Subscribe Us

कोइरालाबाट टाढिँदै सहकर्मी,
नयाँ अनुहारमा यस्ता पनि कोइरालाका सहयोगी ?

काठमाडौं । प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति सुशील कोइराला आफ्ना बिवगतका सहकर्मी र मित्रहरुबाट टाढिदै जान थालेका छन् । पार्टी सभापतिमा निर्वाचित भएपछि केही असन्तुष्ट बनेका कोइराला निकटका सहकर्मीहरु प्रधानमन्त्रीमा कोइरालाले एक बर्ष ब्यतित गरेपछि उनीसँग क्रमश टाढिदै जान थालेका छन् । 


सरकार र पार्टीको नेतृत्व गर्दा समेत कोइरालाबाट खासै संरक्षण, अवसर र उपलब्धी पाउन नसकेपछि उनी निकटकाहरुले उनलाई क्रमश छोड्न थालेका हुन् । कोइरालाले सत्ता र पार्टीको नेतृत्व गर्दा समेत दुख, पीडा, समस्या र अप्ठ्यारोमा परेका पार्टी कार्यकर्तालाई सहयोगको नाममा सुको पनि उपलब्ध नगराएपछि निरास बन्न थालेका छन् । कोइराला सत्तामा जति धेरै बस्छन्, त्यति नैं उनी निकटकाहरु निरास बन्दै टाढिन थालेका छन् । 

सत्ताको अनुभव नभएका कोइरालाले आफ्नो ६ दशक लामो राजनीतिक यात्राको उत्तरार्धमा प्रधानमन्त्री जस्तो कार्यकारी पदमा पुगिसक्दा अलोकप्रीयता आर्जन गर्ने मात्र होइन्, सहकर्मीहरुबाट टढिदै पनि गएका छन् । सत्ता र सत्तारुढ दलको नेतृत्व गरिरहेका कोइरालाको जीबनशैली र कार्यशैलीमा सत्तामा पुग्नु अघि र पछि धेरै भिन्नता देखिएको छ । लामो राजनीतिक यात्रामा रहँदाका आफ्ना सहयोगी, निकटस्थ र बिश्वास पात्र पनि कोइरालासँग यतिबेला छैनन् ।
 विगतमा उनले अविश्वास गरेकाहरु यतिबेला उनका निकटस्थ भएका छन् । एका दुई लाई छाडेर कोइराला बिल्कुलै नयाँ बिश्वासपात्रको सहयोग, समर्थन, सल्लाह र सुझावमा हिंड्न थालेका छन् । कोइरालाले आफुलाई टावर पर्सनालिटीको पहिचान बनाईसकेका स्वर्गिय गिरिजाप्रसाद कोइरालाको पद चिन्हमा हिंडाउने प्रयास गर्नबाट पछि हटेका छैनन् ।  कोइरालाको कार्यशैली परिबर्तन नहुँदा कोइरालाको राजनीतिक लक्ष्य नैं फेल हुने अवस्थामा पुगेको छ । 

कोइरालाको राजनीतिक थलो पश्चिमाञ्चल क्षेत्रबाट कसैलाई पनि लाभको पद र मन्त्री पनि बनाउन सकेनन् । सबैको नजरमा बिबादित हुन नचाहने र नरम स्वभाव प्रस्तुत गर्ने कार्यशैलीका कारण कोइरालाको किचन क्याबिनेट यतिबेला अत्यन्तै साँघुरो घेरामा पुगेको छ । विगतमा उनलाई असहयोग गर्नेहरु यतिबेला उनका सबैभन्दा नजिकका सहयोगी वा सहयात्री बनेका छन् । 

कोइरालाको दशकौं लामो राजनीतिक यात्रमा साथ दिएका पार्टीका केन्द्रीय सदस्य एबं पूर्ब महामन्त्री केबी गुरुङ, केन्द्रीय सदस्य एबं पूर्ब मन्त्रीहरु गोबिन्दराज जोशी, लक्ष्मणप्रसाद घिमिरे, बिनयध्वज चन्द, सुनिल भण्डारी, बलदेब शर्मा मजगैयाँ, सभासद् रामचन्द्र पोख्रेल, पूर्ब राज्यमन्त्रीहरु झलकनाथ वाग्ले, सुशीलमान शेरचनदेखि पार्टीका पूर्व प्रचार संयोजक एबं पूर्बसभासद् पुरुषोत्तम बस्नेत, पूर्ब स्वकिय सचिव लक्ष्मण ढकाल प्रधानमन्त्री कोइरालाको लागि यतिबेला बिरानो बनेका छन् । 

