Subscribe Us

बदनाम ईन्स्पेक्टर बढुवाले प्रहरीमा हंगामा

काठमाडौं । आइजीपी उपेन्द्रकान्त अर्यालले नचाहँदा नचाहँदै पनि एक बदनाम प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक(डीएसपी) बढुवा गरी फुली लगाएका छ्न् । २०७१ कात्तिक २६ गते ५२ इन्स्पेक्टरलाई डीएसपी बढुवा गर्ने क्रममा जुन स्थानमा बस्दा पनि विवादमा परेका र पटक पटक कारबाहीमा परेका कृष्णप्रसाद शर्मा उर्फ केपी शर्मा पनि परेका छन् ।

 अख्तियारकै चर्को दबाबमा भ्रष्ट र अति विवादित इन्स्पेक्टर शर्मा ५१ औंं नम्बरमा डीएसपी बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालय शासन विभाग प्रमुख एआइजीपी वीरेन्द्रबाबु श्रेष्ठ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका का.मु. सचिव प्रेम राईको जोडबलमा शर्मा जस्ता बदनाम इन्स्पेक्टर पनि डीएसपी बढुवा भएको आइजीपी सचिवालयका एक उच्च अधिकारीले बताए । ती अधिकारीका अनुसार प्रशासन विभागका एआइजी श्रेष्ठ र कामु सचिव राईले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई पनि शर्माको बढुवा गर्न अनुनय विनय गरेपछि आइजीपीले दबाब थेग्नै नसकेर यो निर्णय गरेको चर्चा प्रहरी हेडक्वार्टरमा ब्याप्त छ ।

अपराध अनुसन्धान विभागमा कार्यरत हुँदादेखि नै बदनाम र प्रहरी संगठनको छविमै कालो धब्बा लगाउने इन्स्पेक्टर शर्मालाई बढुवा गर्न एआइजी वीरेन्द्रबाबु र कामु सचिव राई लाग्नुको भित्री कारण खुलेको छ । प्रहरीभित्र अति नै विवादित पात्रका रुपमा चिनिएका इन्स्पेक्टर शर्मालाई बढुवा गर्न अख्तियारका प्रमुख आयुक्तलाई नै विवादमा पार्ने काम एआइजी श्रेष्ठ र कामु सचिव राईले गरेको कुरा आइजीपी सचिवालयमै चर्चाको विषय बनेको छ । अख्तियारबाटै दबाब आएपछि बढुवाको सूचीमा उनको नाम नभए पनि अर्का एक इन्स्पेक्टरको नाम काटी ५१ औंं नम्बरमा हालिएको प्रहरी स्रोतले बतायो ।

 शर्मा विरुद्ध प्रहरी संगठनमा दर्जनौ उजुरी परेका छन् । जसमध्ये बारास्थित इलाका प्रहरी कार्यालय सिमराको इन्चार्ज भएका बेला दर्जनौं व्यक्तिबाट घूस खाएको उजुरीको छानबिन त प्रमाणित नै भएको थियो । तर पूर्वआइजीपी रविन्द्रप्रताप शाहसँग अपराध अनुसन्धान महाशाखामा हुँदाको कनेक्सनकै कारण उनी त्यसमा पनि उन्मुक्ति पाउन सफल भएका थिए । उनीविरुद्ध त्यसपछिका आइजीपी कुवेर रानाको पालामा पनि छानबिन हुन सकेन ।

रानाले उपेन्द्रकान्त अर्याललाई नै छानबिन गर्न दिए । र, छानबिनका क्रममा शर्मा उजुरी परेका भन्दा अरु धेरै गम्भीर प्रकृतिका अवैध धन्दामा संलग्न भएको प्रमाण फेला परे पनि उनीमाथि कारबाही नै हुन सकेन । उल्टै अर्याल आइजीपी भएपछि उनकै कार्यकालमा उनी अख्तियारमा काजसरुवा भए । र, बढुवा पनि हुन सफल भएका छन् ।
प्रहरी स्रोतका अनुसार एआइजी श्रेष्ठको इन्स्पेक्टर शर्मासँग कनेक्सन उनी मध्यक्षेत्रको डीआइजी हुँदा नै घनिभूत भएको हो । श्रेष्ठले शर्मा मार्फत् मध्यक्षेत्रबाट ठूलो फाइदा लिएकाले त्यसकै गुन तिर्न सिमरा इलाका प्रहरी कार्यालयबाट कारबाहीस्वरुप पहरा गणमा तानिएका उनलाई पुरस्कृत गरी अख्तियारमा काजमा लगेर अप्रेसन टोलीमा राखेका थिए । तत्कालीन अख्तियारमा प्रहरीका तर्फबाट प्रमुख रहेका श्रेष्ठले शर्मालाई काजमा अख्तियारमा लगी हुन्डी र डलरको कारोबार हेर्न जिम्मा दिएका थिए ।

