Subscribe Us

एभरेष्ट बैंकमा खाता हुनेहरु होसियार, ग्राहकको खाताबाट ११ लाख गायब

काठमाडौं: ग्राहकको खाताबाट पैसा गायब बनाएको आरोपमा एचएनबी बैकका पूर्व सिईओ र संचालक महानगरीय प्रहरी परिसर हनुमानढोको हिरासतमा छन् । त्यस्तै प्रकृतिको घटना अर्काे ठूलो बैंक एभरेष्टमा पनि भएको छ । एभरेष्ट बैंकका कर्मचारीको चरम लापरबाहीका कारण एक संस्थाको ११ लाख रुपैयाँ गायब भएको छ ।
घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको छ । कीर्ते हस्ताक्षर गरी नेपाल राष्ट्रसेंवक संगठन नामक निजामती कर्मचारीका तल्ला तहका कर्मचारीको संस्थाको पैसा गायब भएको हो । महानगरीय प्रहरी वृत्त सिंहदरबारले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ । बैंकका कर्मचारीहरुमाथि पनि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
 
सिंहदरबार प्रहरीले करण थापा, अनिल दियाली, राजेश थापा र सुमन हुमागाईलाई पक्राउ गरी थुनामा राखेको छ भने सागर कार्की फरार रहेका छन् । उनीहरुले कर्मचारी संगठनको चेक आफैं बैंकबाट झिकेर पटक–पटक गरी ११ लाख ५० हजार रुपैयाँ निकालेका थिए । संगठनका अध्यक्ष शरण गुरुङ र बाबुराम रोकाको हस्ताक्षर कीर्ते गरी उनीहरुले पैसा निकालेका थिए । यसरी एउटा व्यक्तिको नाममा रहेको चेक अर्काेले निकालेर कीर्ते हस्ताक्षर गर्दा पनि बैंकले पैसा दिएको थियो ।
 
एभरेष्ट बैंकका कर्मचारीले खाताधनीको वास्तविक हस्ताक्षर नलिए पनि चेकबाट भुक्तानी दिने गरेको खुलेको छ । जसका कारण एभरेष्ट बैंकमा खाता हुनेहरुको पैसा असुरक्षित रहेको देखाएको छ । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरुका अनुसार बैंककै चरम लापरबाहीका कारण आफुहरुको खाताबाट पैसा हराएको भन्दै राष्ट्रसेवक कर्मचारी संगठनले बैंकका कर्मचारीलाई समेत पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
 
त्यसरी पटक–पटक गरी खाताबाट पैसा निकाल्दा समेत बैंकले कीर्त गरेको पत्ता लगाएन । संगठनका कर्मचारीले खाताको ब्यालेन्स चेक गर्दा जम्मा १६ हजार रुपैयाँ मात्र रहेको थाहा पाएपछि बैंकविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सो प्रकरणमा चार जना युवा थुनामै छन् भने अरु केही फरार छन् । एच एण्ड बी बैंकको जस्तो यो घटनामा पनि मिलेमतो रहेको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

Post a Comment

0 Comments