Subscribe Us

मानवतस्कर ल्यारक्याल लामा एमाओवादीको सिफारिसमा सभासद

न्युयोर्कबाट विशेष रिपोर्ट

किशोर पन्थी

काठमाडौँ, २६ माघ । नक्कली राहदानी बनाउनेदेखि अन्य फर्जी काम गर्नमा माहिर विवास्पद छविका ल्यारक्याल लामा एमाओवादीको सिफारिसमा सभासद भएका छन्। गत संविधानसभा निर्वाचनमा एमाओवादीका तर्फबाट समानुपातिकतर्फका सभासद शम्भु पासवान हजारी राष्ट्रिय दलित आयोगको सदस्य रहेकै अवस्थामा राजीनामा स्विकृत नगराई समानुपातिकतर्फ बन्द सूचीमा नाम समावेश गरेको भन्दै सर्वोच्च अदालतले कात्तिक ५ गते पासवानको सभासद पद खारेज गरेको थियो। पासवानको सभासद पद खारेज भएपछि रिक्त पदमा एमाओवादीको सिफारिसमा ल्यारक्याल लामालाई ल्याइएको हो ।

झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्रीसमेत बनेका लामाले पछि मन्त्रीबाट राजिनामा दिएका थिए। त्यसपछि उनी एमाओवादीमा प्रवेश गरेका थिए। ल्यारकाल लामाले भारतीय पासपोर्ट र तिब्बती शरणार्थीको परिचय पत्र बनाएका खबर त पहिलेदेखि आएकै हुन् । तर उनले नेपालबाट अमेरिकामा गरेको मानवतस्करीको रामकहानी हजार जिब्रा भएका शेषनागले पनि बयान गर्न नसक्लान् । धार्मिक भेषमा उनले नेपालबाट अमेरिकामा कसरी मानवतस्करी गरे भन्नेबारेमा सुरु गरियो विशेष खोज । अनि खुले यस्ता रहस्यहरु ।

कसैले महादेव भन्लान्, कसैले शिवजी भन्लान्, कसैले भोलेनाथ भन्लान् जस्ले जे नामले पुकारेपनि उनी हिन्दुहरुका देवता र पार्वतीका पति हुन् । ठ्याक्कै त्यस्तै कसैले सभासद् ल्यारक्याल लामा भन्लान् , कसैले वाङचुक रिन्पोछे भन्लान् , कसैले खेम्पो छिमे रिन्पोछे भन्लान्, कसैले लामा छिमे छिरिङ भन्लान् , जस्ले जे नामले पुकारे पनि उनी मानवतस्कर र धन्दावालका रुपमा परिचित एउटै व्यक्ति हुन् । जसले विभिन्न धन्दा संचालन गर्नुका साथै अमेरिकाको सरकारलाई झुक्याएर अमेरिकामा नेपालीहरु पठाउने मानवतस्करको काम समेत गरे ।

मानव तस्करीका लागि तीन देशको नागरिक १


अर्थराज्यमन्त्रीसमेत पड्काइसकेका ल्यारक्याल लामाले नेपालमा भइरहेको चीन विरोधी तिब्बती आन्दोलनलाई सघाउन तिब्बती शरणार्थी परिचय पत्र लिएका थिए । चीनबाट भागेर नेपाल छिर्ने तिब्बतीहरुलाई भारतसम्म लैजान सजिलो होस् भनेर भारतीय पासपोर्ट बनाए । तर कुरा त्यतिमात्र होइन । उनले अमेरिकी सरकारलाई झुक्याएर नेपालीहरुलाई नक्कली कागजपत्रका साथ अमेरिका छिराउनका लागि समेत विभिन्न हर्कतहरु गरे ।

