Subscribe Us

मुलुक मेटाउन सक्रिय यि खलपात्र

काठमाडौं । आम जनताको भावना र माग विपरीत यस वर्ष पनि सरकारले राष्ट्रिय एकता दिवस अर्थात पुस २७ लाई महत्व दिएन । जातीय पहिचान खोज्ने र राष्ट्रिय अखण्डता विरोधीले यसपटक पनि नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई अनावश्यक आरोप लगाए । 

तर, उपप्रधान तथा गृहमन्त्री बामदेग गौतमको समर्थनमा मन्त्रीपरिषद् बैठकमा पुस २७ मा राष्ट्रिय एकता दिवस मनाउने प्रस्ताव पुगेपनि र स्वयम् प्रधानमन्त्री सुशिल कोइराला सकारात्मक हुँदाहुँदै पनि उक्त प्रस्ताव पास हुन सकेन । 

यस घटनाले विखण्डनवादी तत्वहरु कति शक्तिशाली हुँदै गएका रहेछन् भन्ने पुष्टि भएको छ । राज्यले नै तामझामका साथ मनाउनुपर्ने राष्ट्रिय एकता दिवस अर्थात पृथ्वी जयन्ती नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशिल कोइराला र दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आयोजना गरेको समारोहमा उपस्थिति जनाएर आफ्नो निरीहता प्रदर्शन गरे । नेपाललाई बृटिश साम्राज्यबाट जोगाउने, बाइसे चौबीसे राज्यको एकीकरण गर्ने, नेपालाई चार जात ३६ वर्णको फूलबारी भन्ने पृथ्वीनारायण शाहको योगदानलाई जबर्जस्ती कालो पोत्ने काम भइरहेका छन् । इतिहासले पृथ्वीनारायण शाहजस्ता वीर पुरुषलाई जन्म दिएको थियो र आज हामीले ‘नेपाली हौं’ भन्न पाएका छौं । तर विदेशीका केही पृष्ठपोषक भने पृथ्वीनारायण शाहलाई अनावश्यक आरोप लगाइरहेका छन् । 

पृथ्वीनारायण शाहले अंग्रेजलाई लखेटेका थिए । अहिले तिनै अंग्रेजको(पश्चिमको) दानापानी खाएर राष्ट्रिय एकता बिथोल्ने काम भएको छ । पृथ्वीनारायण शाहले दक्षिणको छिमेकी महाचतुर छ, त्यसबाट सावधान रहनु भनेका थिए । अहिले त्यही दक्षिणी छिमेकका जासुसी एजेन्टहरु मुलुक टुक्र्याउन स्वायत्त मधेश एक प्रदेश भनेर विखण्डनकारी मतियार बनेका छन् । 

पृथ्वीनारायण शाहले घुस लिने र दिनेलाई राष्ट्रकै शत्रु भनेका थिए । अहिले नयाँ नेपालको आवरणमा आएका धन्धुकारी(एमाओवादी) नेताहरु अरबौंको राष्ट्रिय लुटमा मुछिएका छन् । पृथ्वीनारायण शाहले देशभित्रै उद्योग कलकारखाना खोल्नु, बस्तु निर्यात गर्नु, आयातमा प्रतिवन्ध लगाउनु भनेका थिए । देशको पूँजी विदेश लैजान प्रतिवन्ध लगाउनु पर्ने बताएका थिए । तर, अहिले भएका उद्योगधन्दा बन्द गराउने, बन्द हड्ताल गर्ने, भ्रष्टाचार गरेर विदेशमा पैसा थुपार्ने होडबाजी छ । यस्ता कुलंगारहरुले राष्ट्रिय एकता दिवस अर्थात पृथ्वी जयन्ती मन नपराउनु स्वभाविकै हो । 

