Subscribe Us

एमाले नेता ढकालको निधन,दाहसंस्कार सोमबार
यस्तो थियो ढकालको राजनीतिक यात्रा

काठमाडौँ, २२ चैत । स्वाइन फ्लुका कारण अस्वस्थ भई गत साता अस्पताल भर्ना हुनुभएका नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा लुम्बिनी अञ्चल इञ्चार्ज रामनाथ ढकालको आईतवार निधन भएको छ । यही चैत १४ गतेदेखि धापासीस्थित गम्भीर अवस्थामा ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका नेता ढकालको आईतवार  दिउँसो १ः३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन ।

 ढकाललाई चैत १५ गते थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारतको नयाँदिल्ली लाने तयारी भए पनि मौसमको प्रतिकूलताका कारण यही उपचार गराइएको थियो । नेता ढकालप्रति अन्तिम श्रद्धाञ्जलिका लागि उहाँको शवलाई सोमबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय, बल्खुमा राखिने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । ढकालको दाहसंस्कारको समय र स्थान भने तय भइसकेको छैन । ढकाल अघिल्लो संविधानसभामा राज्य व्यवस्था समितिका सभापति पनि हुनुहुन्थ्यो ।
 
ढकालको निधनले ‘एमाले मर्माहत र शोक विह्वल’, दाहसंस्कार सोमबार

 नेकपा (एमाले) का पोलिटब्युरो सदस्य रामनाथ ढकालको निधनले सिङ्गो पार्टी स्तब्ध, मर्माहत र शोक विह्वल भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । स्वाइन फ्लुबाट पीडित ढकालको आज दिउँसो ग्राण्डी अस्पतालमा उपचारका क्रममा दुःखद निधन भएको थियो । उहाँ ५२ वर्षको हुनुहुन्थ्यो ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा ढकाल विगत केही समययता क्षयरोग र लिम्फोमा विरुद्ध सङ्घर्षरत रहनुभएको तथा चिकित्सकको अथक प्रयासका बीच उपचारका क्रममै भएको दुःखद निधनले सिङ्गो पार्टी असाध्यै मर्माहत भएको जनाइएको छ ।

‘दुःखको यस घडीमा एमाले केन्द्रीय कार्यालय ढकालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ । उहाँको पार्थिव शरीरलाई भोलि बिहान ८ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बल्खुमा अन्तिम श्रद्धाञ्जलिका निम्ति राखिने र ११ बजे पशुपति आर्यघाटमा विधिवत् दाहसंस्कार गरिने भएको छ । उहाँका दुई श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

यस्तो थियो ढकालको राजनीतिक यात्रा

विसं २०१९ पुस ५ गते गुल्मी जिल्ला खड्गकोट गाविस वडा नं ३, उपल्लो कोरेङमा बुबा दीनानाथ शर्मा ढकाल र आमा देवकला शर्मा ढकालका ज्येष्ठ सुपुत्रका रूपमा जन्मनुभएका ढकाल एमालेका जुझारु युवा नेता हुुनुहुन्थ्यो । विसं २०३७ मा अनेरास्ववियुको गुल्मी जिल्ला कोषाध्यक्षका रूपमा लोकतान्त्रिक आन्दोलनमा होमिनुभएका उहाँ सङ्गठनका विभिन्न जिम्मेवारी सम्हाल्दै अनेरास्ववियुको केन्द्रीय अध्यक्ष निर्वाचित हुनुभयो र विद्यार्थी आन्दोलनको चर्चित र अग्रणी नेताका रूपमा स्थापित हुन सफल हुनुभयो ।

विसं २०४० सालमा नेकपा (माले) को पार्टी सदस्यका रूपमा कम्युनिस्ट आन्दोलनमा संलग्न उहाँले पार्टीको लुम्बिनी अञ्चल सचिव तथा अञ्चल इञ्चार्जको जिम्मेवारी बहन गर्नुभएको थियो । सातौँ महाधिवेशनपछि केन्द्रीय सदस्य रहनुभएका ढकाल नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा पुनः निर्वाचित हुनुभएको थियो र हाल उहाँ पार्टी पोलिटब्युरो सदस्य र लुम्बिनी अञ्चल इञ्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

पञ्चायतकालमा पटक–पटक प्रहरी प्रशासन र अन्य पक्षबाट उहाँमाथि साङ्घातिक आक्रमण पनि गरिएको थियो । विसं २०५१ सालमा गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित उहाँले विकासप्रेमी, सक्रिय र प्रभावकारी सांसदका रूपमा आफ्नो विशिष्ट छाप छाड्न सफल हुनुभएको एमालेले जनाएको छ ।

विसं २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा रूपन्देही क्षेत्र नं ५ बाट विजयी उहाँले व्यवस्थापिका–संसद्मा राज्य व्यवस्था समितिको सभापतिका रूपमा निर्वाह गर्नुभएको भूमिका संसदीय इतिहासमा सदैव स्मरणीय रहने एमालेको ठहर छ । रासस



Post a Comment

0 Comments