 अपराध अनुसन्धानमा घुमुवा हुँदै हुन्डी र डलरका कारोबारीहरूको संजालबारे जानकार शर्मालाई हुन्डी र डलर कारोबार हेर्न दिएपछि उनले त्यस्ता कारोबारीहरूलाई अख्तियारको हाउगुजी देखाएर असुली अभियान नै चलाएको आरोप लागेको थियो । प्र.नि. शार्मका लागि अख्तियार प्रमुखलाई समेत गुमराहमा पारी आइजीपीलाई दबाब दिएपछि एक योग्य र क्षमतावान इन्स्पेक्टर बढुवाबाट बन्चित भएका छन् । कामु सचिव राईलाई प्रशासन वृत्तमा इमान्दार मानिन्छ । गृहमन्त्रालयमा सहसचिव हुँदैदेखि इन्स्पेक्टर शर्माले कामु सचिव राईका आफन्तहरूको नाम सुराकीमा राखी उनलाई समेत प्रभावमा पारेको प्रहरी स्रोतले बतायो ।

 सचिव राईले अख्तियारले बरामद गरेको सुनमा पनि आफन्तको नाम सुराकीमा राखेको भनेर सार्वजनिक टिकाटिप्पणी हुन थालेको छ ।२०७१ मंसिर १ गते फुली लगाउने कार्यक्रममा शर्मा जस्ता विवादास्पद व्यक्ति सँगसँगै एउटै लाइनमा उभिएर फुली लगाउनुपर्दा कतिपय स्वाभिमानी डीएसपीहरूलाई नै असहज महसुस गरेका थिए । विवादमा परेकालाई बढुवा गरेपछि संगठनले इमान्दारीपूर्वक मूल्यांकन गरेर बढुवा नगरेको गुनासो छ ।

 ‘नैतिक आचरणमा प्रश्न उठेका र भ्रष्ट भनेर प्रहरी र अख्तियारले समेत छानबिन गरेका शर्मा जस्तालाई बढुवा गरेकामा इमान्दारीपूर्वक काम गर्ने योग्य र कुनै विवादमा नपरेका बढुवाका दाबेदार इन्स्पेक्टरहरूमा निराशा छाएको छ, जुन संगठनको हितमा छैन, आइजी सचिवालयका ती अधिकारीले भने ।इन्स्पेक्टर शर्माले परिचालन गरेका पाँच व्यक्तिले अख्तियारमा मुद्दा मिलाइदिने भन्दै व्यापारीसँग रकम असुली गर्दागर्दै २०७१ भदौ १७ गते दरबारमार्गको साइनो रेष्टुरेन्टबाट अख्तियारको टोलीले पक्राउ गरेको थियो । अख्तियारको टोलीले उनीहरूलाई काठमाडौंको रोयल साइनो रेस्टुराँबाट २ लाख रकमसहित नियन्त्रणमा लिएको थियो ।

उनीहरूले काठमाडौं न्यूरोडका एक व्यापारीसँग उनको व्यापारसँग सम्बन्धित समस्या मिलाइदिने भन्दै १० लाख रुपैयाँमा डिल गरेको सार्वजनिक भएको थियो । अख्तियारले पक्राउ गरेका धादिङका माधव अधिकारी, कञ्चनपुरका जीवन बम, रामेछापका रामकुमार बस्नेत, मकवानपुरका रामकुमार केसी र पर्साका राजु सुनारले इन्स्पेक्टर शर्माको शक्ति प्रयोग गरेर मुद्दा मिलाइदिने भन्दै रकम लिएको स्वीकार गरेका थिए । पक्राउ परेका उनीहरू बा ६ च ४७८५ नम्बरको निजी गाडी चढेर दरबारमार्ग पुगेका थिए ।

शर्मामाथि कतिपय व्यक्तिलाई जबर्जस्ती फसाएको तथा व्यक्तिगत रिसइबी लिन खोजेको आरोप पनि छ । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दिनेश आचार्यलाई नियतवश फसाउन खोजेको, अख्तियारको क्षेत्रबाहिर गएर कार्यालयमा थाहै नदिई हुन्डी अखडामा छापा मारेको र उनका केही साथीले अख्तियारको नाममा पैसा उठाएको पाइएपछि इन्स्पेक्टर शर्मालाई अख्तियारबाट हटाइएको र छानबिन थालेको भएपनि त्यही अख्तियारका शक्तिशालीहरूले डीएसपी बढुवा गर्न दबाब दिएको घटनालाई प्रहरी संगठनभित्र रहस्यमय रुपमा लिइएको गुनासो छ ।

Post a Comment

0 Comments