Subscribe Us

सभापति कोईरालाका कारण पार्टीभित्रै नेताहरु क्रोधित

काठमाडौं । कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले दुई पटकसम्म वार्ताका लागि एमाओवादीसहितका विपक्षीलाई आह्वान गर्दा पनि वातावरण बनेको छैन भन्ने जवाफ आएपछि पार्टीभित्रै नेताहरु क्रोधित बनेका छन् । बालुवाटारमा भएको केन्द्रिय समितिको वैठकमा बहुमत केन्द्रिय सदस्यहरुले विपक्षीको घुर्की सहेर बस्नुभन्दा पनि प्रक्रियामा अघि बढ्नुपर्ने सुझाव दिए । 

यद्यपि, सहमतिमा जानुपर्छ भन्ने नेताहरुको जोडलाई उनीहरुले नकारे । सहमति गर्ने भनेपनि कसैको घुर्कीका भरमा ठूलो पार्टी अनिर्णित हुन नहुने उनीहरुको सुझाव थियो । ‘अहिले लोकतन्त्रवादी, प्रजातान्त्रिक शक्तिको नेतृत्व एमालेले गर्न थालिसक्यो, कांग्रेसको स्ट्यान्ड भएन भन्ने भइसक्यो । ठूलो पार्टीको स्ट्यान्ड देखाउनका लागि पनि समयसीमामा वार्तामा नआए पेलेर जानै पर्छ ।’,वैठकमा एक केन्द्रिय सदस्यले भने,‘सहमतिका नाममा सभापतिले पनि धेरै झुक्न भएन ।’

वैठकमा हिन्दु राज्य अभियानको तयारी गरिरहेका नेता खुमबहादुर खड्का पक्षका नेताहरु माओवादी मोर्चालाई पेलेर जानुपर्छ र कांग्रेसको स्ट्यान्ड हुनुपर्छ भन्ने पक्षमा उभिएका थिए । नुर गिराएर बस्न नहुने उनीहरुको सुझाव थियो । 

‘वार्ता आह्वान भइसक्दा पनि सहमतिका लागि विपक्षी मोर्चा टेबुलमा बस्न तयार छैन र बाहना मात्र गरिरहन्छ भने पर्खिनुको कुनै अर्थ हुँदैन, प्रक्रियालाई अघि बढाउनुपर्छ ।’, बहुमत केन्द्रिय सदस्यहरुको साझा धारणा सुनाउँदै एक सदस्यले भने,‘नेताहरुलाई त्यहि सुझाव दिएका छौं ।’

बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले सहमतिका नाममा संविधानसभाको महत्वपूर्ण समय खेर फाल्न नहुनेमा जोड दिँदै एकीकृत नेकपा (माओवादी) नेतृत्वको विपक्षी मोर्चा वार्तामा नआए संविधान निर्माणको प्रक्रिया अघि बढाउन नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

सदस्यहरुले नेतृत्वलाई वार्ता एवम् संवादलाई प्राथमिकता दिई सो समयको अधिकतम् सदुपयोग गर्नुपर्नेमा जोड दिँदै विपक्षी मोर्चाले वार्ता र संवादलाई प्राथमिकता नदिए संविधान निर्माण प्रक्रियालाई पनि अघि बढाउनुपर्नेमा जोड दिइएको छ । प्रवक्ता दिलेन्द्रप्रसाद बडूका अनुसार संवादबाट सहमति खोज्ने प्रयत्न गरिरहँदा पनि अननन्तकालसम्म बाहनाबाजी हुने संकेत देखा परेपछि प्रक्रिया पनि सँगै लैजानुपर्नेमा नेताहरुले जोड दिए ।

Post a Comment

0 Comments