Subscribe Us

नेपालका चन्दन तस्कर भारतमा सक्रिय, चन्दन तस्करका बादशाहा नारायण पौडेल

काठमाडौं । वहुचर्चित तथा बहुमुल्य बनपैदावर रक्तचन्दन अहिले पनि पुरानै तस्करहरुको समूहले धमाधम तस्करी गरिरहेको खुलासा भएको छ । बहुमुल्य बनपैदाबर रक्तचन्दन तस्करीलाई निरुत्साहित पार्न नेपाल सरकारले कडा नीति अख्तियार गरेपछि तस्करहरुले अन्तर्राष्ट्रिय रुटको खोजी गर्न थालेका थिए । स्रोत भन्छ,‘रक्तचन्दन तस्करीका जतिपनि पुराना हस्तीहस्ती तस्करहरु थिए, अहिले पनि उनीहरुले नै भारतमै बसेर तस्करी गरिरहेका छन् । तर, तस्करीको रुट मात्रै फेरिएको छ ।’

 स्रोतका अनुसार रक्तचन्दन तस्करीमा नाम चलेको हस्ती तस्करहरुको समूहले भारतमै बसेर निर्वाध रुपमा तस्करी गरिरहेका छन् । नेपालमा एलसी काण्डमा मुछिएपछि चरम विवादमा परेका नारायण पौडेलको समूहले अहिले भारतबाट नै रक्तचन्दन चीन तस्करी गरिरहेको छ । तस्करहरुले भारतबाट सिधै बङलादेशको स्थलमार्ग हुँदै रक्तचन्दन चीन पु¥याउने गरेका छन् भने कहिले भुटानलाई समेत ट्रान्जिट बनाएर चीनसम्म रक्तचन्दन तस्करी हुने गरेको छ । यसअघि सामुन्द्रिक मार्गबाट रक्तचन्दन सिपको प्रयोग गरेर मेलेसिया हुँदै चीनसम्म पुग्ने गरेको समेत समाचार सार्वजनिक भएको थियो ।

 सामुन्द्रिक मार्ग महंगो बनेपछि तस्करहरुले नयाँ रुटको खोजी गरेका हुन् । नेपाल सरकारले साईटिसको महासन्धीमा हस्ताक्षर गरेका कारण रक्तचन्दनको किनबेच र ओसारपसारमा बन्देज लगाइएको छ । लोपउन्मुख बनपैदावरमा पर्ने कारण नेपालमा रक्तचन्दनको तस्करीलाई अबैध मानिएको हो । विगतमा रक्तचन्दन तस्करीमा नेपालका नामुद भ्रष्ट नेतादेखि आफूलाई सादु सन्त नेता दावी गर्नेहरुको समेत संलग्नता हुने गरेको थियो । रक्तचन्दन तस्करीबाट रातारात अर्बपति बन्ने सपना बुनेका राजधानीका कुख्यात प्रायजसो डनहरुले रक्तचन्दनको तस्करी गर्नेहरुसँग कमिशन मात्र बुझेनन्, स्वयम् आफैले लगानी समेत गरेर तस्करी गरेका थिए । विगतमा सिन्धुपाल्चोकका एमाओवादी निकट सभासद्हरुले नै तस्करी गर्ने गरेको समेत खुलासा भएको थियो ।

तस्करीका विधिः 
 बहुमुल्य जडिबुटी रक्तचन्दन नेपालमा खासै चर्चा नचल्दा धुप बनाउने काठको रुपमा नेपालबाट चीन तस्करी हुने गथ्र्यो । जब चर्चा पायो र अबैध भएको विभिन्न सञ्चारमाध्यामबाट सार्वजनिक भयो, त्यसपछि यसको मुल्य तीस रुपैयाँ प्रति केजीबाट आकाशिएर बाह्र हजार रुपैयाँसम्म पुग्यो । प्रहरीले निगरानी गर्न थालेपछि तस्करहरुले नेपालबाट रक्तचन्दन चीनसम्म पु¥याउन के–के मात्र गरेनन् । तस्करहरुले कहिले फर्निचरका रुपमा, कहिले तेलको ट्ंयाङकरभित्र राखेर, कहिले चामलका बोराभित्र त, कहिले कारको डिकीमा राखेर समेत तस्करी गरे । 

तस्करहरुले रक्तचन्दन तस्करीका लागि मोटरसाईकल, एम्बुलेन्स, विदेशी कूटनीतिज्ञले चढ्ने सवारी साधन, रिमोट कन्ट्रोलबाट नम्बर प्लेट परिवर्तन हुने अटोमेटिक गाडी, बसका डिकी, मालबहाक ट्रक, हेलिकप्टर केही बाँकी राखेनन् । रुपरेखा नै परिवर्तनः रक्तचन्दन तस्करी जसरी जुन विधि अपनाएर गर्दा पनि सजिलै प्रहरीकहाँ सूचना पुग्ने र सामान पक्राउ पर्न थालेपछि पछिल्ला केही बर्ष तस्करहरुले सामानको रुपरेखामा नै परिवर्तन गरेर तस्करी गरे । 
जसअनुसार रक्तचन्दनलाई कहिले गोलिया बनाए, कहिले टुक्राटुक्रा पारे त, कहिले विभिन्न फर्निचरका रुपरेखामा रंग लगाएर तस्करी गरियो । तस्करहरुले मालबहाक ट्रकको वरिपरि राखिने काठसमेत पुरै रक्तचन्दन बनाएर सिमाना पारी पु¥याए । रक्तचन्दन कहिले धुलोका रुपमा तस्करी हुन थाल्यो भने कहिले मालाका रुपमा । हुँदाहुँदा तस्करहरुले रक्तचन्दन प्रशोधन गरेर तेलको रुपमा समेत चीनसम्म तस्करी गरिरहेका छन् ।
तस्करीको अन्तर्राष्ट्रिय रुटः तस्करी जसरी गर्दा पनि नेपालमा सूचना चुहिने भएपछि तस्करहरुले अहिले तस्करीको रुट नै परिवर्तन गरेका हुन् । तस्करहरुले विशेषगरी तस्करी गर्न प्रयोग गर्ने अरनिको राजमार्गमा प्रहरीले लगातार पक्राउ गर्न थालेपछि उनीहरुले रुट नै परिवर्तन गरेका हुन् । अरनिको राजमार्ग असुरक्षित बनेपछि तस्करहरुले कहिले रसुवालाई तस्करीको मुख्य नाका बनाए । 

त्यसैगरी, मनाङ मुस्ताङलाई पनि तस्करी गर्ने नाका बनाइयो । नेपालको राजमार्ग र भएजतिका चोरबाटोबाट हुने तस्करीको सूचना सरकारका विभिन्न सुरक्षा निकायले थाहा पाउन थालेपछि नेपाल ट्रान्जिट रुटलाई तस्करहरुले  परिवर्तन गरेर छिमेकी मुलुकबाट नै तस्करी गर्न थालेपछि रक्तचन्दनको तस्करी ट्रान्जिट फेरिएको हो ।

Post a Comment

0 Comments