Subscribe Us

यस्तो रहेछ पोखारामा भएको ग्याङवारको रहस्य,
जहाँ प्रहरीको टाउको फुटेको थियो

पोखरा । गत शुक्रबार पोखरामा आपराधिक समूहका नाईकेका रुपमा परिचित शिव गुरुङ उर्फ महेन्द्र भोटे र अर्का गुण्डा नाइके सरोज भट्टराईबीचको झगडामा परी प्रहरी जवान भिमबहादुर रानाको टाउको फुटेको छ । यि दुबै समूहबीच विगतदेखि नै भित्री रुपमा मनमुटाव बढ्नुको कारण भने व्यवसायमा एकले अर्कोलाई लगाउने आरोप नै प्रमुख रहेको प्रहरी स्रोतको भनाई छ । 

काठमाडौंको लाजिम्पाटमा त्रिशरा गार्डेन नामक एक रेष्टुरेन्ट रहेको छ । त्यसका सञ्चालकहरुले लेकसाइडमा भट्टराईको बिजी बी क्याफेसँगै शाखा खोली त्रिशरा पोखरा क्याफे सञ्चालन गर्दै आएका थिए । त्रिशराको मार्केट बढेपछि भट्टराईको बिजी बीको व्यवसाय खस्किदै गएको महशुस गरी भट्टराईले त्रिशराका सञ्चालकहरु अरुण श्रेष्ठ, सोवन श्रेष्ठ, रनक रानालाई रेष्टुरेन्ट बन्द गर्न दबाब दिन थाले । भट्टराईले आफ्ना नातेदार एवम् रेवान कास्कीका अध्यक्ष गोपी भट्टराईमार्फत उनीहरुलाई पोखरा छाड्न दबाब दिंदै आएको बैदामका एक प्रहरीले बताए ।
त्यसपछि त्रिशराका सञ्चालकहरु भोटेको शरणमा पुगे भने भोटेले आफूले संरक्षण दिए वापत ३० प्रतिशत सेयर दिनुपर्ने शर्त राखी उनीहरुबीच सहमति भयो र उक्त क्याफे सञ्चालन हुँदै आएको थियो । यसरी भोटे समूह र भट्टराई समूहबीच बढेको द्वन्द्व अन्तिममा आएर भिडन्तमा परिणत भयो र त्यहाँ छुट्याउन गएको प्रहरीलाई नै भोटेका बाउन्सरहरुले रडले टाउकोमा प्रहार गरी घाइते बनाएका हुन् । 

प्रहरीले केहीलाई ज्यान मार्ने उद्योग र केहीलाई सार्वजनिक अपराधमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । तर कास्की प्रहरी प्रमुख एसपी हरीबहादुर पालले भने भट्टराईको समूह निर्दोष रहेको भन्दै छाडिदिएका छन् भने भोटेसहित दुई दर्जनलाई पक्राउ गरेका थिए । स्रोतका अनुसार कास्कीमा प्रहरी प्रशासनलाई आफ्नो पकडमा राख्दै आएका गोपी, गणेश भट्टराई जस्ता व्यवसायीले नै गुण्डागर्दी बढाउन सहयोग गरिरहेका छन् । 

भट्टराईको समूहले एलजी समूहका नाइके ललित गुरुङ, डिलबहादुर गुरुङ ‘डिले’, प्रशान्त गुरुङ ‘डेडे’ लगायतलाई संरक्षण दिने गरेको एक व्यवसायीले बताए । केही दिन अघि कांग्रेस नेता खुमबहादुर खड्का र शंकर भण्डारी पोखरा आई सांग्रिला होटलमा बसेको बेला जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी केदार रजौरेलाई खड्काले बोलाई ललितसँग कुराकानी गराएपछि ललितले नेतृत्व गरेको एलजी समूहको क्रियाकलपा बढ्न थालेको प्रहरी अधिकारीहरु बताउँछन् । ललित र डिलेमाथि हातहतियार, ज्यान मार्ने उद्योग, हप्ता असुलीमा प्रहरीमा मुद्दा छ । स्रोतका अनुसार रजौरेले यो समूहलाई संरक्षण दिंदै आएका छन् । 

उता पक्राउ परेकालाई प्रहरीले जस्तोसुकै दवाव आएपनि नछाड्ने एसपी पालले अडान लिंदै आएका छन् । भोटेको समूह पक्राउ परेपछि एमाले सभासद् रवीन्द्र अधिकारी र युवा संघका केन्द्रीय महासचिव राजीव पहारी भोटेलाई छुटाउन प्रहरी कार्यलय बैदाम नै पुगेका थिए । राजनीतिक संरÔणमा हप्ता असुली, अपहरणलगायतका घटनामा मुछिदै आएका भोटे सुरुमा कुख्यात आपराधिक समूह एलजीसँग आबद्ध थिए । पछि उनले छुट्टै समूह वनाएर असुली धन्दालाई तिब्र बनाउंदै आएका छन् । एलजीका नाइके ललित गुरुङ भने कांग्रेससँग आवद्ध छन् । तर टेन्डरलगायतका विभिन्न गुण्डागर्दीवाट कमाइ हुने रकमको भागवन्डामा भने उनीहरुवीच एकता हुने गरेको प्रहरीहरु वताउँछन् । भोटे समूहमा आवद्ध रहेका प्रशान्त गुरुङ भने ललितका भाई हुन् । 

लेकसाइडमा हप्ता असुलीलाई निरन्तरता दिन ललितले प्रशान्तलाई भोटे समूहमा पठाएको गुण्डाहरुबीच चर्चा छ । अर्कोतर्फ पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले प्रहरीको टाउको फुट्दा समेत प्रहरीको मनोबल गिराउने गरी भोटे समूहको समर्थनमा समाचार प्रवाह गरेका कारण कास्कीका पत्रकाहरु ज्ञवालीसँग रुष्ट बनेका छन् । आफ्नो विहेमा भोटेले ठूलो खर्च गरेको गुन र्तिन ज्ञवालीले भोटेद्धारा सञ्चालित ओजन क्लवलाई रातभरी सञ्चालन गर्न प्रशासनलाई दबाब दिने गरेको प्रहरी स्रोत बताउँछ ।

Post a Comment

0 Comments