Subscribe Us

घाँस होइन, बाँस देखाएर ‘कालकुट विष’

काठमाडौं । यही साता संविधानसभाको कार्यव्यवस्था वैठकपछि राजनीतिक फरक मोडमा पुग्यो । अघिल्लो संविधानसभामा आफ्नो निस्क्रिय भुमिका कारण केही पनि गर्न नसकेका संविधानसभाध्यक्ष सुवास नेम्वाङले नेताहरुलाई अगाडी राखेर कि सहमति गरेर संविधान बनाउन लागि पर होइन भने आफैं मस्यौदा ल्याउँछु भनेपछि राजनीति फरक मोडमा पुगेको थियो ।

 तर, नेम्वाङले कसको बलमा यसो भने ? के उनी साच्चै गम्भिर भएका हुन् की संविधान ल्याउनका लागि उनलाई पनि कसैको दबाब छ भन्ने कुराको चौतर्फी  चासो र चर्चा चलिरहेको छ । 

कुरो त्यसो होइन । नेम्वाङपनि बल नपाई बुई चढ्ने मान्छे कहाँ हुन् र? उनले अघिल्लो संविधानसभा विघटनको दोष आफ्नो टाउकोमा आएपछि यसपटक आफु अघि सर्न खोजेका होइनन्, उनलाई अघि सारिएको हो । एमाले, कांग्रेस र एमाओवादीका बहुमत युवा सभासदहरुले उनलाई अघि बढाएका हुन् । प्रायः युवा सभासदहरु संविधान ल्याउने पक्षमा उभिएर दबाब दिएपनि नेम्वाङ पनि टाउको गनेर बुई चढी कडा अभिव्यक्तिमा उत्रिएका थिए । कार्यव्यवस्था वैठकमा मस्यौदा ल्याउँछु बरु कालकुट विष पनि मै पिउँछु भन्नुको काइदा संविधानसभाभित्रका युवाजति सवैको सहानुभुती र बलचाँही नेम्वाङलाई भएकै कारण हो । 

‘हामीले भनेका छौं, समयमा संविधान नआए यसपटक पनि जनताको हार हुन्छ, नेताको क्लवको पछि लागेर तपाई नविग्रनुस्, भनेको मान्नुस, अघि बढ्नुस हामी छौं ।’, एमालेका एक युवा सभासदले भने,‘त्यसपछि उहाँ अघि बढ्नुभएको हो ।’त्यसो त नेम्वाङको उक्त कदमको संस्थागत रुपमा पार्टीहरुले जे स्टेटमेन्ट जारी गरेपनि प्रधानमन्त्री सुशिल कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि मौन समर्थन गरेका छन् । उक्त भनाईको विरोध कांग्रेसमा महामन्त्री कृष्ण सिटौला र एमाओवादीका नेताहरुले मात्र गरेका छन् ।

 एमालेमा माधवकुमार नेपाल पनि नेम्वाङको भनाईसँग सन्तुष्ट थिएनन् । यद्यपि, जहाँ जे भएपनि नेम्वाङको उक्त ड्यासिङ स्टेटमेन्टका कारण राजनीतिक दलहरुलाई छलफलमा जुट्नका लागि प्रेसरचाँही परेको थियो । ‘हामीले फेरिपनि भनेका छौं, दायाँ बायाँ कुरा आए अघि बढ्ने हो, मस्यौदा ल्याउनका लागि हामी सहयोग गर्छौ, अहिले पनि संविधान बनेन भने कहिले पनि बन्दैन, जनताले श्राप दिन्छन्, मुख देखाउन लायक भइँदैन ।’, स्रोतले भन्यो,‘उहाँले सहमति नभए आफैं अघि बढ्छु भन्नुभएको छ ।’
 
अन्ततः संविधानसभामा दौडेर संविधान बनाउने काम नेताहरुकै हो, सहमति गर्न चुके भने त्यसको लगाम बोकेर बसेका सारथीले रथको पांग्रा तान्ने होइन, घोडालाई चुट्ने कामचाँही मज्जाले गर्छन् । नेम्वाङले यस पटक भने घोडालाई घाँस होइन, बाँस देखाएर तर्साएका थिए । त्यो हतियारका रुपमा नेम्वाङले नेताहरुलाई भनेका थिए– मस्यौदा बनाउने जिम्मा दिनुहोस्, आइपरेको समस्या झेल्छु, कालकुट विष पिएरै बस्छु, संविधान समयमा बनाऔं ।

Post a Comment

0 Comments