ल्यारक्याल लामासंग नेपाली नागरिकको हैसियतबाट नेपालको परराष्ट्र मन्त्रालयबाट लिएको ११२१५८८ नम्बरको पासपोर्ट छ । भारतको गुहावटीबाट भारतीय नागरिकको हैसियतमा लिएको २१२९८१२ नम्बरको पासपोर्ट छ । सन् १९६९ मा तिब्बती नागरिकको हैसियतमा लिएको तिब्बती शरणार्थीको परिचयपत्र पनि छ । नेपाली राहदानीमा उनको नाम वाङचुक रिम्पोछे छ भने भारतीय राहदानीमा खेम्पो छिमे छिरिङ । तिब्बती शरणार्थी परिचयपत्रमा उनको नामा लामा छिमे छिरिङ छ ।
श्रोत भन्छ – “जहांजहां जे जे नाम भएपनि उनलाई सिन्धुपाल्चोकदेखि नै सबैले चिन्दै आएको धार्मिक नाम छिमे छिरिङ र प्रशासनिक नाम ल्यारक्याल लामाबाट हो । उनका अरु सबै नाम नक्कली हुन् । धन्दा चलाउनका लागि हुन् । र मानवतस्करीका लागि हुन् । ”

मानवतस्करीको अजबको काइदा

ल्यारक्याल लामाले सिधै आफ्नो सम्पर्कबाट कमै व्यक्ति अमेरिका पठाए । तर उनले आफ्ना दलालहरुमार्फत भने दर्जनौं व्यक्तिलाई अमेरिका पठाइसकेका छन् । काठमाडौंमा उनको कुनै म्यानपावर एजेन्सी त थिएन । तर उनले अमेरिका आउन चाहनेहरुलाई मोटो रकम असुलेर अमेरिका छिराउनका लागि काठमाडौं र ह्योल्मो क्षेत्रमा आफ्ना दलालहरु सकृय बनाएका थिए ।

अमेरिका आउन चाहनेहरुले सुरुमा उनका दलालहरुलाई सम्पर्क गर्नुपथ्र्यो । दलालहरुसंग पैसाको कुरा मिलेपछि मात्र बांकी कामका लागि ल्यारक्याल लामाले प्रकृया सुरु गर्थे । लामाले तत्काल नक्कली कागजपत्र तयार गरिदिन्थे, अमेरिका आउन चाहनेहरुका लागि । गुम्बा विकास समितिमा रहंदा उनलाई यस्ता कागजपत्र बनाउन कुनै आइतवार कुर्नैपर्दैनथ्यो ।

उनले तयार पारेका नक्कली कागजपत्रका आधारमा अमेरिकी दूतावासमा भिसाको लागि आवेदन दिइन्थ्यो । कतिपयले अमेरिकी दूतावासलाई झुक्याएर भिसा पाइहाल्थे । अनि ल्याक्यार लामालाई रकम बुझाएर अमेरिकाका लागि उडिहाल्थे । तर अमेरिकी दूतावासले भिसा नदिएको खण्डमा भने ल्यारक्याल लामासंग अर्को काइदा पनि थियो । अमेरिकाको लागि मल्टिपल भिसा हानिएको पासपोर्ट प्रयोग गरेर पनि लामाले कैयनलाई अमेरिका छिराएका छन् । लामाका मंगोलियन अनुहार मिल्दाजुल्दा हुने भएकाले अर्कैको पासपोर्ट प्रयोग गरी अमेरिकालाई झुक्याएर मानवतस्करीको काम गर्न सफल भइरहेका थिए, ल्यारक्याल लामा ।

तबसम्म यसरी उनले दोश्रो व्यक्तिको पासपोर्ट प्रयोग गरेर मंगोलियन अनुहारका व्यक्तिलाई अमेरिका छिराइरहे, जबसम्म अमेरिका आउनका लागि आंखाको तस्विर र औंलाको छाप लिने व्यवस्था थिएन । आंखाको तस्विर र औंलाको छाप लिने व्यवस्था भएपनि भने लामाले अमेरिकालाई झुक्याउने हिम्मत गर्न सकेनन् ।

रेट १० लाखसम्म


ल्यारक्याल लामाले नेपालीहरुलाई अमेरिका छिराएबापत ५ लाखदेखि १० लाख रुपैयासम्म लिने गर्थे । नेपालीहरुलाई नै नक्कली तिब्बती शरणार्थी बनाएर तिब्बती शरणार्थीको नक्कली परिचयपत्र र कागजपत्र मार्फत् होस वा अमेरिकाको भिसा हानिएको आफ्नै र आफ्ना दलालहरुको पासपोर्ट प्रयोग गरेर होस् , ल्यारक्याल लामाले अमेरिका छिराएबापत एकजनाबाट पांचलाख देखि १० लाखसम्म रकम असुल्ने गर्थे ।

