Subscribe Us

यी सुन तस्करहरु किन पक्राउ पर्दैनन् ?

काठमाडौं । नेपाली बजारमा मागभन्दा निकै न्यून परिमाणमा वैद्य सुन भित्रिरहेको छ । यही मौकाको फाइदा उठाउँदै सुन तस्करहरुले स्थल र हवाइमार्गबाट कारोबार तीब्र पारेका छन् । नेपाल भित्रिएको सुन भारतमा समेत तस्करी गर्न गिरोह सक्रिय छ । यस्तो तस्करीमा सुन कारोबारीको वैद्य आवरणमा रहेकाकै संलग्नता खुल्ने गरे पनि हालसम्म उनीहरु पक्राउ परेका छैनन् । पवन घरानिया, मोहन घरानिया तथा आरके ज्वेलर्सका राजेन्द्र शाक्यले पनि सुन तस्करीमा लगानी गर्दै आएका छन् । 

दरबारमार्गस्थित इबिसु ज्वेलर्स, मुरारीलाल गोयल, पवन अग्रवाल, विशालबजारस्थित सिल्भर क्विनका सञ्चालक बालकृष्ण अग्रवाल र वीरगञ्जका प्रभु सर्राफ सुन तस्करीका मुख्य कारोबारी रहेको खुलिसकेको छ । तर प्रहरीले यिनीहरुको क्रियाकलापमाथि कहिल्यै पनि शंकाको दृष्टिले हेर्दैन । केही वर्ष अघि दुबईबाट सुन ल्याउन विदेशी मुद्रा बोकेर विमानस्थलको सुरक्षा घेरा कटाएपछि भारतीय नागरिक विनोदकुमार सोनी पक्राउ परे । घटनाले तस्करीमा प्रहरीको संलग्नता रहेको पुष्टि ग¥यो । 

सुन तस्करलाई सघाउन एसएसपी रविराज श्रेष्ठले नै विमानस्थलका तल्लो तहका प्रहरी कर्मचारी खटाएको खुलेपछि उनको जागिर नै गयो । त्यसबेला नेपालबाट विदेशी मुद्रा तस्करी गराएको र त्यही मुद्राले दुबईबाट सुन किनेर ल्याई भन्सार छलेर विमानस्थलबाट बाहिर निकाल्ने गरेको समेत खुलेको थियो । सुन तस्करीका बादशाह मानिने दीपक मल्होत्राले नै एसएसपी रविराज श्रेष्ठलाई विमानस्थलमा सरुवा गराएको घटनाले तस्करहरु कति शक्तिशाली छन् भन्ने त्यतिबेलै खुलेको थियो । तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहले दिल्लीदेखि, दुबई, हङकङ र खासासम्म कारोबारको सेटिङ हुन्डीमार्फत मिलाउँदै आएका छन् । हङकङमा रहेका जेएन ज्ञवाली हुन्डीका नाइके हुन् । उनले सुन तस्करीसम्बन्धी कारोबारको नेपालमा सेटिङ मिलाउँदै आएका छन् । 

प्रहरीले केही महिना अघि बौद्धबाट बरामद गरेको १७ किलो सुन पनि मल्होत्राकै सेटिङमा आएको खुलेको थियो । प्रहरी प्रधान कार्यालयले गठन गरेको अनुसन्धान समितिले मुद्रा र सुन तस्करीमा दरबारमार्गस्थित इबिसु ज्वेलर्सका सञ्चालक मीनबहादुर गुरुङ, पशुपति जमलिया कन्याप्रसाद गुरुङ, गोपाल कुकरा, घनश्याम कुकरा, राधाकृष्ण कुकरा, कृष्णप्रसाद खड्का र सुमन अग्रवाल, पवन अग्रवाल, विमल पोद्धार, सत्यनारायण कुकरा र राजेश अग्रवालको संलग्नता खुलाएको थियो । अनुसन्धानबाट उनीहरु महाबौद्ध र न्युरोड क्षेत्रमार्फत कारोबार गर्ने गरेको खुलेको थियो । इबिसु ज्वेलर्समा मल्होत्राकै लगानी रहेको समेत खुलिसकेको छ । प्रत्येक पटक सामसुङ कम्पनीको नयाँ मोवाइल लन्च भएपछि सेटिङका प्रहरीको हातहातमा मोवाईल पु¥याएर गैरकानुनी धन्दा गर्दै आएका मल्होत्रा नै सुन तस्करीको बादशाह रहेको प्रहरी अधिकारीहरु बताउँछन् । 

