Subscribe Us

गुटबन्दीको भुमरीमा नेपाल प्रहरी

काठमाडौं । नागरिकसँग  प्रत्यक्ष/परोक्ष सम्बन्ध र दायित्व भएको नेपालको सशक्त सुरक्षा  निकायको रुपमा रहेको नेपाल प्रहरीमा आइजीपीले नै गुट–उपगुट निर्माण  गरेर नाताबाद र कृपाबादलाई प्रश्रय दिन थालेका छन् । आईजीपीको कारणले गर्दा संगठनको दैनिक कार्य सञ्चालन समेत प्रभावित भइ आन्तरिक बिबाद सतहमा छताछुल्ल हुन थालेको छ ।

संगठनमा ब्याप्त अनियमितता, गुटबन्दी, नाताबाद– कृपाबादले गर्दा प्रहरी जवानले आइजीपीलाई समेत नटेर्ने अवस्था सिर्जना भएपछि नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गत हप्ता एक पत्रीकाको अन्तरबार्तामा उनले भनेका थिए ‘प्रहरीलाई राजनीतिले चलाउंछ , आइजीपी नहुदासम्म के–के न गरौंला जस्तो लाग्थ्यो तर प्रहरी भित्रको खुट्टा तान्ने प्रवृत्तिले गर्दा आइजीपी भएपछी त्यही पदले थिचेर काम गर्न गार्हो बनायो ।’ उनको यहि निराशा जनक भनाइ बाटै स्पष्ट हुन्छ प्रहरी भित्र पदको लागि हुने अस्वस्थ प्रतिस्पर्धा, गुटबन्दी र नाताबाद ।

नेपाल प्रहरीमा हुने गुटबन्दी एउटा संस्कारको रुपमा बिकास हुँदै  आएको बिगत देखि कै श्रृंखला हो, यत्ति एउटा फरक छ बिगतमा सुरक्षा  निकाय भित्रका गतिबिधिहरुलाई मिडिया हाउस एवम आम सर्बसाधारणले त्यति वास्ता गर्दैनथे तर अहिले परिस्थिति फरक छ, प्रहरी भित्र सानो केही बिबाद अथवा कुनै गतिविधि भयो भने तुरुन्तै बाहिर आउंछ । प्रहरीको हालसम्मको इतिहास हेर्दा प्रहरीमा हुने गुटबन्दी र नाताबादलाई प्रश्रय दिने काम स्वयम् आइजीपीबाटै हुने गरेको देखिन्छ, उक्त श्रृंखलालाई अहिलेका आइजीपी अर्यालले झन धेरै प्राथमिकता दिएको कारणले कुनै दिन नेपाल प्रहरीमा आन्तरिक बिद्रोह नहोला भन्न सकिदैन ।

बिगत चार पुस्ता आइजीपीको मुल्यांकन गर्नुपर्दा रमेश चन्द ठकुरी आइजीपी हुँदा कर्णाली  नदि पारी सुदुरपश्चिममा घर हुने प्रहरी जवान देखि आइजीपीसम्म व्यापक गुटबन्दी थियो, उनको कार्यकालमा नाताबाद र क्षत्रबाद  यति हाबी थियो कि सुदुरपश्चिममा घर हुने प्रहरीले अाकर्शक  ठाउँमा पोस्टिङ् र बिना योग्यता बढुवा पाउने गर्थे । नेपाल प्रहरीमा जागीर खाएपछि एउटा घर कर्णाली  पारी र एउटा घर कोशी पारी बनाउनु पर्ने हुने भयो भन्दै त्यसबेला असन्तुष्ट प्रहरी बृतमा व्यापक चर्चा हुन्थ्यो ।

