Subscribe Us

पिके र केपीको सत्ता दौड

काठमाडौं । राजकुमार हिरानीको फिल्म पिके आएपछि अहिले नेपाली राजनीतिमा पनि दुई ठूला ठालुहरुको चर्चा व्यापक हुन थालेको छ । नेपाली राजनीतिका पिके र केपी को । पिके अर्थात् पुष्पकमल दाहाल प्रचण्ड र केपी खड्गप्रसाद ओलीको । 

एकले अर्कालाई सत्तोश्राप गरेर दुईतिर फर्किएका यी पिके र केपीको मन कहिलेपनि मिलेको छैन । संस्थागत रुपमा नै एकअर्काका विरोधी यी दुई भने अहिले एउटै ठाउँमा सहमतिको रटान भन्दै बसेका छन् । दुवैको दाउ सत्ता र महत्वकांक्षा । 

पिकेलाई पनि शक्ति नभई नहुने, केपी पनि शक्तिमा नआई नछाड्ने । दुवैको ताक पाए राष्ट्रपति नत्र प्रधानमन्त्री । तर, ठूलो दल कांग्रेसलाई चाँही के नि ? जे भएपनि अहिले प्रमुख चार दलको वैठकमा राष्ट्रिय सरकारको कुरा र त्यसपछिको शासकीय स्वरुपमा विषयमा कुरा भइरहेको छ । कुरो आधा मिलेको छ, आधा मिल्न बाँकी छ । यो संविधानसभाले संविधान जारी गरेपछि के गर्ने ? बहुमतले पेल्ने कि मिलिजुली सत्तामा बसेर लुट्ने ? भन्ने कुरामा पिके र केपीको लडाई हो । 

उच्च स्रोतहरुका अनुसार पिके राष्ट्रपतिको ताकमा छन् । शक्तिशाली राष्ट्रपतिको ताकमा छन् भने केपी शक्तिशाली प्रधानमन्त्रीको ताकमा छन् । तर, ती सवै चुनावपछिका कुरा हुन् । अहिले संविधान जारी गरेपछि भने केपी एक पटक भएपनि प्रधानमन्त्री बन्ने इच्छामा छन् । नहुनु पनि कसरी कांग्रेससँग भएको सहमतिअनुसार संविधान जारी भएपछिको सत्ता नेतृत्व एमालेलाई दिने भन्ने नै हो, तर कांग्रेस मौन बसिदिनाले अहिले उनी समस्यामा परेका हुन् । त्यहि पनि भएको सहमतिलाई छाड्नेवाला को छ र ? केपीको उत्तर सहज छ । 

उता, पिकेले उचालेपछि सुशिल कोइरालापनि केही दिन उचालिएछन् । सहमति भनेका त्यस्तै हो, हामीसँग गरेको पनि पुरा गर्नुभएन । दुनियाँमा पहिलो र दोस्रो दलको सत्ता कहिँपनि छैन । संविधान बनेन भने सत्ताको नेतृत्व केपीलाई दिनु पनि पर्दैन, त्यसपछि कांग्रेस एमाओवादी मिलेर सरकार चलाउँला भनेर पिकेले पासो पनि फँयाकेछन् । 

त्यसकारण केही दिन मौन बसेर कोइराला संविधानका मात्र कुरा गर्थे तर सुवास नेम्वाङको चाबी खुलेपछि अहिले राजनीतिक फरक मोडमा पुग्यो । कताको सत्ता, कताको संविधान भन्नेतिर कांग्रेस लागेको छ । ‘कृष्ण सिटौलाको विरोध पनि त्यसै आएको होइन, माओवादीसँग मिलेर सत्ता चलाउने र उपप्रधान र गृहमन्त्री हुने दाउमा छ उ । यो राम्रो होइन, एमालेलाई धोका हुन्छ ।’, स्रोतले भन्यो,‘सहमति भएन भने पक्का एमाले सत्ताबाहिर जाने र एमाओवादी नेतृत्वमा आउँदा कांग्रेसको समर्थन हुने पुरानै खेल हुन्छ, त्यो राम्रो हुँदैन ।’ जता जता सत्ता उता उता सहमति भनेजस्तो अहिले दलहरुको चरित्र फेरि उही भएको छ ।

Post a Comment

0 Comments