Subscribe Us

चेलीबेटी बेचबिखन गर्ने तामाङलाई ४५ बर्ष जेल,
पीडित महिलालाई समेत तीन महिनाको जेल सजाय

भक्तपुर, २६ कात्तिक । चीनको खासामा लगेर पटक पटक चेलीबेटी बेचबिखन गर्ने एक जनालाई भक्तपुर  र काठमाडौं जिल्ला अदालतले ४५ वर्षका लागि जेल चलान गरेको छ ।

भक्तपुर नगरपालिका–१ बस्ने एक महिलालाई रोजगार दिलाई दिन्छु भन्दै चीनको खासास्थित एक रेष्टुराँमा पु¥याएर बिक्री गर्ने दोलखा जिल्ला विगु गाविस–१ घर भएका असिमराज तामाङलाई भक्तपुर जिल्ला अदालतले जेल सजायसहित जरिवानाको फैसला गरेको हो ।

खासाको रेष्टुराँबाट भागेर नेपाल आएपछि दिएको उजुरीको आधारमा पक्राउ परेका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० वर्ष जेल र रु दुई लाख जरिवाना एवम् मानव बेचबिखन अपराध ऐन, २०६४ को दफा १५ (५) बमोजिम दोस्रो पटक अपराध गरेको कसुरमा थप पाँच वर्ष कैद र थप रु ५० हजार जरिवाना गरी कुल २५ वर्षको कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला अदालत भक्तपुरका न्यायाधीश लेखनाथ ढकालको इजलासले तामाङलाई जेल र जरिवानासहित पीडित महिलालाई रु एक लाख २५ हजारसहित क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको अदालतका तहसिलदार दिलीपराज पन्तले जानकारी दिनुभयो ।

    यसअघि पनि सोही आरोपमा पक्राउ परेका तामाङ दोषी ठहरिएपछि काठमाडौँ जिल्ला अदालतले २० वर्षको कैद सजाय सुनाएको उहाँले बताउनुभयो । कुल ४५ वर्षको सजायका लागि तामाङलाई जेल पठाइएको हो ।

मानव बेचबिखनमा तामाङसँगै संलग्न रहेका खासा घर भएका दोर्जे आन्द्रे, उनकी  श्रीमती द्योक्का आन्द्रे र खासामै बस्ने तामाङकी श्रीमती करिष्मा तामाङ भने फरार रहेकाले उनीहरूको खोजी भइरहेको पन्तले जानकारी दिनुभयो ।

त्यसैगरी, अदालतले पीडित महिलालाई समेत तीन महिनाको जेल सजाय सुनाएको छ । सुरुमा आफैंले उजुरी दिएर पक्राउ परेपछि पीडकले घटना स्वीकार गरिसकेको अवस्थामा पनि  पीडकलाई जोगाउन बयान परिवर्तन गरेपछि अदालतले पीडित महिलालाई पनि तीन महिनाको कैद सजाय सुनाएको छ । रासस

Post a Comment

0 Comments