Subscribe Us

गोरखाका बिद्यार्थीलाई किताब, कापी र कलमकै अभाब !

गोरखा । जील्लाका भूकम्पपीडित विद्यार्थीहरुले कापी, किताब र कलमको समस्या  झेल्नु परेको छ । १७ जेठबाट विद्यालय खुले पनि विद्यार्थीसँग अध्यन गर्नको लागी किताब, लेख्न कलम र कापीको अभाव छ ।

 सरकारले उपलब्ध गराउने पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक वितरणमा ढिलाइ भएपछि विद्यार्थी झन अन्योलमा परेका छन् । घर भत्केर टहरो बनाएर बस्दै आएका विद्यार्थीसँग कापी, कलमको समस्यासंगै  फेर्ने कपडाको पनि समस्या भएको छ । 

पैसा हुनेहरुले पनि पुस्तकलगायतका सामग्री किन्न पाएका छैनन् । गाउँमा खुलेका पुस्तक पसलहरु १२ वैशाखको विनाशकारी भूकम्पले भत्काएपछि ती सामानको अभाव देखिएको हो । “स्कुल त जान्छु । तर, कापी, कलम केही छैन”, बारपाकमा रहेको हिमालय उच्च माविको कक्षा–७ मा पढ्दै आउनुभएकी जुनु घलेले भन्नुभयो – “रित्तै स्कुल गयो । पढाइ हुँदैन । खेल्यो, फक्र्याे ।” भूकम्पले घरसँगै जुनुको कपडा पनि भग्नावशेषभित्र पुरिएका छन् ।

    “स्कुलको डे«स पनि घरभित्रै पुरियो”, घलेले गुनासो गर्नुभयो – “फेर्ने अर्को जोर कपडा पनि छैन ।” लगाएको लुगा पानीले भिजेपछि फेर्ने कपडा नहुँदा आगोमा सेकाएर लगाउनुपर्ने बाध्यता उनीहरुको छ । विद्यालयमा जेठ महिनाभर भूकम्पको त्रास हटाउन विभिन्न क्रियाकलाप गरियो । सदरमुकाम आसपासका क्षेत्रमा सञ्चालनमा रहेका विद्यालयमा धमाधम पढाइ भएको छ । तर, भूकम्पको केन्द्रविन्दु बारपाक, छिमेकी गाविसहरु, गुम्दा, घ्याच्चोक, लापुलगायतका क्षेत्रमा विद्यालय सञ्चालन भए पनि पढाइ सुरु गर्न सकिएको छैन ।

    लाप्राकको गाउँ नै विस्थापित भएपछि लाप्राकीहरु भूमे सामुदायिक वनको जग्गा गोप्सीडाँडामा अस्थायी टहरो बनाएर बस्दै आएका छन् । लाप्राकको मणिकामदेवी माध्यमिक विद्यालयमा कक्षा–१० मा हुनुभएकी पुष्पा गुरुङले भन्नुभयो– “बस्ने ठाउँको टुङ्गो छैन । स्कुल त कहाँ हो कहाँ ?” गुप्सीडाँडामा अस्थायी रुपमा पनि बसोबासका लागि समस्या भएपछि भूकम्प पीडितहरु अन्यत्र बस्ने तयारीमा छन् ।

    भूगर्भविद्, इञ्जिनियरहरुको परामर्श लिएर बस्ती स्थानान्तरणको तयारीमा लाप्राकी अगुवाहरु लागेका छन् । यसमा स्थानीयले पनि साथ दिएका छन् । सरकारले पनि बस्ती स्थानान्तरणका लागि अध्ययन सुरु गरेको छ ।

    भूकम्प गएको डेढ महिना बितिसक्दा पनि उत्तरी भेगमा रहेका २४ भन्दा बढी विद्यालय नियमित रुपमा सञ्चालनमा आउन सकेका छैनन् । सदरमुकाम झरेका शिक्षक विद्यालय जान सकेका छैनन् । स्थानीयस्तरमा रहेका शिक्षकले विद्यालय सुचारु गरे पनि विद्यार्थी पढ्न जाँदैनन् । वल्लो गाउँदेखि पल्लो गाउँसम्म आवतजावत गर्ने बाटोको ठाउँ–ठाउँमा अझै पहिरो खस्ने क्रम रोकिएको छैन । खासगरी मनास्लु पदमार्गको १३७ ठाउँमा झरेको पहिरोले पदमार्ग अवरुद्ध छ । पदमार्ग भएर उत्तरी गोरखाका सात गाविस आवतजावत गर्न सकिन्छ ।

    पहिरोले बाटो अवरुद्ध भएपछि केरौँजा गाविसको इच्छा निम्नमाध्यमिक विद्यालयमा किताब ढुवानी गर्न सकिएको छैन । नयाँ शैक्षिकसत्र सुरु भएपछि विद्यालयका लागि लगिएको किताब विद्यालय पुग्न नपाउँदै बाटोमै पुरिएको थियो । “किताब छैन । के पढाउने ?” विद्यालयका प्रधानाध्यापक विजयराज सापकोटाले भन्नुभयो– “भूकम्पले विद्यालय भत्कायो । प्राङ्गण चिराचिरा छ । गाविस भवन नजिकै जग्गा भाडामा लिएर टहरो बनाएका छौँ ।” अभिभावकसँग कापी, कलम किन्ने पैसा नहुँदा विद्यार्थीलाई समस्या भएको हो ।

    “अलिअलि भएको पैसा पनि अभिभावकले टहरो बनाउन खर्च गरेको देखियो”– सौरपानीको हिमालय उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाप्रसाद ढकालले भन्नुभयो – “यस वर्ष विद्यालय खडा गरेर विद्यार्थी पढाउन मुस्किल पर्ने भयो ।” स्थानीय भरतबाबु पनेरुको मकैबारी भाडामा लिएर हिमालय उमावि सञ्चालन गरिएको ढकालको भनाइ छ ।

    टहरो निर्माण गरेको उक्त जग्गा वार्षिक रु २५ हजार तिर्नेगरी सम्झौता भएको छ । विद्यालयको सातवटा भवनको १८ वटा कक्षाकोठा भूकम्पले ध्वस्त बनाएको थियो । विद्यालयमा ८०० विद्यार्थी अध्ययनरत छन् ।   भूकम्पले गोरखाका ४९५ विद्यालयका तीन हजार २०० कक्षाकोठा बस्नै नहुने गरी भत्काएको थियो । अहिले त्रिपाल, टेन्ट, जस्तापाताले छाएको अस्थायी टहरो बनाएर विद्यालय सुचारु गरिएको छ ।

    जिल्लाका करिब ७४ हजार विद्यार्थी अहिले टहराभित्र बसेर विभिन्न ज्ञानगुनका कुरा सिक्दै आएको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कले देखाउँछ । जिल्ला शिक्षा अधिकारी हरि अर्यालका अनुसार भूकम्पले २० प्रतिशत पाठ्यपुस्तक भग्नावशेषभित्र पुरिएका छन् । नयाँ पाठ्यपुस्तक जिल्ला ल्याउने र विद्यालयमा पु¥याउने तयारीमा जिल्ला शिक्षा कार्यालय लागिपरेको जिशिअ अर्यालको भनाइ छ । रासस

Post a Comment

0 Comments