Subscribe Us

मेगा बैंकक दुई करोड ठगी गर्ने अभियुक्त सार्वजनिक,
मुख्य योजनाकार राजेन्द्र पाण्डे फरार

काठमाडौं, माघ ९ - मेगा बैंकको दुई करोड नौ लाख ९० हजार रुपैयाँ बराबरको रकम ठगी प्रकरणका अभियुक्तमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्त लमजुङ गाउँसहरका ४९ वर्षीय शम्भुबहादुर थापा, धादिङ सलाङका २४ वर्षीय प्रवीण तामाङ र प्रदीप पाण्डेलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।


घटनाका मुख्य योजनाकार मेगा बैंकका धादिङ शाखा प्रबन्धक सलाङका २६ वर्षीय राजेन्द्र पाण्डे भने फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।अभियुक्तले टुरिज्म डेभलपमेन्ट बैंकको मेगा बैंकमा रहेको खाताबाट २०७१ माघ १२ गते मेगा बैंकको नयाँ सडक शाखाबाट रु नौ लाख ९० हजार र माघ १३ गते राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाबाट दुई करोड रुपैँया चेक क्लियरिङको माध्यमबाट ठगी गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनाका मुख्य योजनाकार राजेन्द्र पाण्डेले आफ्ना दुई भाइ प्रवीण पाण्डे र प्रदीप पाण्डेलाई नक्कली निक्षेपकर्ता बनाएर खाता खोली बैंक ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीले पाण्डे दाजुभाइको काठमाडौँको गोङ्गबुस्थित कोठाबाट गत माघ ७ गते धमिराले खाएको अवस्थाको नगद रु १० लाख १५ हजार ५०० बरामद गरेको थियो ।

माघ ८ गते धादिङस्थित निजहरुको घर खोपीमा माटोले टालेको अवस्थामा तथा बारीमा गाडिएको अवस्थामा सडेगलेको अवस्थामा रहेका गन्न नसकिने नोटका बन्डलहरु फेला परेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पुष्कर कार्कीले बैंककै कर्मचारीको मिलोमतोमा बैंक ठगीको घटना पुष्टि भएको बताए । उहाँले घटनाको अनुसन्धानलाई हेर्दा बैंकभित्रका कर्मचारीले बाहिरको मान्छे प्रयोग गरेर नक्कली चेक भौचर बनाई दुरुपयोग गरी रकम लुटेको ठहरिएको उल्लेख गरे । प्रहरीले एक वर्षअघिको घटना सिसी क्यामराको दृश्यका आधारमा लामो अनुसन्धानपछि अभियुक्तलाई फन्दामा पार्न सफल भएको हो ।
 
चोरीका सामानसहित पक्राउ

प्रहरीले विदेशी नागरिकको सामान चोरी गर्ने दुईजना अभियुक्तलाई विभिन्न मितिमा पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । रामेछाप दोरम्बा घर भएका ३० वर्षीय वीरे भनिने अर्जुन मगर र सर्लाही ब्रह्मपुरी बस्ने सञ्जय रामलाई सामानसहित पक्राउ गरेको हो । 

अभियुक्तमध्ये अर्जुनले बालुवाटारस्थित ड्रिम अफ माउन्टेन कोरिएन ल्याङ्ग्वेज सेन्टरका सहायक प्राध्यापक कोरियाली नागरिक च्याङ्ग यो क्वङ्गोको कोठाबाट गत मङसिर १७ गते ल्यापटप दुई, आइफोन एक, डिजिडल डिक्सनरी एक, हार्डडिस्क एक थान, नगद रु एक लाख र अमेरिकी डलर दुई हजार चोरी गरेका थिए । उक्त सामान सञ्जयलाई बिक्री गरेको खुलेपछि सर्लाही प्रहरीको सहयोगमा उनलाई पक्राउ गरिएको हो ।रासस

Post a Comment

0 Comments