Subscribe Us

रानीबारी हत्याकाण्ड अभियुक्त खोज्दै ब्यूरो

काठमाडौं । चर्चित रानीबारी ईन्जिनियर दम्पती हत्याकाण्ड १२ बर्षपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पुनः छानविन गर्ने भएको छ । सीआईबी स्रोतका अनुसार ईन्जिनियर दम्पती हत्याकाण्डका अभियुक्तहरुको पहिचान भइसकेको छ । हत्या गर्ने हत्यारा र योजनाकर्ताको फोटो र सम्पूर्ण विबरण ब्यूरोले प्राप्त गरेपछि अनुसन्धान प्रक्रिया अगाडि बढ्ने भएको हो । स्रोतका अनुसार फरार अभियुक्त हाल दिल्लीमा बस्दै आएका छन् ।  केही बर्ष पहिले नेपाल आएको विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न खोजिएता पनि सूचना चुहावटका कारण उनीहरु भाग्न सफल भएका थिए ।
 
 स्रोतका अनुसार उक्त दम्पती हत्याकाण्डका योजनाकार र अभियुक्त मामा–भान्जाका रुपमा चिनिने सुजन थापा र सुवास अग्रवाल हुन् । सुवास अग्रवाल मेनपावर ब्यवसायी थिए भने उनका पार्टनर ईन्जिनियर दम्पतीका घरबेटी गिता खड्का थिइन् । उक्त हत्याकाण्डमा उनीहरुको हात रहेको प्रहरीको आशंका छ । सो काण्ड लुकाउन अहिलेसम्म प्रहरीहरु सक्रिय रहेका छन् । ब्यूरोले केही महिना पहिले यो फाईल हाता पारेपनि सक्रिय रुपमा अनुसन्धान भने थालेको छैन् । रानीबारीमा भाडामा बस्दै आएको ईन्जिनियर दम्पती हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको रहस्यमय रुपमा आफ्नै कोठामा हत्या भएको थियो ।
 
 ३१ असार ०५९ मा रानीबारीस्थित भाडामा बस्ने घरमा नै राती सुतिरहेका बेला उनीहरुको हत्या भएको थियो । घटना भएको करिब १२ वर्ष बितिसकेको छ । तैपनि अहिलेसम्म प्रहरीले घटनाको कारण्ाँ र अभियुक्तको पहिचान गर्न सकेको थिएन । घटनपछि दुई अभियुक्तको स्केच सार्वजनिक गरेर प्रहरी मौन बसेको थियो । दुई अभियुक्तमध्ये एकको नाम प्रकाश लामा भएको तत्कालिन समयमा प्रहरीले दाबी गरेको थियो । उक्त घटनामा संलग्नता बारे अनुसन्धान गर्न एक दर्जन भन्दा बढी अनुसन्धान टोली गठन भए । तैपनि अहिलेसम्म उनीहरु पक्राउ पर्न नसक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
 
किन भएको थियो हत्या ?
 
रानीबारीस्थित श्रेष्ठ दम्पती घरबेटी गिता खड्काको घरमा भाडामा बस्ने गरेका थिए । उनीहरुसँग प्रशस्त सुन र नगद रुपैयाँ समेत रहेको सूचनाको आधारमा हत्याको योजना बुनेको प्रहरीको आशंका छ । मेनपावर ब्यवसायी अग्रवालसहितको योजनामा नगद र सुन प्राप्त गर्ने उदेश्यले हत्या भएको हुन सक्ने अनुसन्धानमा खटिएका एक प्रहरी बताउँछन् । र, सोही योजना अनुसार उनीहरुको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । 
 
अग्रवाल र थापा हाल दिल्लीमा रहेका छन् भने अग्रवालको कनेक्सन नेपालका नामुद गुण्डाहरुसँग समेत रहेको छ । अनुसन्धानमा खटिएका एक जना प्रहरी अधिकृतका अनुसार फरार अग्रवालको कनेक्सन सुन्धारातिरका डन पूर्ण गुरुङसँग पनि देखिएको छ । गुरुङ नेपाली काँग्रेसका धार्मिक नेता खुमबहादुर खड्का नजिक छन् । प्रहरीले तत्कालिन अबस्थामा सार्वजनिक गरेको फरार अभियुक्तको स्केच समेत अग्रवाल र थापाको तस्बीरसँग हुवहु मेल खाएको स्रोतले बतायो ।

Post a Comment

0 Comments