यसैबीच महानगरिय प्रहरी अपराध महाशाखाले पहिलो पटक अवैध सुन चाँदी भित्र्याउने पसले अर्थात मालिकलाई पक्राउ गरी कारबाही प्रक्रियाको थालनी गरेको छ । अबैध सुन चाँदी तथा ठूलो परिमाणमा विदेशी मुद्रासहित सुनचाँदी व्यवसायमा संलग्न रहेका पाँच जना व्यक्तिहरु पक्राउ परेपछि प्रहरी कार्य सह्राहनीय मानिएको छ । यद्यपी प्रहरीकै संरक्षणमा न्यूरोड र दरबारमार्गका दर्जनौं सुन व्यापारी अबैध कारोबार गरिरहेका छन् ।
महाशाखाका अनुसार भारत महाराष्ट्र जिल्ला साङ्ली आटपाडी थाना स्थायी घर भई हाल कामनपा–२२ न्युरोड टेबहालमा बालाजी एण्ड सन्स पसल सञ्चालन गर्ने सञ्चालक वर्षी ४८ को बालु जगन्नाथ धाङ, कास्की पोखरा उमनपा–१ स्थायी घर भई हाल कामनपा–२२ न्युरोडमा युनाइटेड गोल्डका बचतका सञ्चालक वर्षी ५३ को आकाश कुमार वज्राचार्य, भारत दार्जलिङ जिल्ला दार्जलिङ थाना स्थायी घर भई हाल कामनपा–६ बौद्धमा मामन स्टोर्स पसलका सञ्चालक वर्षी ५२ को नरेश अग्रवाल, जिल्ला भक्तपुर दधिकोट गाविस–४ स्थायी घर भई हाल कामनपा–२८ बाङगेमुढा नगलस्थित संगम ज्वेलर्सका सञ्चालक वर्षी ३८ को रमेश खड्का, जिल्ला मोरङ हसन्दह गाविस–७ स्थायी घर भई हाल कामनपा–७ बस्ने वर्षी ३९ को शिवराज श्रेष्ठ पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार महानगरीय अपराध महाशाखाबाट विभिन्न समयमा गैरकानुनी रुपले भन्सार छली चोरीपैठारी गरी सुनचाँदीकोे अवैध कारोबारको सम्बन्धमा गरिएको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले निगरानी गर्दा उक्त सूचनाहरु भरपर्दो देखिएकाले तत्काल राजस्व अनुसन्धान विभागमा जानकारी गराई माघ २१ गतेदेखि २३ गतेसम्म महाशाखाबाट चेकजाँचको लागि प्रहरी अधिकृतसहितको चारवटा टोली खटाई परिचालन गरिएको थियो । 

प्रहरीले राजश्वमा सुराकीको नाम पठाउन खोज्दा स्रोत नखुलेको कारोबार भन्दै राजश्वले सम्पत्ति सुद्दिकरण विभाग पठाएको राजश्व स्रोतले बतायो । प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तहरुबाट शंकास्पद अवस्थाको ठूलो परिमाणमा काँचो सुन पाँच किलो दुई सय ३५ दशमलव ८४ ग्राम, काँचो चाँदी ५६ किलो एक सय ७१ ग्राम, नेपाली चार करोड ७५ लाख ६२ हजार दुई सय ३० रुपैयाँ, भारतीय मुद्रा एक लाख ९९ हजार चार सय र ४६ सय चाइनिज युयानसहित उनीहरुलाई पक्राउ गरिएको हो । 

दशीसहित दाखिला हुन आएका पसल सञ्चालकहरु तथा व्यक्तिलाई बरामद भई आएको सुनचाँदी, विदेशी मुद्राको सम्बन्धमा थप अनुसन्धान एवं कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, पुल्चोक ललितपुर तथा बरामद भई आएको ठूलो परिमाणको नेपाली रुपैयाँको सम्बन्धमा निजहरुले बरामद भएको रकमको स्रोत खुलाउन नसकेकोले थप अनुसन्धान एवं कारबाहीको लागि शुद्धीकरण विभाग पठाइएको छ । 

प्रहरीका अनुसार न्यूरोड टेबहालस्थित बालाजी एण्ड सन्स पसलबाट बरामद भएका सामानहरु सुन दुई किलो एक सय ७६ दशमलव ८४ ग्राम, चाँदी जम्मा १५ किलो आठ सय ४० ग्राम, नेपाली रुपैयाँ तीन करोड २२ लाख, विदेशी मुद्रा भारु ४० हजार रुपैया“ बरामद भएको छ । यसैगरी युनाइटेड गोल्डमार्टको बचत अफिस कोठाबाट तीन केजी ५९ ग्राम सुन, पाँच किलो चार सय ६१ ग्राम चाँदी र ३० लाख नेपाली रुपैयाँ बरामद भएको छ । काठमाडौंको बौद्धस्थित मामन स्टोर्स पसलबाट भने नेपाली रुपैयाँ २८ लाख ७६ हजार पाँच सय, भारतीय मुद्रा एक लाख ५९ हजार चार सय र चाइनीज मुद्रा युयान ४६ सय बरामद भएको छ । त्यसैगरी काठमाडौंको बाङगेमुढा नगलस्थित संगम ज्वेलर्स पसलबाट नेपाली रुपैयाँ ८१ लाख ५५ हजार सात सय ३० रुपैयाँ, ३५ किलो आठ सय ७० ग्राम चाँदी, विभिन्न बैंकहरुको चेकबुक १७ थान र विभिन्न वित्तीय संस्थाहरुको १४ थान पासबुक बरामद गरिएको प्रहरीले जनाएको छ । यसबाहेक शिवराज श्रेष्ठको साथबाट शंकास्पद अवस्थामा रहेको स्रोत नखुलेको १२ लाख ३० हजार रुपैयाँ बरामद गरिएको छ ।

Post a Comment

0 Comments