Subscribe Us

यस्ता पो सभासद अनि संबिधान बन्छ ?

काठमाडौं । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा लोकतान्त्रिक चरित्र, जीबनशैली, र ब्यवहार भएका व्यक्ति छायाँमा परेको र पार्टीको उदारता, स्वतन्त्रता र खुलापनको दुरुपयोग गर्दै किर्तेमा फसेका र अभियोग लागेका व्यक्तिहरु भने माननिय भन्दै कुर्लिएको सुनिन थालिएको छ ।
 
आफूलाई युवा नेता र लोकप्रीय नेता भनाउँदै बिहानदेखि बेलुकीसम्म ब्यक्तिगत स्वार्थमा अहोरात्र खटिरहने ति सभासद् हुन ओखलढुंगाबाट निर्बाचित रामहरि खतिवडा । खतिवडालाई पार्टीले गत बर्ष संविधानसभा निर्वाचनमा टिकट दिनु र निर्वाचन जितेपछि ब्यवस्थापिका संसदको सार्बजानिक लेखा समिति जस्तो गम्भिर र महत्वपूर्ण समितिमा राखेर पार्टीको जिम्मेवार निकायले पुरस्कृत गरेको देख्दा पुराना, इमान्दार, निष्ठावान र पार्टी संस्थापन पक्षका आम कांग्रेस कार्यकर्ता यतिवेला लाजले शिर निहुराउन बाध्य भएका छन् । सभासद् खतिवडाको पार्टी र संसदमा समेत दोहोरो चरित्र देखिएको छ । खतिवडाको २० बर्षअघिको धन्दा देखी,  सुनी जान्नेहरु तातोपानी भन्सारमा तिब्बती नागरिकलाई भेष बदल्दै दौरा सुरुवाल लगाईदिएर सरकारी गाडीमा ओसार्ने चरित्र भएको ब्यक्तिको रुपमा पहिचान बनाएको बताउँछन् । 

खतिवडाको यो चरित्र २० बर्षपछि पनि उस्तै छ । उनी पार्टीमा पनि कहिले संस्थापन पक्ष त कहिले असन्तुष्ट नेता शेरबहादुर देउवा पक्षधर भन्न रुचाउँछन् । सभासद् खतिवडाले आफूलाई संस्थापन पक्ष नजिकको देखाउन नुवाकोटका अर्जुननरसिंह केसीसँग, कोइराला परिवारसँग सम्बन्ध जोड्न केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग, नेता देउवासँग नजिक भएको देखाउन एनपी साउदसँग उठबस र खानपीनमा ब्यस्त हुने गर्छन् । 

त्यतिमात्र होइन्, उनी आफूलाई खुमबहादुर खड्का नजिक देखाउन उनकै डिजाइनमा थालिएको हिन्दु मुलुक घोषणा गर्ने कार्यक्रममा समेत सहयोग र सहभागिता जनाउन पछि पर्दैनन् । ब्यक्तिगत जीबन र पार्टी राजनीतिमा दोहोरो चरित्र देखाउने खतिवडाले संसदमा समेत आफ्नो सक्कली चरित्र उजागर गरेका छन् । उनले संसदको सार्बजानिक लेखा समितिको गाम्भिर्यता र महत्वलाई नजरअन्दाज गर्दै समितिको पहिचानलाई समेत ‘ले.......खा......’ समितिको रुपमा परिबर्तन गर्ने धृष्टता गरेका छन् । 

सभासद् खतिवडाले यो समितिमा पनि दोहोरो चरित्र प्रस्तुत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई चमेलिया जलबिद्युत आयोजनाको बारम्बारको भेरिएसन अर्डरका कारण मुलुकले धान्न नसक्ने गरी महङ्गो हुनुमा उनको पनि हात छ भन्दै चर्को बिरोध गरे । तर अख्तियारले सो प्रकृतिको अर्को बिषय काबेली ए लगायतका १४ जलबिद्युत आयोजनाको लाइसेन्स खारेज गर्ने सम्बन्धी बिषयमा लेखा समितिमा छलफल नैं गरेनन् । 

अख्तियार प्रमुख कार्कीलाई धम्क्याएर पावर ब्यालेन्स गरेँ भन्दै हिँड्ने खतिवडाले बरु जलबिद्युत आयोजना सम्बन्धी बिषयको बिवरण अर्थसमितिका एक सदस्यलाई दिएर उतै बार्गेनिङ्ग गर्ने बाटो देखाई दिए । खासमा सो बिषय संसदको प्राकृतिक स्रोत साधन समितिले हेर्ने बिषय थियो । जलबिद्युत सम्बन्धि लेखा समितिले हेरिरहेको बिषयलाई पन्छाएर उनै खतिवडाको डिजाइन र समिति सभापति जनार्दन शर्माको सल्लाहमा राप्रपा नेपालका सभासद् रहेका गणेश थापाको केस बल्झाएका थिए ।

 गणेश थापाले एन्फाको अध्यक्षको हैसियतले आर्थिक अनियमितता गरेको भन्दै चर्को कुरा गर्ने खतिवडाले भोलीपल्टै राप्रपा नेपालको एजेण्डालाई समर्थन गर्दै पावर ब्यालेन्सको साँठगाँठ गरेका छन् । खतिवडाले राप्रपा नेपालका सभासद् थापा सहित सो पार्टीले लिएको हिन्दु राज्यको अतिबादी कुरा भन्दै भाषण गर्न पनि पछि परेनन् । उनले १९ कात्तिकमा ब्यबस्थापिका संसदको बैठकमा राप्रपा नेपालले संसद बैठक अबरुद्ध गर्न खोज्दा  राप्रपा नेपालका अध्यक्ष कमल थापाको कठालो समाउँला झैं गर्दै बारम्बार झम्टिएका थिए । 

