Subscribe Us

पूर्व न्यायाधीश उप्रेतीको शव शिक्षण अस्पताललाई,
कुशको शव बनाएर दाहसंस्कार

काठमाडौँ, । “इच्छामृत्यु” भन्दै आत्महत्या गरेका सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीको शव सोमवार त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको छ । 
 
उनकोे शव ‘सुसाइट नोट’मा उल्लेख भएबमोजिम सो अस्पताललाई  हस्तान्तरणपछि हिन्दू धार्मिक संस्कारअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको भाइ चेतराज उप्रेतीले जानकारी दिएका छन् ।  
 
 आफूले इच्छामरण गरेको र यो शव त्रिवि शिक्षण अस्पताललाई दिनु उसले नलिए अन्य कुनै शिक्षण अस्पतालाई दिनु, काजकिरिया खर्चबापत रु पाँच लाख भूकम्पपीडितलाई दिन प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्नु भन्ने कुरा ‘सुसाइट नोट’मा लेखिएको उनका नातेदारसमेत रहेका वरिष्ठ अधिवक्ता रामनाथ मैनालीले जानकारी दिए ।

चार वर्षसम्म सर्वोच्च अदालतको अस्थायी न्यायाधीश भएर पनि स्थायी नगरिएपछि समय सकिनु अगावै राजीनामा दिएका थिए । न्यायाधीश हुनुअघि स्व उप्रेती एसियाली विकास बैंक, विश्व बैंकलगायतका संस्थाको कानुनी सल्लाहकार थिए । न्यायाधीश भइसकेको व्यक्ति राष्ट्रिय मानव अधिकार आयोगको पदाधिकारीबाहेक कुनै पनि पदमा काम गर्न नपाउने संवैधानिक किसिमले रोकेपछि उप्रेति कामविहीन हुन पुगेका थिए ।

वरिष्ठ अधिवक्ता मैनालीका अनुसार नेपाल बार एसोसिएसनले चेम्बर प्राक्टिस गर्न (आफ्नै कार्यालयमा गरिने कानुनी कामसमेत) रोकेकाले यसले आफूलाई ठूलो चोट पु¥याएको उनको सो नोटमा उल्लेख गरेका छन् ।  काठमाडाँको ज्ञानेश्वरमा बस्दै आउनुभएका ६५ वर्षीय स्व उप्रेतीको जन्म सिन्धुपाल्चोकको लिङ्खु गाविसमा भएको थियो । उनको  श्रीमती, एक छोरा र दुई छोरी छन् ।

Post a Comment

0 Comments