यिनीहरु त प्रतिनिधिमूलक पात्र मात्र हुन् । कोइरालालाई कोइराला परिवारबाटै माथि उठाउन योगदान दिएका डा. शेखर कोइराला उनका कट्टर बिरोधी भएर आएका छन् । कोइरालाको पछिल्लो राजनीतिक उचाईलाई चिनाउन दक्षिणको छिमेकी मुलकुसँग राम्रो सम्बन्ध बनाउन भूमिका खेल्ने कांग्रेस सभासद् अमरेस कुमार सिंह पनि कोइरालासँग नजिक छैनन् । कोइरालाको पछिल्लो कार्यशैलीबाट असन्तुष्ट भएका तर कोइरालाले बेला मौकामा प्रयोग गरिँदै आएका बिश्वास पात्रहरुमा महामन्त्री कृष्णप्रसाद सिटौला पनि आउँछन् ।

आफैले महामन्त्रीमा प्रस्ताव गरिएका सिटौलाप्रति समेत कोइरालाले बेला मौकामा आशंका ब्यक्त गरेका छन् । कोइरालाले बिगतमा नजिकमा राखेर सहयोग लिएका सञ्चारकर्मी, ब्यबसायी, कानुन ब्यबसायी, चिकित्सक पनि यतिवेला उनको बिश्वास पात्र बन्न सकेका छैनन् । भातृ संस्थाका अध्यक्षहरु आफ्नै अर्थात संस्थापन पक्ष भएपनि उनले बिश्वास गर्न छाडेका छन् ।
 
यस्ता पनि प्रधानमन्त्रीका सहयोगी ?
 
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा एक दिन नेपालका प्रथम शहिद लखन थापाका परिवारका सदस्य र नेपाल मगर संघका पदाधिकारीहरु प्रधानमन्त्री कोइरालालाई भेट्न गएका थिए । धेरै प्रयास र अनुनय बिनयपछि प्रधानमन्त्रीकी अबैतनिक सल्लाहकार मृदुला कोइरालाले सभासद् अमरसिं पुुन समेतको उपस्थितिमा भनिन ‘ए ए अमरजी धन्दा मान्नै पर्दैन, अहिले एकैछिनमा म प्रधानमन्त्रीसँग लखन थापाजीलाई भेटाई दिइ हाल्छु नी, तपाइँ नपर्खिए हुन्छ ।’

प्रधानमन्त्रीकी सल्लाहकारको भूमिकामा रहेकी मृदुलाको यस्तो जवाफ सुनेर त्यहाँ उपस्थित भएका कांग्रेस मुख्य सचेतक चिनकाजी श्रेष्ठ, सभासद् पुन, मन्त्रालयका केही सचिव र राजनीतिज्ञहरुले जिब्रो काट्दै पुर्पुरोमा हात लगाए । उनले दिएको यस्तो अभिब्यक्तिको प्रतिबाद कसरी गर्ने भनेर सबै बिलखबन्दमा परे । यत्तिकैमा एक सुरक्षाकर्मीले मृदुलासँग बिन्ति बिसाउँदै भने ‘दिदी लखन थापा त शहिद हुन...... उनको परिवारका सदस्य पो भेट्न आएका हुन नी ।

यस्तै, प्रधानमन्त्रीका स्वकिय सचिव अतुल कोइरालाले प्रधानमन्त्रीले नैं सम्हालेको बिज्ञान, प्रबिधि तथा वाताबरण मन्त्रालयका सचिवलाई टेलीफोन गरी बालुवाटार बोलाए । तर लप्सीसचिव भनेर चिनिएका वाताबरण सचिव कृष्णचन्द्र पौडेलले उनलाई बालुवाटार आउन असमर्थ भएको ओठे जवाफ मोबाइलबाटै दिए । 

अनि कांग्रेसका ठेकेदार सभासद् भनेर चिनिएका दिपक खड्काको सल्लाहमा अतुलले उनै सचिवलाई एउटा जलबिद्युत आयोजनाको गाँठो फुकाई दिन आग्रह गरे । प्रधानमन्त्रीका स्वकीय सचिवको यस्तो दबाब सुन्नासाथ सचिब कड्किदै भने ‘तपाइँ जस्ता प्रधानमन्त्रीका स्वकीय सचिव त मैले धेरै देखेको छु, मलाई जलबिद्युत आयोजनाको बिषयमा सिफारिस गर्दै प्रधानमन्त्रीकै धेरै सल्लाहकारले भनीसकेका छन्, यस्ता दलाली कुरा नगर्नुस् ।’ 

