Subscribe Us

बिद्यार्थीका परिवारले गरे सिआईबीलाई सम्मान

काठमाडौँ । बैंककमा अपहरण पश्चात सकुशल अपहरण मुक्त भएका ३ जना नेपाली बिद्यार्थीका परिवारले केन्द्रीय अनुसन्धान व्यूरो तथा थाई प्रहरीलाई सम्मान गरेका छन् । गत पुस ४ गते थाईल्याण्डको बैंककस्थित एजुम्पसन युनिभर्सिटीमा अध्ययनरत रोनेश श्रेष्ठ, कर्ण हाछेंथु र बिभुष रिजाललाई सकुशल मुक्त गराउन देखाएको तत्परता, साहस र सक्रियताको कदर गर्दै अनुसन्धान टोली तथा केन्द्रीय अनुसन्धान व्यूरो परिवार र थाई प्रहरीलाई शुक्रबार अभिनन्दन तथा सम्मान गरिएको हो ।

अपहरणपछि अपरहणकारीले रिहाईको लागि बिद्यार्थीहरुका परिवारसँग एक एक करोड रुपैयाँ फिरौती माग गरेका थिए । घटनाको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान व्यूरोको टोली थाईल्याण्ड गई थाई प्रहरीसँगको सहकार्यमा अपहरित बिद्यार्थीहरुलाई अपरहणमुक्त गरी अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको थियो ।

जघन्य प्रकृतिको संगठित अपराध केन्द्रीत अनुसन्धान गर्दै आएको व्यूरोले बिदेशमै गएर स्थानीय प्रहरीसँग सहकार्य गरी पीडितको उद्धार तथा अभियुक्तहरुलाई कानूनी दायरामा ल्याउन सफल भएको छ । यसबाट एकातर्फ दुई देशको प्रहरीबीचको सम्बन्ध सुमधुर भई आगामी दिनमा यस्ता प्रकृतिका अपराधबिरुद्ध लड्न सहज भएको छ भने अर्कोतर्फ अपराधीले जस्तोसुके गम्भीर प्रकृतिका अपराध जहाँ गरे पनि समाधान गरी कानूनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन नेपाल प्रहरी सक्षम रहेको पुष्टी गरेको छ । 

  घटनापश्चात पीडित परिवारबाट अनुसन्धानकोक्रममा प्रहरीलाई गर्नुभएको सहयोगको कारणले नै घटनामा संलग्न अभियुक्तहरुलाई छोटो समयमा कानूनी दायरामा ल्याउन सफल भएको अवगत गराउँदै आउँदा दिनमा पनि यस्ता प्रकृतिका जघन्य अपराधहरुमा पीडित परिवारहरुबाट अनुसन्धानमा सहयोग हुने छ भन्ने अपेक्षा केन्द्रीय अनुसन्धान व्यूरोले गरेको छ ।

Post a Comment

0 Comments