Subscribe Us

जिर्ण कारागारमा रहेका कैदीलाई सुरक्षित पार्न वा आममाफी दिन माग

काठमाडौ, । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले महाभुकम्पका कारण अधिकांश कारागार जिर्ण भएको हुँदा त्यहाँ रहेका कैदी बन्दीलाई तत्काल सुरक्षित बासको ब्यवस्था वा प्रक्रिया पुर्याएर आममाफी दिन आग्रह गरेका छन । 

आयोग र रिपोर्टर्स क्लब नेपालले संयूक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै पाठकले भुकम्पबाट ७१ वटा कारागार मध्ये ३६ वटा चर्किएको र ३ बटा ध्वस्त भएकोले त्यहाँका कैदीलाई सुरक्षित स्थानमा स्थानान्तरण वा प्रक्रिया पुर्याएर आममाफी दिन आग्रह गरेका छन् । 

रिपोर्टर्स क्लब नेपालको भुकम्मा परि जिर्ण भएका कारण खुल्ला स्थानमा गरिएको कार्यक्रममा उनले विपत्त परेको यो बेला कैदी बन्दीहरुलाई मानवीयताको आधारमा हेर्नु पर्ने भन्दै २०७१ सालको मन्त्री परिषदको निर्णयलाई खारेज गरेर २०६८ सालको निर्णय लागु गरेर कैदी बन्दीमाथि ब्यवहार गर्नु पर्ने बताए । 

पाठकले अहिले विपत्तिको बेला विशेष परिस्थिति भएकोले कैदी बन्दीहरुलाई राष्ट्र निर्माणमा लगाउनु पर्ने सुझाव दिदै भुकम्पको कारण कुनै कैदी बन्दीको मृत्यू भए त्यसको जिम्मा सरकारले लिनुपर्ने धारणा राखे ।आफूहरुले कारागार भवन जिर्ण भएकोले सुरक्षामा ध्यान दिन चार महिना अघिनै सरकारलाई सुझाव दिईसकेको जानकारी दिदै तर राज्यले अहिलसम्म पनि त्यसलाई ध्यान नदिई हेलचेक्राई गरेको आरोप लगाए । 

फागुनमै ५० प्रतिसत कैद भुक्तान गरेकालाई आममाफी दिनु पर्नेमा सरकारले त्यो नदिदा १३ कैदीबन्दी कारागारमा बसिरहनु परेको भन्दै यसको लागि सरकारलाई सकारात्मक दवाव दिनु पर्ने आवश्यकता औल्याए ।
पाठकले भद्रगोल कारगारमा १६ जनाको मृत्यू, ४० विरामी र ९ सिकिस्त भए पनि कैदीको जीवन रक्षाको लागि आफूहरु सक्रिय भएको भन्दै कसैलाई पनि अनाहकमा मार्न बाध्य पार्नु मानवता विपरित काम भएको बताए । राज्यले अझै पनि बेवास्ता गरे यस विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिस्तरबाट राज्य अप्ठ्यारोमा पर्ने बताए । 

पाठकले सरकारलाई दवाव दिन प्रधानमन्त्री, मन्त्रीहरु र जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाएर सकारात्मक दवाव दिनु पर्ने आवश्यकता समेत औल्याए । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले कैदी बन्दीका परिवारलाई विधी र प्रक्रिया अनुसार अगाडि बढेर सरकारलाई दवाव दिन सुझाव दिदै अनुशासित भएर दवाव दिन सके सकारात्मक परिणाम आउने विश्वास ब्यक्त गरे । 

यो विशेष परिस्थितिमा कैदी बन्दीको माग पुरा गर्न आमसञ्चारको माध्यमले समेत सकारात्मक भूमिका खेल्ने विश्वास ब्यक्त गर्दै गैरजिम्मेवार ढंगले नारा जुलुस नगर्न सुझाव दिए । अप्सरा कोइरालाले मुलुक अप्ठ्यारो परेको बेलामा कैदी बन्दीहरुलाई आमाफी दिएर देश निर्माणमा लगाउनु पर्ने भन्दै राणा शासनको बेलामा समेत भुकम्प आउँदा आममाफी दिएकोले लोकतान्त्रिक ब्यवस्थामा यसमा ध्यान दिनु पर्ने बताए । 

उनले जिर्ण कारागार भवनका कारण सबै कैदी बन्दी एउटै चिहान हुने अवस्था रहेको भन्दै यो अवस्थामा कि सरकारले उनीहरुलाई मार्नु पर्ने अन्यथा रिहा गर्नु पर्ने धारणा राखिन । उनले भनिन–छाड्न मिल्नेलाई छाडौ, नमिल्नेलाई परिवारको जिम्मा लगाएर तारेखमा राख्ने ब्यवस्था गर्नु पर्छ । कैदी बन्दी परिवारका तर्फबाट फणिराज लोहनी राजुले यस्तो विपत्तको बेलामा ४७ देशमा आममाफी दिईएको उदाहारण प्रस्तुत गर्दै आफ्ना आफन्तहरुलाई पनि अहिले आममाफी दिए पुर्ननिर्माणमा लाग्ने बताए ।

Post a Comment

0 Comments