श्रोत भन्छ – “सुरु सुरुमा लामाले पांचलाख रकम लिएर अमेरिका छिराएपनि पछिल्ला दिनमा उनले रेट बढाएर १० लाखसम्म पु¥याएका थिए । अर्कैको पासपोर्टबाट अमेरिका छिराउने क्रम अहिले रोकिएपनि तिब्बती शरणार्थीको नक्कली परिचयपत्र बनाइदिएर अमेरिका छिराउने काममा भने लामा पछिसम्मै सकृय रहे ।”

यसरी लामालाई रकम बुझाएर अमेरिका छिर्नेहरु नेपालीहरुमात्र छैनन्, तिब्बतीहरु पनि छन् । ल्यारक्याल लामाले नेपालको ह्योल्मो क्षेत्रका झण्डै तीनदर्जन लामाहरुलाई अमेरिका छिराइसकेका छन् । त्यो बाहेक ल्यारक्याल लामाले अमेरिका छिराइसकेका व्यक्तिको संख्या पांच दर्जन बढी रहेको श्रोतले दावी गरेको छ ।

अमेरिका आइसकेपछि एसाइलम

ल्यारक्याल लामा मार्फत अमेरिका छिर्नेहरुले अमेरिकामा आइसकेपछि शरणार्थीका रुपमा ग्रिन कार्डका लागि आवेदन दिने गरेका छन् । तिब्बती शरणार्थीको नक्कली कागजपत्र बनाएर आउनेहरुले तिब्बती शरणार्थीकै रुपमा ग्रिन कार्डका लागि आवेदन दिने गरेका छन् । यस्ता अधिकांश आवेदन अमेरिकी अदालतको फैसलापछि स्वीकृत हुने गरेका छन् । यसरी अमेरिकामा तिब्बती शरणार्थी बनेर ग्रिन कार्ड लिने नेपालीहरु पनि बाक्लै छन् ।

लामा र उनका व्यक्तिको पासपोर्ट दुरुपयोग गरेर आउनेहरुले नेपालमा माओवादीका कारण बस्न नसकेको वा माओवादीले आक्रमण गरेको जस्ता नक्कली कथा बनाएर ग्रिन कार्डका लागि शरणार्थीको आवेदन दिने गरेका छन् । श्रोतका अनुसार अधिकांशले माओवादीले लखेटेका वा अपहरण गरेका कथा बनाएर ग्रिन कार्ड लिइरहेका छन् । कतिपयको आवेदन भने अस्वीकृत समेत हुने गरेको छ । लामामार्फत अमेरिका आउनेहरु कतिपय भने गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका छन् ।

लामाले अमेरिकनलाई समेत छोडेनन्

नेपालमा मानवतस्करी लगायतका धन्दा चलाउदै आएका ल्यारक्याल लामाले अमेरिकन नागरिकलाई समेत फसाइदिए, केही वर्ष अगाडि । अमेरिकाको न्युयोर्कमा मेडिटेसन सेन्टर खोलेर लामाले एकजना अमेरिकनबाट रकम लिएका थिए ।
मेडिटेसन सेन्टरका लागि भन्दै लामाले एकजना अमेरिकन महिलासंग पचास हजार डलर लिएका थिए । तर त्यो रकम फिर्ता नगरेपछि ति महिला अदालतको शरणमा समेत पुगेकी थिइन् । लामाले पछि ति महिलाको रकम फिर्ता दिएको दाबी गर्दै आएका छन् । मेडिटेसन सेन्टर चलाउने भन्दै लामाले पेमाथल डटकम नामको वेभसाइट पनि संचालनमा ल्याएका थिए । पछि न्युयोर्कको मेडिटेसन सेन्टरसंगै वेभसाइट पनि गायब भएको थियो ।

अमेरिकन महिलालाई नै ठगेपछि लामालाई अमेरिकी सरकारले भिसा दिन अस्वीकार गरेको थियो । त्यसैले लामोसमय देखि ल्यारक्याल लामा अमेरिका आउन पाएका थिएनन् । तर लामा पहिलोपटक सभासद् भइसकेपछि भने उनी सभासद्को पासपोर्टबाट सन् २०१० तिर अमेरिका आएका थिए ।

