Subscribe Us

सार्क सम्मेलनमा सुरक्षाको चिन्ता,
सरकारद्धारा तयारी पूरा, वन्तलाई चिन्ता छैन

कुमार भण्डारी
काठमाडौं । आगामी मङ्सिर १० र ११ गते राजधानीमा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनको तयारी प्रायः पूरा भएको सरकारले जनाए पनि सुरक्षाको चिन्ता भने त्यतिकै थपिएको छ । यद्यपी गृहमन्त्रालयले सार्क सम्मेलनमा सुरक्षाको विषयलाई गहन रुपमा लिएर सजक भएको जनाएको छ । मुख्यतः आतंकवादी घुसपैठलाई सुरक्षा निकायले चुनौतीका रुपमा औल्याएका छन् । आठ देशका राष्ट्रप्रमुखहरुमध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा धेरै थ्रेट रहेको जनाउँदै सुरक्षा निकायहरुले त्यहीअनुसार तयारी थालेका छन् ।

 खुला सिमानाका कारण भारतीय आतंकवादी मुजाहिद्दिन समूहको ‘थ्रेट’ हुनसक्ने तथा भारतीय दूतावासले कहि समय अघि नेपालका शिर्ष नेताहरुलाई सुरक्षा चुनौति रहेको भन्दै दिएको रिपोर्टका आधारमा गृह मन्त्रालयले तयारी थालेको हो । गृहमन्त्रालयका प्रबक्ता लक्ष्मीप्रसाद ढकालले सार्क शिखर सम्मेलनमा सुरक्षा महत्वपूर्ण भएकाले सोही अनुसार तयारी भइरहेको बताएका छन् । सम्भावित अप्रिय घटना हुन नदिन प्रहरीले सीमादेखि होटलसम्म चेकिङमा कडाई गरेको छ । 

राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरीको विशेष ब्युरोलाई नेपाल आउने विदेशीमाथि निगरानी गर्ने जिम्मा दिइएको छ भने भारतसँगको सीमा र उपत्यका भित्रिने नाकामा कडाइका साथ सुरक्षा चेकजाँच भइरहेको छ । त्यसैगरी काठमाडौंका होटल तथा लजहरुमा बस्नेहरुले अनिवार्य रुपमा परिचयपत्र देखाउनु पर्ने गरी प्रहरीले चेकजाँच गरिरहेको छ । प्रहरीले संका लागेका व्यक्तिहरुको विवरण पनि संकलन गरिरहेको छ ।
 
सहभागी राष्ट्र तथा सरकार प्रमुख बस्ने पाँचतारे होटल सोल्टी र सम्मेलनस्थल राष्ट्रिय सभागृहवरिपरि सिसिटिभी समेत जडान गरिएको छ । भारत सरकारले आतंककारीद्धारा नेपालका केही महत्वपूर्ण नेताको हत्या हुन सक्ने सूचना नेपाल सरकारलाई दिएको थियो । काठमाडौंस्थित भारतीय दुतावासले दिएको यो सूचनामा नेपाली नेताहरुको हत्यासँगै आफ्ना दूतावासका वरिष्ठ अधिकृतहरुको पनि अपहरण हुन सक्ने उल्लेख छ ।
 
२४ सेप्टेम्बर, २०१४ मा एक गोप्य तथा औपचारिक पत्र मार्फत भारतले नेपाली नेताहरु तथा भारतीय कुटनीतिक अधिकृतहरुको सुरक्षासँग सम्बन्धित अति संवेदनशिल सूचना दिएको थियो । स्रोतका अनुसार सार्कलाई नै मध्यनजर गरेर भारतले त्यस्तो सूचना दिएको हो । अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा र इन्डियन मुजाहिद्दिनबाट त्यस्तो कार्यको संभावना रहेको उल्लेख छ । विमानस्थलबाट विमान अपहरण हुन सक्ने कुरा उल्लेख समेत छ । सूचनामा आतंकवादीले विशालु ग्याँसको प्रयोगद्धारा सर्वसाधारण जनता समेत अपहरण हुन सक्ने उल्लेख छ ।
 
