Subscribe Us

प्रमाण पुर्‍याए कारवाही भोग्छु : आइजीपी

सिलवालले आक्रोश पोखे , ‘माननीय सभासदज्यूहरुले हाम्रो मानमर्दन हुने गरी शब्द प्रयोग गर्नुभएको छ, आगामी दिनमा यस्तो नहोस्’ ।

काठमाडौं नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफू भ्रष्टाचारमा संलग्न भएको प्रमाण पुर्‍याए जस्तोसुकै कारवाही भोग्न तयार रहेको समितिको बैठकमा बताए । महानिरीक्षक अर्यालले सभासदहरुलाई हचुवाका भरमा व्यक्तिगत जीवनमा आँच आउने गरी नबोल्न आग्रह गरे ।

‘सुन सुराकीमा भुक्तानी लिने मेरो १३ पुस्ते नातेदारको नाम सप्रमाण आयो भने म जस्तोसुकै कारवाही भोग्न तयार छु’ अर्यालले भने – ‘व्यक्ति खराब हुन सक्छ तर, सभासदज्यूहरुले संगठनकै अपमान हुने गरी अभिव्यक्ति दिनुचाहिँ भएन ।’सम्मानित संसदभित्रै आफूले अपमानित भएको महशुस गरेको महानिरीक्षक अर्यालले गुनासो गरे ।

आफू महानिरीक्षक भएको एक वर्षमा प्रहरीले १ सय ८८ किलो सुन बरामत गरेको उनले सुनाए । ‘यसलाई तस्करी नियन्त्रण गर्न प्रहरी सक्रिय भयो भनेर बुझ्न सकिन्छ, तर किन त्यसरी बुझिँदैन ?’ उनले सभासदलाई प्रश्न गरे । प्रहरी प्रधान कार्यालयको सम्पर्कमा आएको खण्डमा वास्तविक सुराकीहरुको सुरक्षा गर्न प्रहरी प्रतिवद्ध भएको उनले दोहोर्‍याए ।
 

सुन बरामतसम्बन्धी मुद्दा राजस्व अनुसन्धान विभाग र भन्सार विभागमा पठाइएको उनले जानकारी दिए ।
‘सुराकी मुद्दाको विवरण प्रहरीसँग हुँदैन’ उनले भने -हालसम्म राजस्वबाट ३ वटा मुद्दाको मात्रै जवाफ प्रहरीलाई आएको छ । सुराकीको नाम अदालतले मागेमात्रै जानकारी गराउनुपर्ने व्यवस्था भएको भन्दै राजस्व र भञ्सार कार्यालयले प्रहरीलाई पनि जानकारी नदिएको अर्यालले सुनाए । सुनकाण्डका विषयमा प्रष्टीकरण दिन नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल र गृहसचिव सूर्यप्रसाद सिलवाल लेखा समितिमा उपस्थित भएका थिए ।

सुन तस्करी बढेको गृहसचिवको स्वीकारोक्ति


गृहसचिव सूर्यप्रसाद सिलवालले पछिल्लो समयमा सुन तस्करी बढेको स्वीकार गरे । ‘सुन तस्करी बढेकै हो र गृह प्रसासन नियन्त्रण गर्न सक्रिय भएको पनि हो’ उनले भने, चीनसँगको नाका क्षेत्रमा हामीले विशेष निगरानी राखेका छौं ।’प्रहरी संगठनभित्रकै व्यक्तिहरु दोषी भए उनीहरुमाथि कारवाही हुने सिलवालले बताए ।
 

तर, कहिलेकाहीँ आफ्नो नाम जोडेर सेटिङ मिलाएको समाचार प्रकाशित हुने गरेको भन्दै उनले गुनासो गरे । ‘सेटिङ कसरी मिल्छ मलाई थाहा भएन, तर म सेटिङमा संलग्न भएको समाचार आइरहेका छन्’ उनले भने ।
सभासदले मानमर्दन गरेको गुनासो सम्मानित संसदभित्रै आफूले अपमानित भएको महशुस गरेको सिलवालले बताए ।

Post a Comment

0 Comments