Subscribe Us

आकाशवाणीले सभासद बनेका ल्यारक्यालको प्रचण्ड सुधार्ने कत्रो दम्भ ?

काठमाडौं । केही समय अघि इटहरी पुगेर आकाशवाणीले आफुलाई प्रधानमन्त्रीबाट हटाएको स्मरण र आकाशवाणीले नै एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने तयारी गरेको भविष्यवाणी गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं आकाशवाणीका ‘स्वीच’ बनेपछि पार्टीभित्र उनी विवादीत छन् । 

नेता डा. बाबुराम भट्टराईको इन्ट्रेस्टमा सभासदका विवादीत ल्यारक्याल लामा नियुक्तिका लागि प्रचण्डले सिफारिस पठाए र अनुमोदन पनि भयो । यति विवादीत मान्छेका नामले केही तरंग त ल्याएकै थियो, एमाओवादीभित्र विद्रोहको अवस्था पनि ल्यायो । 

बाबुराम खेमाका मानिने प्रभु साहले त पत्रकार सम्मेलन गरेरै गरिव र उत्पीडित मधेसी दलित कोटामा ‘मालदार’ विवादीत मान्छे ल्याएको भनेर विरोध जनाए । बाबुरामका खास मानिने प्रभु साहले नै विरोध गरेपछि एमाओवादीभित्र अरुको पनि विरोध रह्यो । तर, यति विरोध हुँदाहुँदै पनि बाबुरामले किन ल्यारक्याल नियुक्तिलाई वैधानिक पाए ? उनले ट्वीटमा कांग्रेस एमालेलाई गाली गरेर चोखिने प्रयत्न गरेका किन भन्ने उत्तर धेरैले मागे । उच्च स्रोतका अनुसार प्रचण्डले भन्न खोजेको आकाशवाणीचाँही भारत हो । र, भारतीय संस्थापनको ठाडो निर्देशनमा ल्यारक्याल नियुक्त भए । त्यसकारण त विग्रिएको माओवादी सुधार्छु भन्नेसम्मको अभिव्यक्ति दिने हिम्मत उनले बनाए त । 

अहिले सरकार र सत्तारुढहरुलाई भारतको समर्थन छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सहमति गर्नु भनी नेपालमा भाषण नै गरेपछि एमाओवादी मख्ख परेको थियो । तर, ल्यारक्याललाई नियुक्त गर्नका लागि ठाडो आदेश आएपछि एमाओवादीलाई नै विभाजित हुने अवस्थामा भारतले पुराइदियो । यो कुरा एमाओवादीका नेताहरुलाई पनि थाहा थियो । यद्यपि, उनीहरुले आकाशवाणीको कुरा काट्न सकेनन् । अहिले ३० दलीय मोर्चाको आन्दोलनकारी शक्तिहरुमा पनि ल्यारक्याल प्रकरणका कारण एमाओवादीलाई जवाफ दिन कठिन भइरहेको छ । त्यसैले प्रचण्ड आन्दोलन असफल हुने हो की भन्ने डरमा पनि छन् र उनी सहमतितिर उन्मुख भएका छन् । यद्यपि,सहमति गर्ने कि आन्दोलनमा जाने भन्नेकुरामा एमाओवादीभित्र विवाद चर्किरहेको छ । 

प्रधानमन्त्री सुशिल कोइराला र एमाले अध्यक्ष केपी ओलीसँग अनौपचारिक वार्तामा सहभागी भएका प्रचण्डले आन्दोलन रोक्नका लागि सहमति नै आवश्यक भएको अभिव्यक्ति दिइरहेका छन् भने भट्टराई भने आन्दोलनको पक्षमा उभिएका छन् । उनीहरु दुवैबीचको मतान्तरका कारण ३० दलीय मोर्चाका रहेका संविधानसभामा रहेका १९ दल र बाहिर रहेका ११ दलका नेताकार्यकर्ताहरु पनि अन्यौलमा परेका छन् । उच्च स्रोतका अनुसार अहिले एमाओवादीको कार्यक्रम कसरी बढाउने भन्ने सन्दर्भमा प्रचण्ड र बाबुरामबीच नै विवाद छ । 

मध्यमार्गी नेताका रुपमा उभिएका नारायणकाजी श्रेष्ठ पनि आन्दोलनको विपक्षमा मात्र नभएर एमाओवादी चलाउँछु भन्ने ल्यारक्याल नियुक्तिको विरोधमा पनि उभिएका छन् । उनले त केन्द्रिय समितिको वैठकमा नोट अफ डिसेन्ट पनि लेखेका थिए । तर, बाबुरामका करका कारण ल्यारक्याल नियुक्ति गरिएको स्रोतहरु दाबी गर्छन् । जसरी ल्यारक्याल नियुक्ति भएपनि एमाओवादी पूर्ण रुपमा आकाशवाणीकै नियन्त्रणमा रहेको प्रष्ट भएको नेताहरुले नै बताइरहेका छन् ।

Post a Comment

0 Comments