Subscribe Us

पोखरामा मौलाउँदै संगठित अपराध,
राजधानीपछि गुण्डागर्दीमा दोस्रो

कास्की । पर्यटकीय नगरी पोखरामा डनहरुको आतंक बढेपछि ब्यबसायीको आग्रहमा प्रहरीले आफ्नो सक्रियता बढाएको छ । पछिल्लो समयमा राजधानीपछि पोखरा कुख्यात डनहरु बस्ने अखडाका रुपमा परिचित भएको छ । तत्कालिन एसपी रमेश खरेल कास्की प्रहरीको प्रमुख हुँदा गुण्डा र आफूलाई डन बताउनेहरुको भागदौड मच्चिएको थियो । तर, केही बर्षयतादेखि पुनः पर्यटीय नगरी पोखरामा डनगिरी मौलाउन थालेको छ । 

पोखरामा डनगिरी मौलाउन थालेको मौखित र लिखित उजुरी कास्की जिल्ला प्रहरी कार्यालयमा पर्न थालेपछि कास्की प्रहरी डनगिरी नियन्त्रण गर्ने अभियानमा जुटेको छ । पर्यटकीय नगरी पोखराको मुख्य समस्या र चुनौंती डनगिरी रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पाल ब्यबसायी र सर्बसाधारणलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन लागिपरेका हुन् । पर्यटकीय नगरी पोखरामा मुख्य समस्या नै डनगिरी रहेको जिकिर गर्दै प्रहरीले गुण्डागर्दी नियन्त्रण गर्ने अभियान शुक्रबारदेखि थालेको छ । 

राजनीतिक संरक्षणमा गुण्डागर्दी गर्ने युवाको जमातले ब्यबसायीलाई धम्क्याउने, पैसा माग्ने, जर्बजस्ती काम दिनुपर्ने माग राख्ने, महिनावारी रकम लिनेलगायतका गतिविधि गर्न थालेपछि प्रहरीले सक्रियता बढाएको हो । कास्की जिल्ला प्रहरी प्रमुख पालले पोखराको मुख्य समस्या मध्ये गुण्डागर्दी, चन्दा आतंक, हप्ता असुली रहेकाले डनगिरी नियन्त्रण अभियान थालेको बताए ।

केहीदिन पहिले पोखराको लेखनाथस्थित गुण्डाहरुको समूहले जर्बजस्ती ब्यक्तिगत जग्गा हडपेर डोजर लगाएपछि पोखराभर सनसनी मच्चिएको थियो । त्यसलगत्तै प्रहरीले शुक्रबार मात्र एक दर्जन गुण्डाहरुलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा लेखनाथका लक्की पुन, सनबहादुर गुरुङ, प्रबीण सुुनार, निकेश पुन, अमिर गुरुङ, देवान गुरुङ, किरण गुरुङलगायत रहेका छन् । 

एमाले पार्टीको संरक्षणमा मौलाएको यो समूहका सदस्यहरु पक्राउ परेपछि अन्य आधा दर्जन गुण्डाहरुले पोखरा छाडेका छन् । केहीदिन पहिले एमाले निकट भू–माफिया राजेश गुरुङको निर्देशनमा यो समूहले दर्जनौं ब्यक्तिका जग्गामा डोजर लगाएका थिए । जग्गा प्लटिङको नाममा ब्यक्ति र सार्बजनिक जग्गामा समेत डोजर लगाईएपछि पीडितहरुले प्रहरीलाई गुहारेका थिए । 

प्रहरीले पीडितको सुनवाई गर्दै फिल्डमा पुग्दा जर्बजस्ती डोजर लगाउने गुण्डाहरुबीच भागदौड मच्चिएको थियो । यसरी गुण्डा परिचालन गर्दै ब्यक्तिको जग्गा जर्बजस्ती प्लटिङ गर्न सघाउनेमा काममा नेकपा एमाले युवा संघ कास्कीका अध्यक्ष बिष्णु पुन समेत मुछिएका छन् । पोखरा रामबजार–१० बस्ने राजेश गुरुङ र विष्णु पुन ब्यबसायी पार्टनर समेत रहेको स्रोतले बतायो । घरजग्गा ब्यबसायी गुरुङले पोखराका डन विक्रम गुरुङलाई समेत जेलमा पैसा पठाउने तथा भेट्न जाने गरेका छन् । लागूऔषध काण्डमा पक्राउ परी जेल सजाँय भुक्तान गरिरहेका विक्रम गुरुङलाई राजेशले किन पैसा पठाउँछन र भेट्न जान्छन ? भन्ने विषयले पोखरामा यतिखेर चर्चा पाएको छ । 

