Subscribe Us

भत्ता जती हाकिमलाई, समोसाको भरमा १२ घण्टा डीउटी

काठमाडौं, ११ मंसिरः
प्रहरीका हाकिमहरुले सिपाही र हवल्दारलाई भोकभोकै निरन्तर १२ घन्टा डिउटीमा खटाएर उनीहरुको भत्ता खाने भएका छन् । सार्क सम्मेलनको पाँच दिनका लागि अर्थ मन्त्रालयले उपत्यकामा खटिने प्रहरीलाई दैनिक चार सय भत्ता दिएको छ । 

 तर, सो रकमबाट बिहान एक छाक भात र दिउसो एकओटा समोसा मात्र खान दिइएको छ । कतिपयले त समोसा पनि खान पाएनन् । बिहान सात बजे खाना खाएको भरमा बेलुकासम्म राजधानीमा सार्क सुरक्षाको डिउटी गरेका छन् ।
 
स्रोतका अनुसार अर्थ मन्त्रालयले दिएको भत्तावापतको आधा हेडक्वाटरले नै राखेको छ । बाँकी रकम महानगरीय प्रहरी आयुक्त कार्यालय तथा महानगरीय प्रहरी परिसर हनुमानढोकालाई पठाइएको छ । दैनिक एक प्रहरी बराबर चार सय रुपैयाँ भत्ता आएपनि हाकिमहरुले आधा मात्र खर्च गरेर अरु रकम खर्च भएको देखाई खल्तीमा हाल्न लागेपछि विरोध शुरु भएको छ । 

सार्क सुरक्षामा सेना, सशस्त्र र नेपाल प्रहरीका करिब २० हजार जनशक्ति राजधानीमा खटिएका छन् । सेना र सशस्त्र प्रहरीले दुई सिफ्टमा खटाएपछि नेपाल प्रहरीले भने बिहानदेखि बेलुकासम्म खटाएको थियो । गत वर्षको संविधानसभा निर्वाचनमा आएको भत्ता समेत तल्लो तहका प्रहरीेले पाएका छैनन् । भत्ता नपाएकोमा उनीहरुले मुख्यालयमा उजुरी हालेपनि त्यसको सुनुवाई नभएको स्रोत बताउँछ ।

Post a Comment

0 Comments