रमेशचन्द ठकुरी सुडान काण्डमा मुछिए पछि आइजीपी हुने अवसर पाएका रबिन्द्रप्रताप शाहले बिगत चार पुस्ताका प्रहरी प्रमुख मध्य हालसम्मकै उत्कृष्ट काम गर्ने आइजीपीको परिचय पाउन सफल भए । पूर्व आइजीपीहरुको पालामा ब्याप्त गुटबन्दी, नाताबाद र कृपाबादलाइ केही हदसम्म भएपनी घटाउन सफल भएका थिए । प्रहरीका सरुवा बढुवामा हुने व्यापक चलखेललाई रोक्न सरुवा बढुवा सम्बन्धि नीति नै लागू गरेर प्रहरीमा धेरै सुधारका काम गरेका थिए । तत्कालीन गृहमन्त्री बिजय गच्छदारको दवाबलाई समेत चुनौती दिदै गलत कुरामा कुनै सम्झौता गरेनन्, बरु प्रहरीमा सरुवा बढुवा नै रोकियो तर उनले गृहमन्त्रीको दवावलाई कुनै हालतमा स्वीकार गरेनन् ।

रबिन्द्रप्रताप शाहको अवकाशसंगै व्यापक प्रतिस्पर्धाका बीच आइजीपी भएका कुबेरसिंह रानाले नाताबाद, जातीयवाद र क्षत्रबादलाई एकदम प्राथमिकतामा राखेर काम गरे । मगर र मङ्गोलियन जातिको अथवा पाल्पा, रुपन्देही बासी प्रहरी कर्मचारीहरुलाइ बढुवामा बिशेस  सुबिधा र अाकर्शक  स्थानमा पोस्टिङ् दिने, मगर थरको कुनै प्रहरीले गल्ती गरेपनी जातीय तरिकाले काखी च्यापेर प्रहरी संगठन नै पाल्पामय बनाएका थिए । संयोग नै मान्नु पर्छ उक्त समयमा चुनावी मन्त्रीपरिशद्का  अध्यक्ष, गृहमन्त्री र स्वयं आइजीपी सम्पूर्ण  पाल्पाबासी भएको फाइदा उठाउंदै  आफूलाइ स्वच्छ छबिको आइजीपी दाबी गर्दै काठमाडौंमा ट्राभल एजेन्सी सन्चालन गर्ने आफ्नै भाञ्जा र भैरहवामा बसोबास गर्ने भतिजालाइ प्रयोग गरेर प्रहरीका हरेक सरुवा, बढुवा र विभिन्न ठेक्कामा करोडौं असुल्न सफल भएका थिए ।

दोस्रो संविधानसभाको चुनावको संघारमा एआइजी बिनोद सिंहको स्थानमा एकल बढुवा गरि एआइजी बनाइएका हालका आइजीपी अर्याल तत्कालीन आइजीपी कुबेरसिंह रानाको अवकाशसँगै  गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवम् आफ्ना मीत डाक्टर उपेन्द्र महतोको पाँच  करोड रुपैया आर्थिक लगानी र साढुदाई पूर्व मुख्यसचिव बिमल कोइरालाको मध्यस्थतामा गोप्य रुपमा सेटिङ मिलाएर आइजीपी हुन सफल भएको प्रहरी भित्र चर्चा हुने गर्दछ ।

तत्कालीन समयमा कुबेर सिंह रानाको अवकाशसँगै हुने आइजीपीका प्रबल दाबेदार डिआइजीहरुलाई केन्द्रमा राख्दा भावी आइजीपीको लागि अन्य डिआइजीहरुले पनि धेरै चलखेल गर्न सक्ने र आकाँक्षी सम्पूर्णलाई उपत्यका बाहिर पठाउँदा  चलखेल केही कम हुने भएकोले तत्कालीन गृहमन्त्री माधवप्रसाद घिमिरे र पूर्व मुख्यसचिव बिमल कोइरालाको ग्राण्ड डिजाइनमा चुनावी सुरक्षाको लागि भन्दै क्षत्रिय  प्रहरी प्रमुखको रुपमा सरुवा गरिएको थियो । सम्पूर्ण आकाँक्षीहरु उपत्यका बाहिर भएपछि सहजै तरिकाले आइजीपी हुने चलखेल गरेका थिए ।