भारतले राजधानी र वरिपरिका केही स्थान तोकेरै तिनमा आतंकवादी बसेको हुन सक्ने सूचना पनि दिएको छ । सार्क शिखर सम्मेलन राजधानीमा सुरु हुनु अघि नै काठमाडौंमा भारतीय र पाकिस्तानी खुफिया एजेन्सीका अधिकारीहरुको नजर गहिरो बनिसकेको समेत नेपालको सुरक्षा निकायले जानकारी पाएको स्रोतको दावी छ । भारत–पाकिस्तानको आन्तरिक विवादकाबीच सार्कको १८ औं शिखर सम्मेलनका क्रममा आतंकवादविरुद्धको दस्तावेज तयार पार्ने तयारी भइरहेका बेला यी दुई मुलुकका खुफिया एजेन्सीहरुको सक्रियता पनि बढेको छ । 
भारतको इन्टेलिजेन्स व्युरो द रिसर्च एन्ड एनालाइसिस विङ्गस (रअ) प्रमुख आलोक जोशी र पाकिस्तानको इन्टर सभिर्स इन्टेलिजेन्स (आइएसआइ) प्रमुख रिजवान अख्तरले आ–आफ्नै ढंगबाट चलखेल गरिरहेको बुझिएको छ । 
भारतले पछिल्लो दिनमा अन्डरवल्र्ड डन दाउद इब्राहिमलाई पाकिस्तानले अफगानिस्तानको सीमा क्षेत्रमा लुकाएको अभियोग लगाउँदै यसमा आइएसआइको सहयोग गरेको बताउँदै आएको थियो । तर, पाकिस्तानले त्यसको प्रतिरक्षा गरिरहेको छ । यसबीचमा सार्कमा हुन लागेको दुवै देशका सरकार प्रमुखहरुको भेलामा पनि यो विषयमा चर्चा हुने र दुवै देशका सरकार प्रमुखहरुको आन्तरिक सुरक्षामा पनि चासो राख्दै जोशी भारतीय पक्षबाट लागेका छन् भने अख्तर पाकिस्तानको पक्षाबाट सुरक्षाको दृष्टिकोणका सक्रिय हुन थालेको बुझिएको छ ।
 
‘विदेशी मुलुकका सुरक्षा निकायको ध्यान काठमाडौंमा तानिनु स्वभाविक हो तर सवैको सुरक्षाको जिम्मा नेपाल सरकारको भएका कारणले यहाँ नेपाली सुरक्षाको खास चासो रहनेछ, जो जसरी आएपनि यहाँ आन्तरिक सुरक्षामा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान नै सक्रिय हुनेछ ।’, एक सुरक्षा अधिकारीले भने,‘जोशी र रिजावन जसले जसरी हेरेपनि आन्तरिक सुरक्षामा उनीहरुको हस्तक्षपकारी भुमिका हुन पाउँदैन, अन्तर्राष्ट्रिय मान्यताअनुसारै हामी चल्नेछौं ।’
 
त्यसो सर्वाधिक सुरक्षा खतरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रहेको प्रचारवाजी गर्दै रअले आफ्ना अधिकारीहरुलाई गोप्य ढंगबाट काठमाडौंमा छिराइसकेको पनि बताइएको छ । उता, पाकिस्तानका प्रधानमन्त्री नजाव सरिफको सुरक्षाको चिन्ता गरेर पाकिस्तानी सेनाले रिजवानलाई पनि नेपाल भ्रमणको विषयमा चासो दिनका लागि निर्देशन दिइसकेको बताइएको थियो । दुवै मुलुकबीच रहेको आन्तरिक सुरक्षा र प्रतिरक्षाको तयारीअनुसार दुवै देशका खुफिया एजेन्सीहरु राजधानीमा सक्रिय भएका हुन् । यो स्वभाविक पनि हो । विश्वमा पनि यी दुवै मुलुकको आन्तरिक सुरक्षाको विषयलाई लिएर गम्भिर मतभेद रहेको छ, नेपालमा पनि उनीहरुको सक्रियता होला तर त्यो प्रत्यक्ष हुन सक्तैन ।
 
वन्तलाई चिन्ता छैन
 
यसैबीच सुरक्षा संवेदनसिलतालाई मध्यनजर गरेर भएका भ्रमण समेत रद्द गरेर सार्कशिखर सम्मेलन जस्तो महत्वपूर्ण काममा सहभागी हुनु पर्नेमा सशस्त्र प्रहरी वलका आईजीपी कोषराज वन्त सार्क सम्मेलनको सुरक्षालाई धोती लगाएर अमेरिका भ्रमणमा रमाइरहेका छन् । 

