Subscribe Us

एच एण्ड बी बैंककी पूर्वसीइओ सैंजु पक्राउ,
पाँच करोड ७७ लाख ठगी गरेको आरोप

 काठमाडौं । एच एण्ड बी डेभलपमेन्ट बैंककी पूर्व प्रमुख कार्यकारी अधिकृत जसोदा सैंजुलाई प्रहरीले पक्राउ गरेको छ । ग्राहकले जम्मा गरेको रकम खातामा नभएको तथा भएको रकम हराएको उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखा हनुमान ढोकाले सैंजु र पूर्व कर्मचारी पुष्पज्योति ढुंगानालाई पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता एवं एसपी भुपाल भण्डारीले उनिहरुमाथी अनुसन्धान भइरहेको बताए । ग्राहकको चार करोड ७७ लाख रुपैयाँ ठगी भएपछि प्रहरीमा उजुरी परेको थियो ।

गुड फर पेमेन्ट कान्डमा बैंकमा ८२ करोड रूपैयाँ घोटला भएको थियो । गुड फर पेमेन्ट काण्डपछि बैंक समस्यामा परेको र सुधार गर्नका लागि राष्ट्र बैंकले पटक(पटक दिएको निर्देशन पालना नगरेपछि गत जेठ १४ गते राष्ट्र बैंकले एचएन्डबीको व्यवस्थापन र सञ्चाल समिति हस्तक्षेप गरेको थियो । राष्ट्र बैंकले अफ्ना उपनिर्देशक ज्ञानकृष्ण अधिकारीको नेतृत्वमा उपनिर्देशक विष्णुमणि गौतम र सहायक निर्देशक हेमराज अधिकारीलाई पठाएको थियो ।

 राष्ट्र बैंकले गुड फर पेमेन्टका चेकमा जाँचबुझ गरेर आधिकारिक भए भुक्तानी दिन र नभए भुक्तानी नगरी कारवाहीको प्रक्रिया चाल्न दिर्नेशन दिएको थियो । एच एण्ड बी बैंकको सञ्चालक समितिका अध्यक्ष श्रवणकुमार अग्रवाल हुन् भने प्रमुख कार्यकारी अधिकृत जसोदा सैँजू हुन् । सञ्चालकहरुमा विजयकुमार सरावगी, रमेश कर्मचार्य, पुष्प ज्योति ढुंगाना, दीपककुमार श्रेष्ठ, राजेशकुमार सरावगी छन् ।

यस्तो थियो कान्ड

१० महिनाअघि बैंकको कुलेश्वर शाखा प्रमुख निरज नेपालले ग्राहकद्धय मनोज चौरासीया र जयकुमार यादवलाई करोडौ रुपैयाँ ‘गुड फर पेमन्ट’ भुक्तानी दिएका थिए ।

१० करोड रुपैयाँ भुक्तानी गरेको प्रमाणित भएको छ भने करिब ५८ करोड रुपैयाँ बराबरको दाबी परेको बताइएको छ । यस बाहेक बैंकको खाताबाट १७ करोड रुपैयाँ नगद समेत हराएको थियो । २१ करोड रुपैयाँको मौखिक दावी र वेस्टन सहकारी संस्था, नेपाल बहुउद्देश्यीय सहकारीलगायतका ४ सहकारीले १ करोड देखि ८ करोडसम्मको दाबी गरेका छन् । यही कान्डमा वैभव फाइनान्सले २ करोड रुपैयाँ भुक्तानी दिएको थियो । वैभव प्रमु विकास बैंकसँग मर्ज भइसकेको छ ।

नेपाल, चौरासीया र यादवले सजाय भुक्तान गरिरहेका छन् । बैंकमा भएको ठगी प्रकरणमा बैंकका सञ्चालक, उच्च कर्मचारी र ऋण दिने सहकारीको समेत मिलेमतो भएको प्रहरीको अनुसन्धानले देखाएको थियो ।

पोखराको हिमचुली विका बैंक र पर्साको बीरगञ्ज फाइनान्स एकअपसमा मर्ज भर्इ २०६७ सालदेखि एच एन्ड बी डेभलपमेन्ट बैंकको नामबाट राष्ट्रियस्तरको विकास बैंकको रूपमा कारोबार सुरू गरेको थियो । यी दुर्इ संस्थाबीचको मर्जर नेपालकै पहिलो मर्जर हो ।

के हो गुड फर पेमेन्ट
 
कुनै ग्राहकले भुक्तानी आदेश गरेको चेकमा संस्थाले ‘गुड फर पेमेन्ट’ भन्ने छाप लगाई अर्को व्यक्ति वा संस्थालाई चेक भुक्तानी गर्नु नै ‘गुड फर पेमन्ट’ हो । यो बैंकिङ क्षेत्रको भुक्तानी सम्बन्धी एक उपकरण हो । यसलाई बुझ्ने भाषामा ‘ग्यारेन्टी’ भन्न सकिन्छ ।

गुड फर पेमेन्टको छाप लगाइसकेपछि उक्त चेकमा रहेको दायित्व भुक्तानी पनि छाप लगाउने संस्थाले व्यहोर्नु पर्छ । त्यसैले गुड फर पेमेन्ट हुनका लागि चेक जारी गर्ने संस्था वा व्यक्तिको खातामा रकम हुनै पर्ने व्यवस्था छ । तर, एच एण्ड बी बैंकको कुलेश्वर शाखाले भने रकम नभएको खातावालको चेकमा गुड फर पेमेन्ट दिएको हो । (अनलाईन खबरबाट)

Post a Comment

0 Comments