महानगरिय प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत एक प्रहरी अधिकृतले आक्रोश पोख्दै भने–‘आइजीपी आफैले योग्य अधिकृतहरुलाई बाइपास गरि आफू निकटका निश्चित ब्यक्तिहरुलाई लिएर गुटबन्दी गरेर एकलौटी रुपमा संगठन हाक्न खोज्नु आफ्नै मुर्खता हो, संगठन प्रमुखले नै गुटबन्दी गरेपछि अन्य तल्लो दर्जाको प्रहरीले गुटबन्दी गर्नुलाई अनौठो मान्नु आवश्यक हुँदैन  । चेन अफ कमान्डमा चल्ने फौजी संगठनमा आवद्ध रहेका सम्पूर्ण  प्रहरीलाई आफ्नो भन्न सक्नुपर्छ तर यहा बोलीमा एउटा र व्यबहारमा अर्कै भैरहेको छ । पत्रीकामा आदर्शका कुरा लेखाउने अनि व्यबहारमा शून्य, यस्तो अराजकता त अन्य कुनै सुरक्षा  संगठनमा पनि छैन ।’

गत महिना काठमाडौंमा सम्पन्न बरिष्ठ प्रहरी सम्मेलनमा आइजीपी अर्यालले तीस बर्से   सेवा  हटाएर साठी बर्से   उमेर हद कायम गराउन खोज्दा आइजी प्यानल कै चर्चित एसएसपी रमेश खरेलले आइजीपी अर्याललाई झपार्दै भनेका थिए–‘आइजी सा’ब तपाईंलाई लाज लाग्दैन ? तीस/तीस बर्से   सम्म जागीर खाएर पनि पुगेन ? अझै बढाउन खोज्नु हुन्छ ?’‘नेपाल प्रहरीमा अहिले त्यती व्यापक गुटबन्दी र राजनीति छ कहिलेकाही त हामी कुनै फौजी संगठनको सदस्य नभई कुनै राजनीतिक दलको कार्यकर्ता हौ कि भन्ने जस्तो लाग्छ’ आफ्नो नाम नलेख्ने शर्तमा प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत एक एआइजीले भने ।

पछिल्लो समय नेपाल प्रहरीमा व्यापक गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा रहेको जानकारहरु बताउँछन्  । यहा केही यस्ता प्रहरी अधिकृतहरु छन् उनीहरु आफू उत्कृष्ट कार्यसम्पादन गरेर अगाडि बढ्न चाहदैनन् । यहा पदको लागि एकले अर्काको चरित्र हत्या गर्ने, बेनामे मुद्दा हाल्ने, र प्रतिस्पधिर्को बिरुद्धमा अनेक जालझेल गरेर पद हत्याउने परिपाटीको विकास भएको छ, त्यस्तै जालझेल गर्ने मान्छेलाई स्वयं आइजी अर्यालले काखी च्याप्ने गरेको कारणले  प्रहरी भित्र बिकृती मौलाएको छ ।

केहि महिना अगाडी प्रहरी प्रधान कार्यालयमा आयोजित पिसिसी बैठकमा ‘अदालतको आदेश नमान्ने आईजीपीलाई आफूहरुले समेत नमान्ने’ भन्दै एआईजी राजेन्द्रसिंह भण्डारीले आईजीपी अर्याललाई खुल्ला चुनौती दिएका थिए । सेनामा कसैले यस्तो बोलेको भए संगठन प्रमुखविरुद्ध यसरी बोल्ने अधिकारीलाई ‘कोर्टमार्शल’ भइसक्यो । तर आईजीपी अर्याल आफैं निरिह बनेपछि एआईजीले मात्र होइन, हवल्दारले समेत आईजीपीलाई नटेर्ने अवस्था नेपाल प्रहरीमा सिर्जना भएको छ ।