तर उनै खतिवडा भोली पल्ट २० गते कात्तिकका दिन पार्टी नीति र उद्देश्य बिपरित कदम चाल्दै मुलुकमा धार्मिक हिंसा निम्त्याउन चाहने खुमबहादुर खड्काको महाअभियानमा संलग्न भए । नेता खुमबहादुर खड्काको हिन्दु राष्ट्र बनाउने अभियानमा साथ र सहयोग रहेको भन्दै हिड्ने खतिवडाले नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानमा नेता खड्काको अगाडी अनुहार देखाएर एकैछिन पछि बाहिरिएका थिए । अख्तियार प्रमुख कार्कीलाई क्षेत्राधिकार नाघेको भन्दै हिड्ने खतिवडाले आफ्नो क्षेत्राधिकार के हो भन्ने चाहिँ बुझ्न जरुरी भएको कांग्रेसका नेताहरु बताउँछन् ।
 
खतिवडाका बिगतका कर्तुत
 
ओखलढुंगा स्थायी घर भएका खतिवडा विगत २० बर्षभन्दा बढी समयदेखि घट्टेकुलो पिपलबोट नजिक डेरामा  बस्ने गर्छन् । उनी घर जग्गा नभएर त्यहाँ बसेका होइनन्, २० बर्षमै खतिवडाले उपत्यकामा एउटा आलिसान महल, जग्गा, करोडौंको बैंक तथा बित्तिय संस्थामा सेयर र होटलको क्यासिनोहरुमा लगानी गर्ने गर्छन् । 

उनले गत संविधानसभा निर्वाचनमा टिकट लिन कांग्रेस संस्थापन पक्षका एकजना संसदिय बोर्डका सदस्यलाई खासाबाट १६ वटा ब्लान्केट, चार वटा जखमले खसी, रेड लेबल जस्ता सगुन उपहार दिएका थिए । २०५९ सालमा कांग्रेस बिभाजन गरी कांग्रेस प्रजातान्त्रिक गएका खतिवडा पार्टी एकिकरण हुनु एक बर्षअघि नैं कांग्रेस फर्किएका हुन् । २०४८ सालमा ओखलढुंगाका कांग्रेस नेता बलबहादुर राई सांसदमा निर्वाचित भएपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा मन्त्री हुन सफल भए ।

 राई मन्त्री भएपछि स्वकिय सचिव भएका खतिवडाले कहिले मन्त्रालयको त कहिले मन्त्रीकै गाडी लिएर खासामा लुगा खरिद गर्न जाने गर्थे । उनले सोही समयदेखि सरकारी गाडीमा अबैध सुन ओसार प्रसारदेखि तिब्बती शरणार्थीसँग मोटो रकम असुलेर नेपाली दौरा सुरुवाल र ढाका टोपी लगाएर नेपाल भित्र्याउने गर्दथे । उनको सरकारी गाडीमा चेढेर बारम्बारको खासा ओहोर दोहोरलाई भन्सारका कर्मचारीले प्रधामन्त्री कार्यालयमा समेत उजुरी दिएका थिए ।

 सोही गुनासोको आधारमा खतिवडालाई स्वकिय सचिवबाट हटाउन तत्कालिन मन्त्री बलबहादुर राईलाई निर्देशन नैं दिएको पारिवारिक स्रोत बताउँछ । खतिवडाको गतिबिधि अति भएपछि कोइरालाले मन्त्री राईलाई खतिवडालाई नहटाए मन्त्री पद नैं चुनौति हुने चेतावनी दिएपछि राईले हटाएका थिए ।
मन्त्रीको पीएबाट हटाईएपछि छटपटिएका खतिवडाले एक महिलालाई बिदेश पठाई दिन्छु भन्दै आफू तत्कालिन श्रम मन्त्री राईको पीए भएको झुटो बिबरण दिएर जापान पठाउने षडयन्त्र गरेका थिए ।
 
तर किर्ते गरी ति महिलालाई बिदेश पठाउन खोजेको सूचना पाएपछि जापानीज दुताबासले उनलाई पक्राउ गरी दुई  साता थुनामा राखेको थियो । पछि धरौटीमा रिहा भएका खतिवडालाई २०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएपछि उनको मुद्दा क्याबिनेटबाट फिर्ता लिन लगाइएको थियो । किसुनजी प्रधानमन्त्री भएको बेला उनले आफू प्रधानमन्त्रीको स्वकिय सचिव हुँ भन्दै कयौं ठाउँमा रकम असुल गरेको थाहा पाएपछि किसुनजीले पनि हप्काएका थिए । पछि खतिवडालाई प्रधानमन्त्रीका स्वकिय सचिवहरु अमिता कपाली, नेत्र कार्कीलगायतले बालुवाटार छिर्नमा प्रतिबन्ध समेत लगाएका थिए ।
 
खतिवडा पार्टीमा पनि संस्थापन पक्षका हुन वा संस्थापनइत्तरका हुन खुल्न चाहँदैनन् । उनलाई जता मल्खु उतै ढल्कु भने झैं जता जता आर्थिक लाभ हुन्छ, उतै उतै चहार्ने सभासद्को रुपमा हेरिन्छ । कांग्रेसका युवा नेता भनाउँदा अधिकांसलाई खतिवडाले बेलुकी कक्टेल डिनर दिने गर्छन् । यतिमात्र होइन, खतिवडालाई पत्रकारलाई रेड लेबल पियाउने , ट्याक्सी भाडा दिने र खाजा खुवाउने सभासद्को रुपमा संसद सचिवालय परिसरमा चर्चा गर्ने गरिन्छ ।

Post a Comment

0 Comments