Subscribe Us

मोदीले हस्तान्तरण गरे लगत्तै ट्रमा सेन्टर बन्द



trama centerकाठमाडौं, ११ मंसिरः
१८ औं दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनका कारण नेपाल यतिखेर सार्कमय भइरहेको छ । सार्कमा आउने आठै देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखका कारण देशका सबै अंगहरु अहिले व्यस्त रहेका छन् । सार्कमा कतिपय गर्नैपर्ने कामहरु सरकारका लागि वाध्यता थियो ।  
यसै क्रममा भारतीय सरकारको सहयोगमा निर्माण भएको राष्ट्रिय ट्रमा सेन्टर बनेको ६ वर्षपछि बल्ल भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सार्क शिखर सम्मेलनको अवसरमा मंगलवार काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले एक कार्यक्रमकाबीच प्रधानमन्त्री शुसील कोइरालालाई हस्तान्तरण गरेका हुन् । तर दुर्भाग्य नै भन्नुपर्छ मोदीले ट्रमा सेन्टरको हस्तान्तरण गरेकै भोलिपल्टबाट सेन्टरमा कुनै काम भएको छैन । 

ट्रमा सेन्टर शुरु गरेको देखाउन सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ३०, कान्ति बाल अस्पतालबाट १०, वीर अस्पतालबाट ११ र विभिन्न जिल्लाबाट १५ जना गरी ६६ जना कर्मचारी उभ्याएको थियो । यता ट्रमा सेन्टर स्वास्थ्य मन्त्रालय कि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालको मातहत रहने भन्ने विवाद अझै कायमै रहेको बेला वीर अस्पतालले आफ्ना कर्मचारीलाई फिर्ता बोलाउन लागेको छ । ट्रमा सेन्टरको उद्घाटनमा मोदीलाई लिफ्ट चढाएर सबै विभागमा घुमाउनु त परै जाओस् एउटा हलमा लगेर सेन्टर हस्तानतरण गरेको देखाई औपचारिकता निभाउने मात्र काम भएको छ । स्रोतका अनुसार ६ वटा अप्रेसन थिएटर(ओटी) हुनुपर्ने ट्रमामा पहिलो तल्लामा मात्र एउटा अप्रेसन थिएटर छ । 

नजिकैको वीर अस्पतालबाट मगाएर युएसजी मेसिन ल्याइएको थियो । ट्रमा सेन्टरमा हालसम्म पनि सिटीस्क्यान मेसिन जडान गरिएको छैन भने एक्स्रे मेसिन पनि छैन । ट्रमा सेन्टरका प्रमुख अशोक बज्राचार्य आफ्नै नीजि अस्पताल क्यापिटमा विहान र बेलुका व्यस्त रहन्छन् भने दिउसो वीरकै हाडजोर्नी विभागमा काम गर्छन् । ‘मोदीले हस्तान्तरण गरेपछि विरामीको उपचार हुनुपर्ने हो तर, अहिले ट्रमामा ताला लगाइएको छ ।’

 वीर अस्पतालका एक चिकित्सकले बताए । गंभिर दुर्घटनाबाट घाइते भएकाहरुको इमेजेन्सी उपचार गर्न ट्रमा सेन्टरको स्थापना गरिएको हो । यसको वार्षिक सञ्चालन खर्च करिव एक अर्व लाग्ने अनुमान गरिएको छ । भारतीय सरकारले अढाइ अर्व खर्च गरेर सेन्टर निर्माण गरेको हो । हस्तान्तरण लगत्तै सरकारले आंशिक रुपमा सेवा शुरु गरिहाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिएका थिए । तर हस्तान्तरण लगत्तै सेन्टर बन्द भएको छ । वीरमा पण्डीतको वीरता  
वीर अस्पताले आफ्नो तर्फबाट सार्क सम्मेलनमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु वैठकस्थलमा खटाएको छ । सचिवस्तरीय बैठकपछि मन्त्रीस्तरिय बैठकसम्म बैठकस्थल सोल्टी होटेलमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु खटिएका छन् । २० जना चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु सार्कका लागि वीरले खटाएको छ । तर सार्कमा जाने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको कारण भने वीर अस्पतालमा तनाव सिर्जना भएको छ । 