खासगरी अदालतले चार डीआईजीलाई एआईजीमा बढुवा गर्न परमादेश दिंदा  पनि आईजीपी अर्यालले लबिङ गरेर बढुवा रोकेर चार डीआईजीलाई अन्यायपूर्वक अवकाश दिलाएका थिए । डीआईजी यादव अधिकारी, परशुराम खत्री, विश्वराजसिंह शाही र सुशीलबरसिंह थापालाई आईजीपी अर्यालले बढुवा हुनबाट रोकेको आरोप छ । कांग्रेस मन्त्रीहरुलाई बिन्ती गरी बढुवा रोकाएपछि सरकारले चार जनालाई बढुवा गर्ने परमादेशउपर पुनरावलोकनमा गएको छ । फैसला कार्यान्वयन निर्देशनालयले पनि तुरुन्त फैसला कार्यन्वयन गर्न सरकारको नाममा आदेश दिएको छ तर उक्त फैसला बिरुद्ध पुनराबलोकन दर्ता गरेको भन्दै आइजी अर्याल आलटाल गर्दै आइरहेका छन् ।

एआईजी भण्डारी मात्र होइन अधिकांश प्रहरी यतिबेला आईजीपी अर्यालविरुद्ध रुष्ट छन् । कार्यविभागमा रहेका गणेश  राईले पहिले नै आईजीपीविरुद्ध अन्तर्वार्ता दिएका थिए । आफूलाई हटाउन सक्ने त्रासले अर्यालको एआईजी सुरेन्द्रबहादुर शाहसँग  समेत राम्रो छैन । आयुक्त कार्यालयका प्रमुख रहेका विज्ञान शर्मासँग  आईजीपी हुने बेलादेखि नै विवाद चल्दै आएको छ ।

कार्यसम्पादन मूल्यांकनमा अगाडी, ब्यबसायिक प्रहरी अधिकृतको परिचय बनाएका आफ्ना प्रतिस्पर्धी डीआइजी राजेन्द्रसिंह भण्डारीले सिआइबिमा हुँदा  तत्कालिन रासन ठेकेदार र भिओआइपि गिरोहसंगसँग  २ करोड घुस खाएको भन्दै अतिख्यारमा बेनामे उजुरी हालेर डिआइजी भण्डारीलाई आइजी बन्नबाट रोक्ने खेल खेलेको आरोप पनि आइजी अर्याल माथि लाग्दै आएको छ । एआईजी भण्डारी र आईजीपी अर्यालबीचको दोस्ती कुनै समय लोभलाग्दो थियो । तर, कुर्सीको कारणले  उनीहरु यतिबेला जानी दुश्मन भएका छन् र सुरुमा प्रशासन विभागमा पदस्थापन भएका एआईजी भण्डारीलाई त्यही दुश्मनीको कारण एकेडेमी पठाइएको थियो । मोटो रकम कमिसन खाएर हतियार खरिद गर्न लागेका आईजी अर्याललाई भण्डारीले सहयोग नगरेपछि एकेडेमीमा सरुवा गरिएको थियो । त्यसपछि उनीहरुबीचको सम्बन्धमा झन् तिक्तता आएको हो ।

अर्यालको कार्यशैलीप्रति अपराध अनुसन्धान विभागमा रहेका एआईजी शाह पनि दिक्क भएको स्रोत बताउंछ  । व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर निर्णय   गर्ने, राय सुझाव नलिने, व्यक्तिगत सम्बन्धका आधारमा कसैलाई काखा कसैलाई पाखा गर्ने कार्यशैलीका कारण आईजी अर्याल अलोकप्रिय हुँदै  गएका छन् । त्यसकारण पछिल्लो समय आईजीपी फेरिने हल्लासमेत चलेको छ । प्रहरी दिवसको दिन आईजीपी अर्यालले पनि त्यस्तै प्रकृतीको मन्तब्य दिएपछि यो बिशेष  अहिले चर्चामा छ । प्रहरी प्रमुखमा अर्काे बर्ष नयाँ  व्यक्ति आउने सक्ने उनले बताएका थिए । अर्यालको पदावधि अझै दुइ बर्ष बाँकी  छ । तर पनि उनले अर्काे बर्ष नयाँ व्यक्ति आफ्नोे ठाउँमा   आउने सक्ने संकेत गर्नुको पछाडि रहस्य छ ।