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि गोरखाको साटो काठमाडौंलाई राजधानी बनाए । नेवारी धर्म संस्कृतिलाई पनि राजकीय सम्मान दिए । लडाईंमा पराजित भएपछि सिक्किम भागेका राई लिम्बुलाई फिर्ता बोलाए । आफ्नो प्रिय पात्रलाई काजी बनाउनुको साटो दुनियाँले पत्याएका कालु पाण्डेलाई काजी अर्थात प्रधानमन्त्री बनाए । यस घटनाबाट प्रष्ट हुन्छ ,त्यस जमानामा पृथ्वीनारायण शाहजति लोकतन्त्रवादी अरु को थियो ? अमेरिकाले जर्ज वासिङटन, फ्रान्सले नेपोलियन, चीनले सान यता सेन, भारतले महात्मा गान्धी विर्सेका छैनन् । तर नेपालको नागरिकता लिएका विदेशी खेतालाहरु पृथ्वीनारायण शाहको योगदान मेटाउन अर्थात नेपालकै पहिचान मेटाउन ज्यान फालेर लागेका छन् । पृथ्वीनारायण शाहले हिन्दू, बौद्ध र मुस्लिम धर्मावलम्वीलाई कुनै भेदभाव गरेनन् । क्रिश्चियनलाई भने उनले देश निकाला गरेका थिए । अहिले पृथ्वी जयन्ती मनाउन छाडेर क्रिश्चियन धर्मलाई मलजल गर्ने काम भएको छ । 

पृथ्वीनारायण शाहले टुक्रा–टुक्रा राज्यलाई एकीकरण गरी शक्तिशाली नेपाल राज्य बनाए । उक्त महान कार्यलाई  गोर्खा राज्यको विस्तार भनेर विखण्डनकारीहरुले परिभाषा गरिरहेका छन् । अहिले फेरि नेपालाई टुक्रा–टुक्रा बनाएर कमजोर, अस्थिर बनाउने खेल अगाडि बढेको छ । हामी सबैलाई थाह छ, खसी कि सिंगै बेचिन्छ कि टुक्रा पारेर । देशलाई सिंगै बेच्न सम्भव नभएपछि संघीयताका नाममा टुक्रा–टुक्रा पारेर विदेशीको पाउमा सुम्पन लेण्डुप दोर्जेहरु क्रान्तिका नाममा लागिपरेका छन् । देशलाई कमजोर बनाउने, राष्ट्रका पहिचान मेटाउने, राष्ट्र निर्मातालाई अवमल्यन गर्ने, धर्म संस्कृति नाश गर्ने, जातिय र क्षेत्रीय सद्भाव भड्काउने खेलमा एमाओवादी र मधेशी दलको आवरणमा ब्वाँसाहरु सक्रिय छन् । 

विदेशी भूमिमा बसेर, खुफिया एजेन्सीको दानापानी खाएर नेपालमा १० वर्षसम्म हत्या, हिंसा, अराजकता मच्चाइयो । त्यहि शक्ति शान्तिपूर्ण राजनीतिमा आएपछि नेपालको राष्ट्रियता इतिहासकै कमजोर भएको छ । उनीहरुले विदेशी सामु के–के समर्पण गेर त्यो समयक्रममा खुल्दै जानेछ । नेपाली जनताले कहिले संघियता मागे ? कहिले धर्मनिरपेक्षता मागे ? १२ बुँदे दिल्ली समझदारी अघिको वफादारी विस्तारै पटाक्षेप हुन थालेको छ । एमाओवादी र मधेशी दलको जन्म नै विदेशीको स्वार्थ पूर्तिका लागि भएको हो । सोही कारण उनीहरु नेपालको पहिचान मेटाउन लागेका छन् । समयमा संविधान बन्न नदिने, नेपालमा शान्ति, स्थिरता, विकास हुन नदिने, जातीय र क्षेत्रीय सद्भाग भड्काउने नियतले संघीयताको प्रस्ताव एमाओवादी र मधेशी दलले गरेका छन् ।

