Subscribe Us

नेताको लाजपचेको हाँसो, नेम्वाङको गलपासो

काठमाडौं । एक महिनाभन्दा बढि संविधानसभाको वैठक रोक्दापनि नेताहरुले सहमति नगरेपछि यतिवेला संकटमा फँसेका छन्, संविधानसभाध्यक्ष सुवास नेम्वाङ । नेताहरुको चियागफमा हुने लाजपचेको हाँसो, उनको गलपासो हुन थालेको छ । चुड्कीमा सहमति गर्छु भन्ने नेताहरु हाँस्ने तर सहमति नगर्ने हुँदा उनी संकटमा परेका हुन् । 

संविधानसभाको वैठक बोलाएर उपाध्यक्ष ओनसरी घर्तीलाई वैठक सञ्चालनका लागि जिम्मा दिन पनि नसक्ने नेम्वाङको बाध्यता छ । घर्तीलाई सञ्चालन गर्दा प्रक्रिया खारेजीको घोषणा गर्लिन् भन्ने पीर उनलाई परेको छ, बढेको प्रक्रिया रोकिएपछि सुरु नहुँदा अर्को संकट पनि आइलागेको छ । 

अहिले नेम्वाङ चार राजनीतिक शक्तिका नेताहरुप्रति शनिबार आक्रोशित मुद्रामा प्रस्तुत हुन थालेका छन् । संविधानस लेखनका लागि लामो समय नरहेको उल्लेख गरेका उनले अव संविधानसभा वैठक सञ्चालन भए सहमतिका नाममा स्थगन नहुने पनि बताए । भने,‘सहमति कहिले हुन्छ ? कसरी गर्नुहुन्छ ? जनतालाई नेताहरुले आश्वस्त पार्ने बेला आएको छ ।’

२९ माघमा स्थगन भएको वैठक फागुनभरि हुन सकेन । चैतको पहिलोसाता पनि बैठक बोलाउने विषयमा दलहरूका औपचारिक तथा अनौपचारिक बैठकले पनि सार्थक रूप लिन सकिरहेको छैन । ‘जनतासित संविधान प्राप्त गर्ने समय धैरै छैन, अहिलेसम्म धैर्य र सहनशील भई बसिरहेका छन् उनीहरू, यसैले अब बस्ने संविधानसभाको बैठकले संविधान मस्यौदा नबनुन्जेल निरन्तर रूपमा छलफल गर्नुपर्छ ।’, नेम्वाङले थपे,‘संविधान लेखनका क्रममा दलहरूका बीच टुटेको संवादहीनता जोडिएको छ, अब यो सम्बन्ध कहीँ कतैबाट टुट्न दिनुहुँदैन ।’

संविधान लेखनमा सहमतिका लागि दल र तिनका नेताहरूले नसकेको नभई नगरेको बताएका नेम्वाङले किन नगरेको ? भन्दै प्रश्न गरे । सहमति केही दिनमा, केही घन्टामा र चुड्कीमा गर्छु भन्ने नेताहरुलाई उनले सोधे,‘शीर्ष नेताहरू न्याय र निर्वाचन प्रणाली, शासकीय स्वरूप र राज्यको पुनःसंरचनका विषयमा चुड्कीका भरमा सहमति हुन्छ भनेर मलाई भन्नुहुन्छ तर अहिलेसम्म सहमति गर्नुहुँदैन किन नगरेको ?’ उनले छिटो संविधान जारी नभए देश दुर्घटनामा पर्ने हुनाले दल र तिनका नेतालाई सकारात्मक दबाब दिन सबैलाई आग्रह गरे । नेम्वाङले आफुले नेताहरुलाई सम्झान नसकेपछि अव नागरिक अगुवा र पत्रकारहरुलाई दबाबका लागि गुहार्न थालेका छन् ।

Post a Comment

0 Comments