सचिवको जवाफ सुनेर अतुलले भनेका थिए, ‘यो कुरा बाहिर हल्ला नगर्नु होला ।’ कोइरालाका नयाँ सहयोगीहरु
कोइरालाको किचनमा यतिबेला उनको सहयोगीको रुपमा राजनीति नबुझेकाहरुको हाली मुहाली छ । बिशेस गरी उनका स्वकिय सचिवको रुपमा मनोनित भएका अतुल कोइरालाले बिदेशमा लामो समय ब्यतित गरेकोले नेपालका राजानीतिज्ञ वा पार्टी कार्यकर्ता चिन्दैनन । नाताले बुहारी  पर्ने अमेरिकन नागरिक मृदुला, भाञ्जा रमेश कुमार शर्मा भण्डारी, भाञ्जे बुहारी आदि मात्र कोइरालाका बिश्वास पात्रको रुपमा सरकार चलाई रहेका छन् । 

कोइरालाको ६ दशक लामो राजनीतिक यात्रामा हालसम्म पनि साथ दिने एक मात्र ब्यक्ति हुन– दीलबहादुर घर्ति । उनी हालसम्म पनि कोइराला परिवारका सदस्य र विश्वासिलो राजनीतिज्ञको रुपमा सुशील कोइरालालाई साथ दिँदै आएका ब्यक्ती हुन् । कोइरालाले विगतमा आफ्ना राजनीतिक दुश्मन देख्ने र असहयोगी भनेर चित्रित भएका ब्यक्तिहरु नैं यतिबेला उनका निकटस्थ र विश्वास पात्र भएका छन् । 

यसको ज्वलन्त उदाहार हुन मन्त्री आचार्यद्धय । बन मन्त्री महेश आचार्य र कानुन मन्त्री नरहरी आचार्य कुनैं बेला सुशीलका पार्टी संस्थापन पक्षकै असन्तुष्ट धारका ब्यक्ति हुन् । नरहरीले गणतन्त्रको पक्षमा वकालत गरेको भन्दै तत्कालिन महामन्त्रीको रुपमा रहेका सुशीलले प्रवक्ताबाट गलहत्याएका थिए । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा रक्षा मन्त्री भएको बेला माओवादी सेनालाई तत्कालिन शाही नेपाली सेनाले रोल्पाको होलेरीमा घेराबन्दी पारेको भन्दै गिरिजाप्रसादलाई गलत बिफ्रिङ गरेपछि महेको बिरुद्ध शुसील नैं उत्रिएका थिए ।

 सुशील नेतृत्वको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल कांग्रेस बिभाजन गरी देउवालाई नया दल खोल्न प्रेरित गर्ने प्राथमिक भूमिकामा रहेका ब्यक्ति हुन् । कोइरालाका अर्का राजनीतिक सहयोगीको भूमिकामा रहेका आनन्द ढुंगाना २०४८ सालमा गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारबाट ६ महिनामै गलहत्याईने सांसद हुन् । ढुंगाना  सहित आधा दर्जन प्रधानमन्त्री बिरोधी मन्त्रीलाई गलहत्याउन उनै सुशीलले सिफारिस गरेका हुन् ।

पार्टीको १० औं महाधिबेसन अघि तत्कालिन महामन्त्रीको हैसियतले कोइरालाले काठमाडौं जिल्ला सहित १३ वटा निर्वाचित जिल्ला कार्य समिति भंग गरे । त्यसरी जिल्ला कार्य समिति भंग गर्दा काठमाडौ जिल्ला कार्य समिति सभापति प्रकाशमान सिंह पनि थिए । उनै सिंह यतिबेला सुशीलका सबैभन्दा नजिकका राजनीति सहयात्री बनेका छन् । चार बर्षअघि पार्टीको १२ औं महाधिवेसनमा सभापतिमा शेरबहादुर देउवासँग प्रतिष्पर्धा गर्दा उनै सिंहको सहयोग शुसीलले लिएका थिए ।  

एक दशक अघि राजानीतिमा युवा नेताको पहिचान दिलाउन खोज्ने सुशीललाई साथ दिएका युवा नेता एबं सभासद्हरु महादेब गुरुङ, शिबकुमार बस्नेत, पुस्कर ओझा, सुरेश मल्ल, पनि यतिबेला उनी भन्दा धेरै टाढा भएका छन् । कोइरालाबाट टाढिएकाहरुमध्ये मजदुर, शिक्षक, पत्रकार, चिकित्सक, कानुन ब्यबसायी बढी छन् । कोइरालालाई केन्द्रीय सदस्य एबं पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बढुले भने एक दशक यताबाट साथ दिइरहेका छन् ।

Post a Comment

0 Comments