय खोजी रहेका बेला एमालेमा विवाद देखियो । त्यो बेला खेल्ने हाम्रा लागि सुन्दर मौका पनि थियो ।
एमालेलाई फुटाउन सके कांग्रेस फेरि ठूलो ठुलो पार्टी बन्नेमा हामी ढुक्क थियौं । एमालेको गाउँ गाउँ बनेको संगठन पनि विभाजन हुने भएपछि भावी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सकिने अवस्था थियो ।
त्यही बेला एक दिन विहानै म गिरिजा बाबुको निवासमा पुगे । उहाँलाई एमाले फुटाउन सकिने योजना बताएँ । उहाँले ‘सक्नु हुन्छ भने फुटाउनुस्’ भन्नुभयो । त्यसपछि म बामदेवजीलाई भेट्न गएँ । बामदेवजीसँग सकारात्मक संवाद भयो । त्यसपछि राधाकृष्ण मैनाली र अशोक राईसँग कुरा गरे । पछि बामदेव, राधाकृष्ण र अशोकजीलाई सँगै राखेर कुरा गरियो । उहाँहरु पार्टी फुटाउन तयार हुनुभयो । र महाधिबेशनका लागि नेपालगन्जतर्फ लाग्नु भयो ।
नेपालगन्जमा उहाँहरुको सहमति हुन नसकेपछि मैले गिरिजाबाबुसँग बामदेव र अशोकजीको भेट गराएँ । उहाँहरुले पार्टी विभाजन गर्ने र त्यसका लागि गिरिजाबाबुले केही सर्त पालना गर्नुपर्ने भयो । गिरिजाबाबुले सर्त पालना गर्ने सहमत पनि हुनु भयो । बामदेवजीले २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वका सरकार ढाल्न आन्तरिकरुपमा हामीलाई सहयोग गर्नु भएको थियो । त्यो बेला पनि केही वचन गिरिजा बाबुले दिनु भएको रहेछ त्यो पूरा भएको रहेनछ । त्यो भेटमा पनि बामदेवजीले सर्त पालना गर्ने कुरामा पहिले आशंका गर्नु भयो । पहिले धोका खाएर होला ।
एमाले विभाजन गर्दा के–के कुराको सर्त भएको थियो त्यो म अहिले केही भन्दिँन तर ती सर्तहरु गिरीजाबाबुले पालना गर्नु भएन । २०५६ सालको निर्वाचनसम्म सर्त पालना गर्ने गरि अलमल गराउनुभयो त्यो बेला हामी पहिलो पार्टी बन्यौं । सहमति कार्यान्वयन पनि भएन । source:onlinedainik

Post a Comment

0 Comments