Subscribe Us

कम्बल हैन पाल देउ



अच्युत रेग्मी  
जीवनपुर । भूकम्प प्रभावित क्षेत्र धादिङ जीवनपुरका बासिन्दाले कम्बलभन्दा पाल वा जस्तापाताको आबाश्यक भएकोे बताएका छन् । १२ वैशाखमा  आएको भूकम्पले घरवारविहीन भएका जनता आफ्नो जिउको सुरक्षा र वर्षात्बाट बच्न बासको लागी जस्तापाताको वा पालकै माग गरेका हुन् ।

जीवनपुर गाविस–८ निवासी कान्छी तामाङले भूकम्पले घर लगेपछि ओत लाग्नका लागि पालको सबैभन्दा ठूलो आवश्यक रहेको बताएका छन् । उनले भने, “विस्तारै बर्षायाम सुरु हुन थालेको हुँदा परिवारको सङ्ख्या ठूलो भएको कारणले कम्बलभन्दा पाल नै दिए बस्न पाइन्थ्यो पाल एवटा मात्र हुँदा पानी चुहिएर हैरान भएको छ ।”

सोही गाउँकी निर्मला तामाङको पीडा पनि उस्तै छ । उनले भने, “तत्काल कम्बलभन्दा राज्यले पाल दियोस कम्बल त भत्किएको घरबाट पनि निकाल्न सकिन्छ । स्थानीय बच्चुराम ढकाल राहत बाँड्न आएका कैयौँ संस्थाले त्रिपाल थोरै ल्याउँदा सबै परिवारलाई नपुगेको भन्दै स्थानीयवासी राहत बाँड्न आउनेसँग पाल नै माग्न बाध्य भएको बताएका छन् । 

 वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा उक्त गाविसमा ५७ जनाको ज्यान गएको थियो भने १सय ३ जना घाइते भएका थिए । जीवनपुर गाविसमा रहेका दुई हजार २ सय १५ घरमध्ये दुई हजार २ सय १ घर पूर्णरूपमा बस्न नहुने गरी ध्वस्त भएकाले यहाँका जनताले दुःख व्यहोर्न परेको सो गाविसकी सचिव विन्दाकुमारी खड्काले बताईन् । उनले भूकम्प गएको दुई दिन पछाडि सदरमुकामबाट केही राहत सामग्री ल्याई पीडित परिवारलाई वितरण गरेको सचिव खड्काले बताए । 

भूकम्प आएपछि सो गाविसमा राहत बाँड्न करिब दुई दर्जनभन्दा बढी सङ्घसंस्था पुगेपनि थोरै सामग्री लिएर उक्त ठाउँमा पु¥याएकाले सबै घरपरिवारलाई पु¥याउन गाह्रो परेको स्थानीय समाजसेवी विदुरप्रसाद अकौलिया बताईन् । भूकम्पबाट पीडित तथा गरिब परिवारको अवस्थाबारे बुझ्न तथा राहत वितरण गर्न पुगेका गरिब घरपरिवार तथा समन्वय बोर्डका उपाध्यक्ष चिन्तन पौडेल हरेक घरपरिवारलाई विपद्को बेला सहयोग गर्नु पहिलो प्राथमिकता रहेको बताए ।       

उनले गरिब घरपरिवार तथा समन्वय बोर्डले गरिब र भूकम्पपीडित पहिचान कार्यक्रम ल्याउन लागेको भन्दै वास्तविक गरिब र भूकम्पपीडितले वडा र गाविसमा सही तथ्याङ्क दिन आग्रह गरे । पौडेलको समन्वयनमा अखिल भारत माडवारी युवा मञ्चले ल्याएको सामग्री सो गाविसका बडहरे, ढकालखोला, डडुवा, फुरौले, बद्रीटार, बाह्रबिसे, सेढाइगाउँमा, कुमाइखोला, धाराचौर, आँपघारी, बेलडाँडा, छत्रेपाटी, भागेलगायतका एक हजारभन्दा बढी घरपरिवारमा वितरण गरिएको थियो । वितरण गरिएका सामग्रीमा त्रिपाल, कम्बल, चिउरा, अम्खरा, कचौरा, थाल, बिस्कुटलगायतका रहेका छन् ।

नेपालीको पीडामा केही कमी होस् भन्न आफूले विभिन्न ठाँउबाट सङ्कलन गरिएको राहत यहाँ ल्याएर वितरण गरिएको माडवारी युवा मञ्च बिहारका संयोजक दीपक अग्रवालले बताए । माडवारी युवा मञ्चले यसअघि नुवाकोट, गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लामा राहत वितरण गरिसकेको छ । रासस

Post a Comment

0 Comments