पछिल्ला केहि महिनायता राजनीतिक संरक्षणमा एकाएक पोखरामा गुण्डागर्दी बढेर गएको सर्बसाधारणले महसुस गर्न थालेका छन् । युवा संघ कास्कीका अध्यक्ष पुन र भू–माफिया गुरुङले राजनीतिक आडमा गुण्डागर्दी गरेको समाचार सार्वजनिक भएलगत्तै प्रहरी गुण्डागर्दी नियन्त्रण अभियानमा जुटेको हो । उता, गुण्डागर्दी नियन्त्रण अभियानमा जुटेको कास्की प्रहरीले गुण्डा तह लगाउने अभियानमा सघाउन सूचना दिने ब्यबसायी र सर्वसाधारणको सुरक्षा दिने बताउँदै गुण्डागर्दी नियन्त्रण गर्न सामूहिक प्रयासको खा“चो भएको बताएको छ ।
घरजग्गा, निर्माण, क्रसर, गिटी, बालुवा, ढुंगा ब्यबसायी, जलविद्युत तथा पर्यटन ब्यबसायीसँग चन्दा माग्ने, धम्क्याउने, कमिशन लिने, सेयर माग्ने लगायतका गतिविधि पछिल्लो समयमा ह्वात्तै बढेर गएको थियो । 

 ब्यबसायीले स्थानिय गुण्डाको माग पुरा नगरे कुटपिट गर्ने, अपहरण गर्ने र ज्यानै मार्नेसम्मको धम्की ब्यबसायीलाई दिँदै आएका थिए । सो क्रम पछिल्ला केही महिनामा एक्कासी बढेपछि प्रहरीले गुण्डाबिरुद्ध अभियान चलाएको हो । यसअघि पोखरामा नाम चलेको लालिगुराँस समूह (एलजी) ग्याङको फुट र प्रहरीको खेदाईपछि केही बर्ष पोखरामा गुण्डागर्दी सुनसान भएको थियो । राजनीतिक संरक्षणका कारण पोखरामा गुण्डागर्दी एकाएक बढेर गएको हो । 

कानून बिपरित भूमाफियाको प्लटिङः
संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले लेखनाथ नगरपालिकालाई डेढ महिना अघि प्लटिङ रोक्न परिपत्र गरेको थियो । नगरपालिकाले जग्गा प्लटिङ गर्न आबश्यक उपयोगी नीति निर्माण गर्नु पर्ने र सो नीतिले जग्गा खण्डीकरण हुनबाट रोकथाम हुने विश्वास लिइएको छ । कुनै पनि ब्यक्तिले स्वईच्छाले बिना स्वीकृती जग्गा प्लटिङ गर्न नपाउने समेत परिपत्रमा उल्लेख छ । तर भूमाफिया गुरुङ र पुनको समूहले लेखनाथ नगरपालिकाका प्रमुख रामचन्द्र पौडेललाई धम्क्याएर जग्गा प्लटिङको काम गरिरहेका छन् । गुरुङको समूहले गुण्डाहरुको आड–भरोसामा दर्जनौं ब्यक्ति र सार्बजनिक जग्गा समेत मिचेर प्लटिङ गरिरहेको समेत स्रोतले बतायो । 

गुण्डागर्दी नियन्त्रणमा फितलो कानूनः नेपालमा गुण्डागर्दी नियन्त्रणसम्वन्धि कानून अभावमा गुण्डागर्दी गर्नेलाई प्रहरीले पक्राउ गरेपनि छिट्टै छुट्ने गरेका छन् । कानूनको अभावमा प्रहरीले पक्राउ परेका गुण्डालाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउँदै आएको छ । संगठित अपराधमा लाग्नेहरुलाई प्रहरीले पक्राउ गरी कारबाही गरेपनि केही समयपछि धरौंटीमा छुट्ने भएका कारण प्रहरीलाई गुण्डागर्दी नियन्त्रण चुनौती बनेको समाचार आजको जनप्रहारले छापेको छ ।

Post a Comment

0 Comments