Subscribe Us

लोकमानको नयाँ शासन,
एसएसपीले डीआईजीको छानविन गर्ने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अख्तियारको संरचनालाई पुरै बदल्न लागेका छन् । त्यसै त सभासद्हरुले अख्तियार जस्तो संबैधानिक निकायलाई फौजी संरचना निर्माण गर्नतर्फ धकेलेको आरोप लगाइरहेका बेला प्रमुख आयुक्त कार्कीले अख्तियारको क्षेत्रीय कार्यालयहरुमा प्रमुखको रुपमा कार्यरत चार जना सहचिवहरुलाई एकै पटक फिर्ता बोलाएका छन् ।
 
अख्तियारको क्षेत्रीय कार्यालयहरुमा प्रमुखको रुपमा कार्यरत उनीहरुलाई गत साता फिर्ता बोलाइएको हो । फिर्ता हुनेमा पूर्वाञ्चल क्षेत्रीय कार्यालयका महादेव पन्त, मध्यपश्चिमाञ्चलका प्रेमकुमार श्रेष्ठ, पश्चिमाञ्चलका मुकुन्दराज पन्थी र सुदुरपश्चिमाञ्चलका रघुराम विष्टलाई सामान्य प्रशसान मन्त्रालयमा फिर्ता गरिएको छ । फिर्ता भएका चारै जना सहसचिवहरुलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।
 
उनीहरुलाई फिर्ता गरी चारै ठाउँंमा उपसचिवहरुलाई निमित्तको रुपमा कार्य गर्न तोकिएको छ । अख्तियार स्रोतका अनुसार कार्कीले अब नेपाल प्रहरीका एसएसपीलाई क्षेत्रीय कार्यालयको प्रमुख बनाउने तयारी थालेका छन् । संसदको अर्थ समितिले फौजी संरचना निर्माण गरेर कार्कीले अख्तियारमार्फत आतंक सृजना गर्न खोजेको आरोप लगाइरहेका बेला उल्टै चुनौति दिने गरी उनले क्षेत्रीय कार्यालयमा एसएसपीको दरबन्दी राख्न लागेका हुन् । यसअघि उनले प्रहरीको दरबन्दी अख्तियारमा बढाएका थिए ।
 
स्रोतका अनुसार निजामति तर्फका प्राविधिक कर्मचारी कटौती गरी कार्कीले प्रहरीलाई अख्तियारमा बढि हावी बनाएका छन् । जसका कारण बद्नाम प्रहरी अधिकृतहरु समेत यतिखेर अख्तियारमा कार्यरत छन् । यदि कार्कीले क्षेत्रीय कार्यालयमा एसएसपीलाई प्रमुख बनाए भने नेपाल प्रहरीका क्षेत्रीय कार्यलयमा प्रमुखका रुपमा कार्यरत डीआईजीहरुलाई कार्कीले प्रमुख बनाउन लागेका एसएसपीले छानविन गर्न पाउने कि नपाउने भन्ने कानुनी जटिलता समेत पैदा हुने देखिन्छ । अख्तियारमा प्रहरी हावी भएकै कारण यसअघि कार्यरत केपी शर्मा नामका बद्नाम प्रहरी अधिकृत सुन लुटपाटमा मुछिएका थिए ।

Post a Comment

0 Comments