Subscribe Us

मेडिकल माफियाका चंगुलमा स्वास्थ्य क्षेत्र,

मेडिकल माफियाको कारण मुलुकको स्वास्थ्य क्षेत्र दिनानुदिन अस्तब्यस्त बनिरहेको छ । सुधारका लागि शिक्षण अस्पतालभित्र आमरण अनसनमा बसेका डा. गोविन्द केसीको आन्दोलनले अहिलेसम्म सरकारको मन छुन सकेको छैन । 

डा. केसीको आन्दालन सातै दिनमा पुगिसक्दा पनि सत्ता साझेदारी दल नेपाली काँग्रेस र एमालेले आन्दोलनलाई त्यति महत्व दिएका छैनन् । यसअघि पनि सरकार र डा. केसीबीच चार पटक सम्झौता भइसकेको छ । 

त्यसको कुनै कार्यान्वयन भएको छैन भने सम्झौंता कार्यान्वयनको क्रममा रहेका बेला सरकारले चोरबाट देवदह र विरोट मेडिकल कलेजलाई सम्वन्धन दिएपछि डा. केसीले आमरण अनशन बस्ने धम्की दिँदै आएका थिए । तर, सरकारले त्यसको कुनै टेरपुच्छर लगाएन । मेडिकल माफिया र भष्ट मन्त्रीहरुको घेरामा सरकार रुमलियो । काँग्रेस, एमाले, एमाओवादीजस्ता ठूला दलका नेता र निकटस्थ नै मेडिकल कलेजमा हिस्सेदार रहेका कारण कुनै पनि दललाई डा.केसीको आन्दोलनले छुन सकेको छैन । समर्थनमा जाने पनि भोली जनताले के भन्लान भन्ने डरका कारण त्यहाँ पुगेका हुन् । 

मनमोहन मेमोरियल मेडिकल कलेजका ७० भन्दा बढी सेयरधनीमध्ये अधिकांश एमाले नेता र एमालेनिकट चिकित्सक छन् । एमाले केन्द्रीय सदस्य तथा सभासद् राजेन्द्र पाण्डे अध्यक्ष रहेको उक्त मेडिकल कलेजमा डा.वंशीधर मिश्र, जीवन शर्मा, रामकुमार अधिकारी, केपी सिम्खडा, माणिकलाल मानन्धर, डा. जागेश्वर गौतम, सोमनाथ अर्याललगायत सेयरधनी रहेका छन् । 

त्यस्तै, आइओएमकै चिकित्सक प्रदीप ज्ञवाली र वशिष्ठ रिजाल समेत उक्त मेडिकल कलेजमा सेयरधनी छन् । काठमाडौं नेसनल मेडिकल कलेजमा जयरुद्धिन अन्सारी र वसिरुद्धिन अन्सारी प्रमुख सञ्चालक छन् । उनीहरुले विभिन्न सञ्चारमाध्यामलाई प्रभावमा पारेर भएपनि मेडिकल कलेज सञ्चालनमा ल्याउन प्रयासरत छन् । कहिले सर्वोच्चको आदेशलाई आधार मानेर त कहिले सञ्चारकर्मीलाई प्रभावमा पारेर भएपनि सम्बन्धन पाउन वकालत गर्दै हिडेका छन् । यी दुवै लगानीकर्ता माओवादी निकट रहेका छन् । 

वसिरुद्धिन अन्सारी त माओवादीको तर्फबाट पर्साका उम्मेदवार समेत बनेका थिए । त्यस्तै, नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका सुनील शर्माले आफ्नी श्रीमती र दिदीका नाममा पिपुल्स डेन्टल कलेजको सेयर राखेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको संरक्षण समेत प्राप्त शर्मा  अहिले प्रधानमन्त्री सुशील कोइराला निकट भएका छन् । चालु मेडिकल कलेजमा पनि नेताहरुको उपस्थिति बाक्लो रहेको छ । 

केही वर्षअघि गण्डकी मेडिकल कलेजमा लगानी गरेका खुमा अर्याल नेपाली काँग्रेस सदस्य हुन् । उनले समानुपातिक सभासद्मा आफ्नो नाम पार्न करोडौं खर्चेका थिए । तर उनको केही सिप चलेन ।  अन्ततः उनको लगानी बालुवामा पानी सावित बन्यो । अर्याल पेशाले चाटर्ड एकाउण्टेन्ट हुन् । आधा दर्जन मेडिकल कलेजको अडिट हेर्दा कलेजको कमजोरी थाहा पाई पछि त्यसैलाई आधार बनाएर ब्ल्याकमेलिङ गर्न थालेपछि अहिले उनी अन्य कलेजको समेत सेयरधनी बनेका छन् । अर्यालले गत वर्ष मात्र युनिभर्सल मेडिकल कलेज किनेका थिए भने नेपालगञ्ज मेडिकल कलेजमा समेत उनको २० प्रतिशत सेयर रहेको छ । 

काठमाडौं विश्वविद्यालयबाट भर्खरै सम्बन्धन पाएको विराट मेडिकल कलेज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीका आफन्त ज्ञानेन्द्र कार्की हो । देवदह मेडिकल कलेजका सञ्चालकहरु रजनीश जिन्दाल, निलकण्ठ काफ्ले र हिमलाल ज्ञवाली एमाओवादी नेता बाबुराम भट्टराई निकट मानिन्छन् । भट्टराईले आफू प्रधानमन्त्री हुँदा देवदहलाई सम्बन्धन दिलाउने प्रयास गरेका थिए । 

यसको सम्बन्धनमा अनियमितता भएको भन्दै अख्तियारले अनुगमनमा संलग्न मेडिकल काउन्सिल तथा केयु पदाधिकारीविरुद्ध विशेÈ अदालतमा मुद्दा नै दायर गरेको थियो । उनीहरुले अनाधिकृत रुपमा सम्बन्धन प्राप्त गरी धमाधम विद्यार्थीलाई पढाइरहेका छन् ।  अख्तियार प्रमुख लोकमानसिंह कार्कीको कारण विराट मेडिकल कलेजले सम्वन्धन प्राप्त गरेको हो । डा. केसीले आयोगका प्रमुख आयुक्त कार्कीलाई समेत अनुसन्धान गरी कारबाही गर्नु पर्ने माग  राखेका छन्  । 

डा. केसीको नजरमा अख्तियार प्रमुख आयुक्त कार्की नै दोषी छन् भने उनलाई कारबाही गर्न डा.केसीले माग राखेका छन् । त्यस्तै, नेपालगञ्ज मेडिकल कलेजका डा.सुरेश कनौडिया त नेपाली कांग्रेसका समानुपातिक उम्मदेवार नै बनिसकेका ब्यक्ति हुन् । पार्टी र नेताका डोनर समेत रहेका ब्यवसायी डाक्टर र नेताहरुको कारण डा. केसीको माग ओझेलमा पारिँदै छ । समयमा नै आमनागरिक सचेत हुनुपर्ने बेला आएको छ कि भ्रष्ट र माफियाको घेरामा रहेको सरकार र नेताको साथ दिने कि शैक्षिक माफिया मुक्त शिक्षा प्रणालीको ?

Post a Comment

0 Comments