सम्मान गर्न खोज्दा विवाद

सन् २०१० मा संयुक्त राष्ट्रसंघको इन्डिजिनियस पिपुल्स फोरममा भाग लिन अमेरिकाको न्युयोर्कमा आएका थिए, सभासद् ल्यारक्याल लामा । त्यतीबेला उनले आफूले अमेरिका छिराएका केही व्यक्तिलाई समेत भेटेका थिए ।

अमेरिकामा आउंदा उनलाई ह्योल्मो सोसाइटी अफ अमेरिकाका तर्फबाट सम्मान गर्नुपर्ने प्रस्ताव पनि आएको थियो केही व्यक्तिबाट । तर सोसाइटीभित्रैबाट ल्यारक्याल लामा जस्तो विवादास्पद मान्छेलाई सम्मान गर्न नहुने भन्दै विरोध भएको थियो । लामा मानवतस्करीमा संलग्न भएकाले नै उनलाई सम्मान गर्न ह्योल्मो सोसाइटी हच्किएको थियो ।

अधिकांशको विरोधपछि सोसाइटीका तर्फबाट ल्यारक्याल लामालाई सम्मान गरिएन । तर केही व्यक्तिको समुहले भने उनलाई सम्मान पनि गरेको थियो । यसरी गरिएको सम्मानको अमेरिकामा विरोध पनि भएको थियो, केही ह्योल्मो समुदायका व्यक्तिबाट ।

विरोधका बाबजुत भएको सम्मानपछि ल्यारक्याल लामा अमेरिका आएका छैनन् । खेन्पो पदको दुरुपयोग गरेको भन्दै ह्योल्मो समुदायबाट निकै पहिलेदेखि नै ल्यारक्याल लामाका गतिविधिको विरोध समेत हुंदै आएको छ ।

तस्करीका लागि नक्कली रिन्पोछेको आवरण

ल्यारक्याल लामाले आफ्नो धार्मिक नाम खेन्पो छिमे रिन्पोछे लेख्दै आएका छन् । बौद्ध धर्ममा खेन्पो भनेको पीएचडी डक्टरेट सरहको उपाधी हो । ल्यारक्याल यो उपाधी सन् १९९९ मा पाएको दावी गर्दै आएका छन् । उनका अनुसार बौद्ध धर्मगुरु पेनोर रिन्पोछे र पेमा नोर्बु रिन्पोछेबाट उनले खेम्पोको उपाधी पाएका थिए ।

तर ल्यारक्याल लामाले खेन्पोको उपाधी पाउनुभन्दा अगाडि नै उनले आफ्नो नामका अगाडि खेन्पो लेख्न थालिसकेका थिए । ह्योल्मो क्षेत्रमा पुगेर उनले ह्योल्मो जातिको पहिलो खेन्पो भनेर ह्योल्मो समुदायबाट सम्मान पनि थाप्न भ्याए, जतिबेला उनलाई खेन्पोको उपाधी नै मिलेको थिएन ।

यिनै झुठका सरदार ल्यारक्याल लामाले अहिले आफ्नो नामका पछाडि रिन्पोछे लेख्दै आएका छन् । जबकी उनले अहिलेसम्म रिन्पोछको उपाधी नै पाएका छ्रैनन् । उनको आधिकारिक वेभसाइटमा पनि उनले रिन्पोछेको उपाधी कहिले र कहांबाट पाए भन्ने कुरा कतै उल्लेख गरिएको छैन । रिन्पोछे बौद्ध धर्मका गुरुहरुले पाउने उच्च पद हो ।

ल्यारक्याल लामाले रिन्पोछेको उपाधी नपाइकनै मानव तस्करी र अन्य धन्दालाई सजिलो बनाउनका लागि यो उपाधीको दुरुपयोग गरे । उनलाई रिन्पोछे पदको दुरुपयोग गर्नबाट रोक्न र खेन्पो उपाधीको समेत दुरुपयोग गरेकाले खेन्पोको उपाधी समेत खोस्नुपर्ने बताउन थालेका छन्, बौद्ध धर्मालम्बीहरु । धर्मका नाममा बदमासी गर्नेलाई छोड्न नहुने उनीहरुको भनाइ छ ।

पन्थी न्युयोर्कबाट प्रकाशित हुने खसोखास साप्ताहिकका प्रधान सम्पादक हुन् . दैनिक नेपाल डटकम बाट

Post a Comment

0 Comments