Subscribe Us

१२ वर्ष पर्खियो, हत्यारा उही माओवादी

काठमाडौं । १२ वर्ष रामायण पढायो सीता कसकी जोई भन्दा रावणकी भनेजस्तो भएको छ नेपाली कानुनी मेलोमेसो । ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या गरेको ठहर गरी सर्वोच्च अदालतले एमाओवादी पूर्वसभासद बालकृष्ण ढुंगेललाई पक्राउ गरी कारवाहीको आदेश दिएको थियो तर राजनीतिक पहुँचका आधारमा ढुंगेल पक्राउ परेका छैनन् । 

गृहमन्त्रालयले ढुंगेल फेला नपरेको छारो हाल्ने जवाफ दिन्छ । ढुंगेल फेरि पनि खुलेआम हिँडिरहन्छन् । तर, ढुंगेलको सहभागीता रहेको रामेछापको हत्याको त १२ वर्षसम्म पनि प्रहरीले छानविन गरेको रहेनछ । आफु ७ वर्षको हुँदा बाबुको हत्या भएको उजुरी परेपनि प्रहरीले छानविन नगरेपछि अहिले १९ वर्षको उमेरमा रामेछापका विजय श्रेष्ठले अदालतमा रिट हाले । खासमा के हो भने उज्जनको हत्या भएको रिट हाल्ने गणेशकुमार श्रेष्ठको पनि माओवादीले हत्या गरेको थियो । विजय उही गणेशका छोरा हुन् । 

एमाओवादी नेता बालकृष्ण ढुंगेलविरुद्ध जाहेरी दिएकै कारण माओवादी कार्यकर्ताले गोली हानी हत्या गरेका रामेछापका गणेशकुमार श्रेष्ठको घटना छानविन नहुनुको कारण अदालतले मागेको छ । पुनरावेदन अदालत जनकपुरका न्यायाधिश सत्यराज गुरुङको एकल इजलासले जिल्ला प्रहरी कार्यालय रामेछापलाई १२ वर्षसम्म पनि अनुसन्धान नहुनुको कारण माग गरेको हो ।६ फागुनमा पीडित परिवारले दिएको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश गुरुङले प्रहरीलाई १५ दिनभित्र चित्तबुझ्दो कारण पेस गर्न आदेश दिएको हो । अधिवक्ता पुष्प पौडेलका अनुसार जिल्ला प्रहरी कार्यालय रामेछापलाई यस्तो आदेश दिइएको हो । 

१० असार २०५५ मा  ओखलढुंगामा भाई उज्जनकुमार श्रेष्ठको हत्या भएपछि प्रहरीमा न्याय माग्न पुगेका गणेशकुमार श्रेष्ठलाई ६ मंसिर २०५९ मा खेतमा काम गरिरहेको अबस्थामा रामेछापको सा“घुटारमा माओवादी कार्यकर्ताले गोली हानेका थिए । उनको घटनास्थलमा मृत्यु भएको थियो । गणेशकुमारकै उजुरीका कारण उनका भाई उज्ज्नकुमारको हत्या प्रकरणमा एमाओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेल लगायतलाई सर्वाेच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरिसकेको छ । तर, प्रशासनले ढुंगेललाई अहिलेसम्म पनि पक्राउ गरेको छैन । 

गणेशकुमारको हत्यामा संलग्न टिका सुनुवार, रक्तिम लामा र अन्य नचिनिएका ६ जनाविरुद्ध २०५९ सालमा रामेछाप प्रहरीमा उजुरी दिए पनि अहिलेसम्म प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छैन । १२ बर्षसम्म कारबाही प्रक्रिया अगाडि नबढेपछि गणेशकुमारका छोरा विजयले पुनरावेदन अदालतमा रिट दायर गरेका थिए । अदालतमा अधिवक्ता राजकुमार महासेठ, पुष्प पौडेल, सिताशरण मण्डल लगायतले बहस गरेका थिए ।

मेरो काका उज्जनकुमारको हत्यामा संलग्न बालकृष्ण ढुंगेललाई सर्वश्व लगायतलाई जन्मकैदको फैसला गरेपनि उनलाई अहिलेसम्म जेल हालिएको छैन । न त मेरो बुवा गणेशकुमारको हत्यामा संलग्नहरुमाथि नै कारबाही अगाडि बढेको छ ।’, पीडितले भने,‘दिदीकै आँखा अगाडि बुवाको गोली हानी हत्या गरियो । जसका कारण दिदी रचनाले समेत आत्महत्या गर्नुभयो । हाम्रो परिवारले न्यायका लागि कहिलेसम्म लडिरहने ?’ १९ बर्षीय विजयले बुवाको हत्या हु“दा आफू ७ बर्षको मात्रै रहेको बताए ।

उज्जनकुमारको हत्या प्रकरणमा बालकृष्ण ढुंगेलसँगै दोषी ठहरिएका पुष्कर गौतम जेल चलान भइसकेका छन् । १२ वर्षपछि अदालतले प्रहरीलाई दिएको आदेश कार्यान्वयन हुन्छ या हु“दैन थाहा छैन । एकातिर सत्यनिरुपण र मेलमिलाप आयोग पनि गठन भइसकेको छ । तर, कुरो के हो भने १२ वर्ष पर्खंदा पनि हत्यारा उही माओवादी नै भएको ठहर भइसकेको छ ।

Post a Comment

0 Comments