Subscribe Us

बस्नै नहुने भए २१ सरकारी भवन,
११ अपर्टमेन्टमा रातो स्टिकर

काठमाडौँ । प्रलयकारी भूकम्पबाट २१ वटा सरकारी भवनमा बस्नै नहुने गरी क्षति भएको छ । भूकम्पबाट जीर्ण भएको  बबरमहलस्थित सडक विभागको भवनमा विशेषज्ञले ‘बस्न अयोग्य’ भनेपछि विभागका कर्मचारी पाल टाँगेर काम गरिरहेका  छन् । 

विभागका महानिर्देशक माधवकुमार कार्की नयाँ कार्यालय खोजेर व्यवस्थापन गर्न दुई हप्ता लाग्ने भएकाले त्यतिञ्जेल  विभागका प्रशासनिक काम प्रभावित हुने बताए । 

“विभागको केन्द्रीय कार्यालयमा हाल दुई सय कर्मचारी कार्यरत रहेका छन्, भूकम्पपीडितको उद्धारका लागि एक सय ५० प्राविधिक कर्मचारी सरकारले माग गरेकाले बाँकी कर्मचारीलाई तत्कालका लागि यान्त्रिक तालिम केन्द्र पाटनढोकामा सार्ने तयारीमा लागेका छौँ”–उनले भने । 

 राणा प्रधानमन्त्री चन्द्र शमशेरका माहिला छोरा बबर शमशेरको मूल दरबार २००७ सालमा प्रजातन्त्र स्थापनासँगै सरकारीकरण भएको थियो । सोही दरबारमा २०१३ मा सडक विभाग स्थापना भएको हो ।  विभागका २० वटा भारी उपकरण ( हेभी इक्विपमेन्ट) वैशाख १२ गतेदेखि नै उद्धारमा परिचालन गरिएका छान् ।
 
सरकारी २० र एउटा अपार्टमेन्ट बस्न अयोग्य
 
शहरी विकास तथा भवन निर्माण विभागले काठमाडौँ उपत्यकाका एक सय ७७ सरकारी कार्यालयमा गरेको अध्ययनबाट २० वटा कार्यालयमा काम  गर्न नसकिने अवस्था रहेको जनाएको छ । विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर मचाकाजी महर्जनले बाँकी कार्यालयको अध्ययन भइरहेको जानकारी दिए । “बस्न नहुने भवन जनाउन रातो ‘स्टिकर’ टाँसिएको छ, छिर्नसम्म मिल्ने कार्यालयमा पहेँलो र कार्यालय सञ्चालन गर्न सकिनेमा हरियो स्टिकर टाँसिएको छ, पत्र र फोनबाट अध्ययनका लागि अनुरोध भएका कार्यालय भवनको निरीक्षण भईरहेको छ ”–उनले भने । 

 पाँचवटा सरकारी अस्पतालमा रातो स्टिकर टाँसिएको  छ । बस्न जोखिमयुक्त भएकाले त्यसो गरिएको हो । थापाथलीस्थित प्रसूति गृहको मुख्य भवन, बीर अस्पतालको पुरानो भवन, शुक्रराज ट्रपिकल अस्पतालको स्टोर भवन, पाटन अस्पतालको निर्देशन कक्ष र भक्तपुर अस्पतालको पुरानो भवनमा रातो स्टिकर टाँसिएको छ । काठमाडौँ उपत्यकामा सञ्चालित ६४ वटा सरकारी अस्पतालमध्ये नौ वटा अस्पताल भवन पस्नसम्म सकिने अवस्थामा रहेका र ५० वटा अस्पताल भवन सञ्चालनयोग्य रहेका वरिष्ठ डिभीजनल इन्जिनीयर महर्जनले बताए । 

थापाथलीस्थित  नेपाल राष्ट्र बैंकका दुई भवन, बबरमहलको आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालय भवन, हरिहर भवनस्थित कृषि विभागका दुई भवनमा रातो स्टिकर टाँसिएको छ । त्यस्तै, हरिहरभवनस्थित निजामती किताब खाना, रक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय र भक्तपुरको राष्ट्रि«य कला सङ्ग्रहालय दुई वटा भवन पनि काम गर्न नसकिने गरी क्षतिग्रस्त भएका छन् । तिनमा पनि रातै स्टिकर टाँसिएको छ । 

सर्वोच्च अदालतका सबै भवन र महान्यायाधिवक्ताको कार्यालयको चमेना गृह प्रवेशका निम्ति अयोग्य भएका विभागले जनाएको छ । विभागले उपत्यकाका १० वटा ‘अपार्टमेन्ट’मा गरेको अध्ययनअनुसार धापासीको पार्क भ्यू अपार्टमेन्टमा रातो स्टिकर टाँसेको छ ।अहिलेसम्म अध्ययन गरिएका १७७ सरकारी भवनमध्ये २० वटामा प्रवेश गर्न नसकिने, ४० वटामा प्रवेशसम्म गर्न मिल्ने र एकसय १६ वटामा कार्यालय नै सञ्चालन गर्न सकिने  विभागले जनाएको छ ।

Post a Comment

0 Comments