पछिल्लो समय उनी कांग्रेसका केही मन्त्रीहरुलाई मात्र खुशी बनाएर आफ्नो पद जोगाउने दाउमा छन् । गृहमन्त्री वामदेव गौतमलगायत एमालेका नेताहरु उनीसँग  रुष्ट भएका छन् । संगठनलाई कांग्रेसीकरण गरेको आरोप एमाले मन्त्रीहरुले लगाउन थालेका छन् । त्यसकारण केहि महिनामा सरकार परिवर्तन हुनसक्ने र त्यससँगै  प्रहरी नेतृत्व पनि परिवर्तन हुनसक्ने आँकलन धेरैको छ ।

पछिल्लो समय भएका सरुवा र बढुवामा गृह मन्त्री र अख्तियार हाबी भएको छ । अख्तियार प्रमुखले सिफारिस गरेको कुनै कुरामा पनि आइजी नाइ भन्न नसक्ने स्थितिमा छन्, कारण  हो अख्तियारमा विचाराधीन सुनको नक्कली सुराकी काण्ड सम्बन्धि मुद्दा । अख्तियारलाई रुष्ट बनाउँदा   आफू माथि नै प्रहार हुन सक्ने भएकोले अख्तियारको सिफारिस नकार्न उनी सक्दैनन् । ३५ किलो सुनको नक्कली सुराकी काण्डमा आफू निकटका डिआइजी प्रकाश अर्याल र एसपी इश्वर बाबु कार्कीको जागिरसँगै  आफ्नो  जागिर समेत धरापमा पर्ने देखिए पछि उनी खुलेरै बचाउन लबिङ गरेका थिए । लेखा समितिलाई ‘यु टर्न’ गराउन पनि उनले बिशेष  भूमिका खेलेका थिए । पहिले डीआइजी प्रकाश अर्यालको कार्यशैली राम्रो नभएको टिप्पणी  गर्ने एसएसपी रमेश खरेलले श्रीमतीको नाममा सुराकी राखेर कमिशन खाएको सुराकी प्रतिबेदन को प्रतिलिपि सहित सार्वजनिक भएपछि नक्कली सुराकी राखेर घोटला गर्ने डीआइजी प्रकाश अर्यालको प्यानलमा प्रवेश गरेर उनलाई बचाउन प्रचण्ड निवास लाजिम्पाट सम्म पुगेको कुरा अहिले हेडक्वार्टरमा व्यापक चर्चा हुने गर्छ ।

अनेक प्रलोभन देखाउदा एवम् अनुरोध गर्दा पनि संसदको सार्बजनिक लेखा समितिका सभापति जनार्दन शर्मा र लेखा समिति सदस्य कांग्रेस नेता धनराज गुरुङ ३५ किलो सुनकाण्डमा पछाडी नहटेर निलम्बन गर्ने अडान लिएपछि लेखा समितिलाई प्रभावमा पारि युटर्न गराउन डीआइजी प्रकाश अर्याल एसएसपी रमेश खरेल र एसपी विश्वराज पोखरेल प्रचण्ड निवास लाजिम्पाटमा माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री निवास बालुवाटार गएर प्रधानमन्त्री शुसिल कोइरालालाइ भेटेर प्रभावमा पार्न सफल भएका थिए । पछिल्लो समय आइजी अर्याल योग्य अधिकृतहरुलाई बाइपास गरेर केहि सिमित प्रहरी अधिकृतहरुलाई लिएर संगठन हाकेपछि संगठनमा असन्तुष्टि फैलिएको छ । यूनाइटेड पोस्टबाट

Post a Comment

0 Comments