Subscribe Us

पेरिसडाँडामा प्रचण्ड भए उत्तेजित ?,
आवेशमा नआउनुस् कामरेड, नेता बन्ने कोशिश गर्नुस

काठमाडौं । सहमति गर्ने भनेर अघि बढेको राजनीति एकातिर छ । प्रधानमन्त्री सुशिल कोइरालालाई भेटेर सहमति गरी नयाँ मिति घोषणा गर्ने छलफलमा प्रचण्ड लागेका छन् । यद्यपि, उनी दलहरुसँगको सहमति हुने या नहुने भन्ने कुरामा चिन्तित भन्दा पनि उत्तेजित हुन थालेका छन् । 

बालुवाटारमा मुसो भएर छिरेका प्रचण्ड पेरिसडाँडामा बाघ जस्तो गर्जेका थिए । उनले पेरिसडाँडामा नेताहरु भेला पारे, महिला नेताहरुको कार्यक्रम हुनुभन्दा अघि गर्जेका स्रोतले जनाएको छन् । ‘उहाँ सत्तारुढ दलका नेताहरुसँग उत्तेजित भएर प्रस्तुत हुनुभयो, कुरा के हो ? भन्ने विषयमा केही पनि जानकारी छैन । तर, उहाँ नेताहरुसँग रिसाएको भन्नेचाँही कार्यक्रममा आएपछि थाहा भयो ।’, स्रोतले भन्यो,‘अझै पनि सहमति नहुने हो की, आन्दोलन तुहाउने कोसिस भएको हो की भन्ने कुरामा अध्यक्ष चिन्तित हुनुहुन्छ ।’

एकातिर वार्तामा सकारात्मक देखिएर उचाइमा पुगेको आन्दोलन तुहाउने खेलपनि हुनसक्ने प्रचण्डको शंका थियो ।‘वार्तामा बस्ने हाम्र्रो निर्णयलाई कांग्रेस–एमालेले समय कटाउने खेल सम्झिए परिणाम गम्भीर हुनेछ’,प्रचण्डले पेरिसडाँडामा नेताहरुसँग भने,‘सत्तारुढ दल वार्ताबाट निकास निकाल्ने पक्षमा रहेको जस्तो लागेको छैन । यसमा उनीहरु गम्भिर भएनन् भने परिणाम अर्कैतिर जान्छ ।’

प्रधानमन्त्री सुशिल कोइरालासँग सकारात्मक देखिएपनि कांग्रेसका अन्य नेता र खासगरी एमाले अध्यक्ष केप ीओलीसहितका नेतासँग प्रचण्ड रिसाएक रहेछन् । उनले नामै किटान गरेर आफ्नो उत्तेजनालाई आवेगमा बाहिर पोखेका थिए । प्रचण्डले थपे,‘केपी ओलीलाई रुघाखोकी लाग्यो, माधव नेपाललाई खबरै भएन भन्ने कुरा छ, छलफल नसकी कांग्रेस नेताहरु पूर्वपश्चिम लागे । यसले उनीहरु गम्भिर छैनन् भन्ने देखिन्छ ।’

प्रचण्डले ३० फागुनसम्म पनि सहमति नभए आन्दोलनमा जाने बताए । अहिलेको वार्ताको वातावरण १६ फागुनको जनप्रदर्शनका कारण सम्भव भएको भन्दै उनले अर्काे आन्दोलनले सहमति बनाउन सहयोग गर्ने दाबी गरे । प्रचण्डले भने,‘कांग्रेस–एमालेलेमाने भने संविधान बन्छ नत्र आन्दोलन उठ्छ । महिला, दलित, मधेसी, आदिवासी, जनजाति लगायतका समुदायहरुको अधिकार प्राप्त नभए संघर्षमा जान्छौं ।’

१६ गतेको प्रदर्शनलाई एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरुले अपमान गर्ने शैलीमा टिप्पणी गरेको उनले आरोप लगाए । उनले देश संक्रमणकालिन पीडाबाट गुज्रिरहेको पार्टीमा पनि समस्या परेको बताए । हेटौंडा महाधिवेशनबाट अबको क्रान्ति नयाँ जनवादीबाट समाजवादी क्रान्तिको दिशामा गएको निश्कर्ष निकालिए पनि सो अनुरुपको सांगठनिक विकास नहुँदा पार्टी अलमलमा परेको उनले बताए । त्यसो त पेरिसडाँडा पुग्नु अघि प्रचण्डले यस्तो उत्तेजित मनोभाव ३० दलीय मोर्चाको वैठकमा पनि देखाएका थिए ।सत्तारुढ दलका नेताहरुप्रतिको रोष उनले पोखिसक्नासाथ त्यहि उनले आवेगमा नआउनका लागि सुझाव पाएका थिए । तर, प्रचण्डले त्यसो मानेनन् । 

मोर्चाको वैठकमा प्रचण्डले वार्ताको विषयमा सत्तारुढ दलहरुप्रति शंका देखाएपछि मोर्चाका अन्य नेताहरुले उनलाई त्यस्तो सुझाव दिएका थिए । एमाओवादी संसदीय दलको कार्यालयमा बसेको मोर्चाको बैठकले २३ फागुनमा भएको वार्तामा कांग्रेस र एमाले गम्भीर नबनेको निष्कर्ष निकालेको थियो । वार्ताको समीक्षा गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले सोही कुरा दोहो¥याएका थिए । ‘केपी ओली विरामी हुने, माधव नेपाललाई खबर नहुने अनि कांग्रेस नेताहरु पश्चिमतिर लाग्नुले हामी मात्रै गम्भीर बनेको देखियो ।’ भनेका थिए । 

उनीलगत्तै बोलेका मोर्चाका नेताहरुले दाहाललाई आवेशमा नआउन आग्रह गरेका थिए । त्यसपछि बोलेका मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले आवेगमा आएर वार्ताबाट भाग्न नहुने बताए । गच्छदारले प्रचण्डलाई गम्भीर बनेर अभिव्यक्ति दिन र निर्णय लिन आग्रह गरेका थिए । १६ फागुनमा खुल्लामञ्चमा दाहालले दिएको ‘मर्न तयार छु तर कांग्रेस एमालेसँग झुक्दिन’ भन्ने अभिव्यक्तिलाई लिएर गच्छदारले भने, ‘मर्ने कुरा गरेर मात्रै हुँदैन, तपाई आफ्नो दलको संसदीय नेताले जसरी अभिव्यक्ति नदिनुहोस्, मोर्चाको संयोजक पनि हो भन्ने बुझेर गम्भीर हुनुहोस् ।’

संसदीय समितिमा फर्कने मोर्चाले ११ माघदेखि बहिष्कार गर्दै आएको संसदीय समितिको काममा सहभागी हुने निर्णय गरेको थियो । संविधानसभाको दुई तिहाई मतबाट प्रश्नावली समिति बनेपछि मोर्चामा आवद्ध १९ दलले संसदीय समिति बहिष्कार गर्दै आएको थियो । 

Post a Comment

0 Comments