Subscribe Us

गणेशमान सिंहको जन्मशताब्दी कार्यक्रम सुरु

 काठमाडौँ, २४ कात्तिक । प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको जन्मशताब्दी वर्ष मनाउने कार्यक्रम औपचारिक रूपमा आजदेखि सुरु गरिएको छ ।  नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो जीवनभर सङ्घर्ष गरेका सिंहको योगदानको कदर स्वरूप आज उहाँको जन्मजयन्तीको पुण्यतिथिदेखि एक वर्षसम्म विभिन्न कार्यक्रमका साथ जन्मशताब्दी मनाउने लक्ष्यअनुरूप कार्यक्रम शुभारम्भ गरिएको हो । 

काठमाडौँस्थित शोभा भगवतीमा स्व सिंहको तस्बिरमा माल्यार्पण गरी जन्मशताब्दीका अवसरमा वर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गरिने भएको गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहले जानकारी गराउनुभयो ।   

नेपालको प्रजातन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा गणेशमान सिंहको महत्वपुर्ण योगदान रहेको बताउँदै उहाँले प्रजातान्त्रिक मूल्य र मान्यता स्थापित गराउने सन्दर्भमा स्व सिंहको चिन्तनलाई आत्मसात् गर्नुपर्ने उल्लेख गर्नु भयो ।   नेपालको विद्यमान राजनीतिक अस्थिरतामा आफूभन्दा पनि देशलाई प्राथमिकतामा राखेर राजनीति गरिनुपर्ने स्व सिंहको चिन्तनलाई वर्तमानमा राजनीतिकर्मीहरूले आत्मसात् गरिनुपर्ने उहाँको भनाइ थियो ।

    एक वर्षमा संविधान जारी गर्ने कुरालाई प्रत्येक राजनीतिक दलले निर्वाचनका क्रममा वितरित घोषणापत्रमा उल्लेख गरेको चर्चा गर्दै उहाँले पूर्ववत् प्रतिबद्धतालाई सम्मान गर्दै निर्धारित समयमा संविधान जारी गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

    राष्ट्रिय सहमतिका लागि काँग्रेस, एमाले लचिलो बनेको बताउँदै उपप्रधानमन्त्री सिहंले संविधान जारी गरी देशलाई अस्थिरताबाट मुक्त गराउनुपर्ने बताउनुभयो । जन्मशताब्दीका अवसरमा गणेशमान सिंहले प्रजातान्त्रिक आन्दोलनमा प्रदान गरेको नेतृत्व, उहाँका युगजयी विचारलाई विभिन्न कार्यक्रमका साथ जनस्तरसम्म पु¥याइने लक्ष्य राखिएको छ ।

    राजनीतिक क्रान्तिका उपलब्धिलाई जोगाउन आर्थिक क्रान्तिको अपरिहार्यतामा गणेशमान सिंहले जोड दिएका कारण त्यो कुरा वर्तमान पुस्तालाई जानकारी गराउन विभिन्न गोष्ठीहरू आयोजना गरिने, स्व सिंहका त्याग र बलिदानका विभिन्न पक्षलाई उजागर गर्ने कार्यक्रमहरू सञ्चारमाध्यममार्फत दिने, गणेशमान सिंहका तस्बिर रहेका लकेटहरू देशभरि वितरण गर्ने, फोटो प्रदर्शनीका साथै गणेशमान सिंहको जन्मशताब्दी वर्ष १९७१–२०७१ अङ्कित हुलाक टिकट प्रकाशन गर्न र राष्ट्र बैंकबाट उहाँको चित्र अङ्कित सिक्का निष्कासनका लागि नेपाल सरकारलाई अनुरोध गरिने भएको छ ।

    त्यस्तै साहित्यिक पत्रपत्रिकामा विशेषाङ्क प्रकाशन गर्ने, उहाँका समसामयिक र सान्दर्भिक विचारलाई प्रकाशनमा ल्याउने, गणेशमान सिंह पुरस्कार स्थापित गरी प्रजातन्त्रको संरक्षण र संवद्र्धनमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रमहरू तय गरिने, पापड, प्याब्सनलगायत पेसागत सामाजिक तथा निजी क्षेत्रका सङ्घसंस्थाका समन्वयमा विभिन्न राष्ट्रियस्तरका कार्यक्रम सञ्चालन गरिने जन्मशताब्दी तयारी समितिले जनाएको छ ।
 
 जन्मशताब्दीका क्रममा गणेशमान सिंहका समकालीन रामहरि जोशी, नूतन थपलिया, योगप्रसाद उपाध्याय, गोपालदास वादे श्रेष्ठ, देवशङ्करलाल श्रेष्ठ, गोविन्ददास श्रेष्ठ, महेश्वरलाल श्रेष्ठ (चितवन), सानु मानन्धर, गौरी राणा, कुन्दन शर्मा, विजया शर्मा, सरोज प्रधान, तेजमान तुम्बाहाम्फेलाई सम्मान गरिने कार्यक्रम छ । रासस

Post a Comment

0 Comments