नेपाल प्रहरीबाट अतिरिक्त महानिरीक्षक एआईजीले नेतृत्व गर्दै सहभागि सुरक्षा सम्बन्धि एउटा सम्मेलनमा सशस्त्र प्रहरी वलबाट भने आईजीपी र आईजीपीको ट्वाइसिमा रहेका एआईजी दुर्जकुमार राई दुई साता भन्दा लामो समयकालागी विदेश दौडिएका छन् । स्रोतका अनुसार आफू अमेरिका भ्रमणमा रहँदा ट्वाईसिमा रहेका राईले षडयन्त्रगरि आफूलाई नेतृत्वबाट हटाउन सक्ने भयले वन्तले उनलाई पनि जबरजस्ति टोलीमा सहभागी गराएर अमेरिका पु¥याएका छन ।
 
सरकारद्धारा तयारी पूरा
 
शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण काम व्यवस्थापकीय र घोषणापत्र तयारी, सरकार प्रमुखले सम्मेलनमा गर्ने सम्बोधन तथा प्रक्रियागत विषयलाई सारभूत गरी दुई पाटाबाट अघि बढाइएको बताएको छ । सम्मेलन तयारीका लागि गठित अर्थ व्यवस्थापन, सुरक्षा परिवहन तथा यातायात व्यवस्था, सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार, भौतिक पूर्वाधार व्यवस्था, सरसफाई तथा नगर सजावट समितिले आफूलाई दिइएको जिम्मेवारी कात्तिक मसान्तभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा गठित राष्ट्रिय मूल समिति, उपप्रधानमन्त्री एवम् मन्त्रिपरिषद्का सदस्यहरूको संयोजकत्वमा गठन भएका विभिन्न विषयगत समिति तथा उपसमितिले सम्मेलनलाई भव्य रूपमा सफल तुल्याउन तथा बाँकी काम सोही मितिभित्र पूरा गर्न अहोरात्र खटिरहेका स्पष्ट पारेको छ ।
 
शिखर सम्मेलन आयोजना हुने स्थान राष्ट्रिय सभागृहको सम्पूर्ण भौतिक संरचना यही कात्तिक २५ गते तयार हुने, सिंहदरबारस्थित ग्यालरी बैठकको मर्मतसम्भार अन्तिम चरणमा पुगेको, शिखर सम्मेलनमा प्रयोग हुने सवारी मार्गको मर्मतसम्भार यसै महिना सम्पन्न गर्ने लक्ष्यका साथ सम्बन्धित निकायले दिनरात तोकिएको जिम्मेवारी निर्वाह गरिरहेको  पनि वरिष्ठ सरकारी अधिकारीहरूले जनाएका छन् । सम्मेलन तयारी तथा समन्वय समितिका संयोजक एवम् परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारी प्रायः पूरा भएको र सर्वसाधारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, त्यहाँबाट विशिष्ट पाहुनालाई आवासका लागि पु¥याइने स्थान, सम्मेलन हुने सभागृहलगायत स्थानको भौतिक पूर्वाधार निर्माण समयमै पूरा नहुने आशङ्का व्यक्त गर्नु स्वाभाविक भए पनि सम्बन्धित निकायले निर्धारित समयमै कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकाले ढुक्क हुन आग्रह गरेका थिए ।
 
भारतीय प्रधानमन्त्रीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले जनकपुर पुगेर स्वागत गर्ने योजना सरकारको छ भने विमानस्थलमा उपप्रधानमन्त्रीद्वयले आवश्यकतानुसार सार्कका राष्ट्र÷सरकार प्रमुखलाई स्वागत गर्ने व्यवस्था मिलाइएको छ । सम्मेलनस्थलमा सम्माननीय प्रधानमन्त्री र आफूले राष्ट्र÷सरकार प्रमुखलाई स्वागत गर्ने र उनीहरूलाई आवासको प्रबन्ध गरिएको सोल्टी होटलमा शिक्षा मन्त्री चित्रलेखा यादव र ऊर्जामन्त्री राधादेवी ज्ञवालीले स्वागत सत्कार गर्नेछन् ।

Post a Comment

0 Comments