वीर अस्पतालका निर्देशक डा स्वयंप्रकाश पण्डितले नियमित रुपमा उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीहरुलाई नपठाएर प्रसासनमा काम गर्नेहरुलाई पठाएपछि वीर अस्पतालका स्वास्थ्यकर्मीहरु आक्रोसित भएका हुन् । खरीद इकाइमा काम गर्ने अहेवस्तरका कर्मचारी टिकाराम पनेरुको डिजाइनमा पनेरुले अधिकांश प्रसासनमा काम गर्दै आएकाहरुलाई सार्कको स्वास्थ्य टोलीमा पठाएपछि आकस्मिक कक्षमा काम गर्दै आएका स्वास्थ्यकर्मीहरुले निर्देशक पण्डितलाई भेटेर आफ्नो असन्तुष्टि पोखेका हुन् ।  
आकस्मिक कक्षमा काम गर्दै आएका दिनेश जयसवाल, पाण्डव वराल, कालु सिंह, अरुण महतोलगायतका स्वास्थ्यकर्मीहरुलाई पठाइने भनिएपनि पनेरुले आफू अनुकुल निर्णय गर्दा स्वास्थ्यकर्मीहरु आक्रोसित भएका हुन् । उनीहरुले आफ्नो आक्रोस निर्देशक पण्डितसँग राख्दै आकस्मिक कक्ष वन्द गर्नेसम्मका चेतावनी दिएका थिए । तर सार्कमा पठाइएका सबैको पास समेत वनेर आएको भन्दै पण्डितले स्वास्थ्यकर्मीहरुलाई थामथुम वनाउने प्रयास गरेका थिए ।  
आकस्मिक कक्षमा आएका बिरामीलाई अस्पतालमा बेड हँुदाहुदै पनि नीजि अस्पतालमा पठाई कमिशन खाने दाग लागेका उनी वीर अस्पतालका निर्देशक डा. स्वयप्रकाश पण्डितलाई समेत गुमराहमा राखि सार्कका लागि अस्पताल वरीपरि रङ्गरोहन गर्ने काम समेत आफू निकटलाई दिन सफल भएको कर्मचारीहरुको भनाइ छ । सार्क सम्मेलनको तयारीको लागि रङगरोगन र सरसफाईको लागि साथै भिआईपि कक्ष निर्माणको लागि सरकारले तीन करोड दिएको थियो । तर टिकाराम पनेरुले निर्देशक पण्डितलाई यो आकस्मिक कार्य हो टेन्डर गर्नु पर्दैन भन्दै कोटेशनको भरमा आफू निकटलाई काम दिलाएको चर्चा छ । पनेरु आकस्मिक कक्षमा बस्दा अस्पतालको ल्याबमै हुने दिशा, पिसाव, रगत, पिटिआई, आईएनआर, एलएफटि नजिकको महाबौद्ध स्थित क्लिनिकमा पठाई मासिक रुपमा ठूलो रकम बुझ्ने गरेको आरोप उनीमाथि लागेको छ । 

अस्पतालमा आईसियु बेड खाली हुँदाहुँदै वीर अस्पतालमा बेड खाली छैन भनि सहिद मेमोरिएल अस्पताल कलंकी, लाईफ केएर सुन्धारा, भेनस बानेश्वर, महेन्द्ररनारायण निधी गौशाला पठाईप्रति विरामी पाँचहजार कमिसन बापत लिने गरेको पनि अस्पतालका कर्मचारीको आरोप छ । हाल उनी स्वास्थ्य सेवा विभागले दिएको टिसिस्कान जडान गर्ने स्थानमा सरसफाई र रङ्गरोदन मर्मतको नाउँमा आफै बजारमा गई सामान किनी कामदार लगाई दहे कमिशन खाईरहेका छन् ।

Post a Comment

0 Comments