 नत्र सच्चा कम्युनिष्टले त वर्गको मुद्दा पो उठाउनु पर्ने थियो । सच्चा कम्युनिष्टले जाति, धर्म मान्दैनन्  भनिन्थ्यो, तर एमाओवादीले जाति र धर्मलाई नै आफ्नो गरिखाने भाँडो बनाएको छ । अग्रगामी र क्रान्तिकारी बनेर संघीयताका नाममा देशलाई टुक्रा–टुक्रा पार्ने र विदेशीलाई सुम्पने लेण्डुप दोर्जेहरुले पृथ्वीनारायणलाई मन नपराउनु स्वभाविकै हो । गत विहिबारको मन्त्रीपरिषद् बैठकमा पृथ्वी जयन्तीका दिन विदा दिने प्रस्तावको सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले विरोध जनाएको बुझिएको छ ।

 त्यसैगरी सभामुख सुवासचन्द्र नेम्वाङले चोर बाटोबाट धर्म निरपेक्षता संविधानमा छिराए । दौरा सुरुवाल र कालो भादगाउँले टोपी लगाउँदैमा राष्ट्रवादी भईंदैन । विरालोले बाघको छाला ओढे पनि मौकामा उसले ‘म्याउ’ गरिहाल्छ । को–को कहाँबाट परिचालित रहेछन् भन्ने पुष्टि भयो । चिनिएको चोर भन्दा नचिनिएको चोर खतरनाक हुन्छ भनिन्छ । एमाओवादी, मधेशी दल त खुलेआम बाह्य शक्तिको स्वार्थ पूर्तिमा लागेकै थिए । एकाध खेताला कांग्रेस एमालेमा पनि घुसेका छन् । 

पृथ्वीनारायणको मुख्य पहिचान नै राष्ट्रियता र एकता हो । घाम नअस्ताउने विशाल भूगोलमा फैलिएको तत्कालिन बृटिश साम्राज्यलाई रोक्नु चुनौति थिएन । अहिलेका स्वघोषित ‘गौरवशाली’ जस्ता विकाउ माल पृथ्वीनारायण थिएनन् । पृथ्वीनारायणले देशमा हत्या, हिंसा मच्चाउन विदेशीको पाउ परेनन् । आज राष्ट्रियता र एकतालाई नै किन अवरोध ठानिन्छ ? पृथ्वीनारायण जन्मेका थिए र आज नेपाल छ । हामीले नेपाली मान्न पाएका छौं । तर केही खलपात्रलाई नेपाल मन परेको छैन, छुट्टै देशका रुपमा मधेश खोजिरहेका छन् । 

पहाडलाई विगत जस्तै बाइसे चौबीसे बनाउन चाहेका छन् । यसरी देशलाई टुक्र–टुक्रा पारेपछि मुलुक कमजोर हुन्छ, मुलुक कमजोर भएपछि ‘स्वामी’ लाई टुक्र्याउन सजिलो हुन्छ भनेर दलालहरु सक्रिय भएर लागेका छन् । जातीय पहिचान, धर्म निरपेक्षता, स्वायत्त मधेश एक प्रदेश त वहानाबाजी मात्रै भएको पनि पुष्टि हुँदै गएको छ । एमाओवादी, मधेशी र जनजाति दल त्यहि उद्देश्य प्राप्तिका लागि खडा गरिएका गोटी हुन् । 

हामी यतिखेर नयाँ संविधानको महत्वपूर्ण चरणमा छौं । नयाँ संविधानमा मधेशलाई छुट्टै राज्यका रुपमा सीमांकन गर्ने धृष्टता भइरहेको छ । देश टुक्र्याउन माओवादी र मधेशी दल एउटै कित्तामा छन् । यसबाट थाहा हुन्छ, उनीहरुलाई दानापानी कहाँबाट आइरहेको छ ? पूर्व राजा ज्ञानेन्द्र शाहको दोष पृथ्वीनारायण शाह माथि थोपर्नुको कुनै अर्थ छैन । राष्ट्रियता, पहिचान, इतिहास, स्वाभिमानसँग उनीहरुको कुनै सरोकार हुँदैन । अहिले भइरहेको पनि त्यहि हो ।

Post a Comment

0 Comments