Subscribe Us

मुठभेडको प्रस्ताव परेपछि मोर्चाका संयोजक प्रचण्ड संकटमा

काठमाडौं । बारम्बार राजनीतिक मुठभेडको कुरा गरी संविधानसभामा सत्तारुढ दलहरुलाई तर्साउने प्रयत्न गरेका प्रतिपक्षी २० दलीय मोर्चाका संयोजक एवम् एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं संकटमा फँसेका छन् ।
 
मोर्चाको वैठकमा कांग्रेस एमालेविरुद्ध प्रतिकारका लागि मोर्चाको संयन्त्र केन्द्रदेखि तलसम्म बनाउनुपर्ने प्रस्ताव लिएर प्रचण्ड उपस्थित भएका थिए । ‘संविधान आउने भएन, हामी तल पर्न हुन्न त्यसका लागि हामी प्रतिकारको घोषणा गरेर अघि बढ्नुपर्छ ।’, वैठकमा प्रच्ण्डले प्रस्ताव राखे,‘यसो गरेमात्र हामी अघि बढ्न सक्छौं । नत्र भने कुनै पनि उपाय देखिँदैन ।’
 
प्रचण्डको यस्तो प्रस्ताव आएपछि मोर्चामा रहेका साना तथा मझौला दलका नेताहरु छक्क परेका थिए । एकाएक प्रचण्डको यो प्रस्तावलाई स्वीकार गर्ने कि नगर्ने भन्ने संकटमा पनि उनीहरु परे । तर, साना ८ दलहरुले भने प्रचण्डको यो प्रस्ताव स्वीकार गर्नुभन्दा मोर्चा छाड्नु नै उपयुक्त ठानेका कारण उनको प्रस्ताव स्वीकार नगर्ने निर्णय गरेका थिए । केही दलहरु त सहभागीसम्म पनि भएनन् । 

‘मुठभेडकै कुरा प्रस्तावका रुपमा आएपछि कसरी सहभागी हुन सकिन्छ र ? एमाओवादीको प्रस्तावले संविधान बन्ने हैन झन सहमति नहुने र संविधान समयमा नबन्ने संकेत गरेपछि मोर्चामा रहनु र वैठकमा जानुको औचित्य भएन ।’, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले भने,‘यो प्रस्ताव बाहेकका अन्य कुरामा सहकार्य हुनसक्छ, प्रतिकारमा हामी जान सक्तैनौं ।’

त्यसो त प्रचण्डले बारम्बार सार्वजनिक रुपमा नै कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशिल कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया, १२ बुँदे सहमति र अघिल्ला पटक भएको सहमति नमानेको भन्दै त्यसको परिणाम नराम्रो हुने चेतावनी दिएका थिए । तर, सत्तारुढका कारणले नै मुठभेड हुन लागेको पनि बताउँदै आएका प्रचण्डले भने मुठभेडका लागि प्रस्ताव आफैंले राखेपछि मोर्चाका अन्य दलहरु अचम्मित भएका थिए ।

 ‘सहमतिको कस्तो खाका आउँछ, संविधानका लागि कसरी अघि बढ्न तयार छन्, दलहरु त्यो बुझेर मात्र अगाडीको कदम चाल्नका लागि सुझाव दिएका थियौं, तर माओवादी त्यो मान्न तयार छैन ।’, मोर्चाको एक घटकका अध्यक्षले भने,‘यहाँ बस्नुको अर्थ के हुन्छ ? हाम्रा कुरा नसुन्ने र माओवादीका जे कु पनि मान्दै जानुपर्छ भन्ने यो कुनै तरिका पनि भएन नी ।’
 
केही मधेसी दलहरु पनि प्रचण्डको यो प्रस्तावसँग सशंकित भएका छन् । उनीहरुले एमाओवादीको यस्तो प्रस्तावलाई थाप्लामा राखेर अघि बढ्न नसकिने जनाउ वैठकका क्रममा दिएका थिए । एमाओवादी नेता डा. बाबुराम भट्टराइले संविधानसभामा पेस गरेको विवादको बुँदा समेतको व्रिफिङ गरेपछि प्रचण्डले यस्तो प्रस्ताव गरेका थिए ।

 सत्तारुढ दलहरुले मतदानमा गए आफ्नो प्रस्तावलाई दुईतिहाईले पारित गर्ने र त्यसपछि मोर्चाको अस्तित्व नरहने भन्दै प्रचण्डको यो प्रस्ताव आएको थियो । मधेसी मोर्चामा समेत नरहेको मधेसी जनाधिकार फोरम नेपालले भने एमाओवादीको उक्त प्रस्तावलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने जनाइसकेको थियो ।

Post a Comment

0 Comments