Subscribe Us

काभ्रेमा धमाधम घर भत्काइँदै

 काभ्रे । जिल्लामा भूकम्पबाट क्षति भई बस्न अयोग्य भएका घर धमाधम स्थानीय निकायको स्वीकृतिमा भत्काउन थालिएको छ । सम्बन्धित गाविस वा नगरपालिकामा निवेदन दिई व्यक्ति स्वयम्ले आफँैले घर भत्काउन थालेको जिल्लाका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले जानकारी दिए । 

    अहिलेसम्म कति घर भत्काइएको छ भन्ने तथ्याङ्क नआए पनि क्षतिग्रस्त अधिकांश घर व्यक्तिहरुले भत्काउन थालेको स्थानीय विकास अधिकारी तिम्सिनाको भनाइ छ । जिल्लाको खास गरी बनेपा, धुलिखेल, काशीखण्ड, पाँचखाल नगरपालिका र विभिन्न गाविसमा घरधनीले नै पूर्णरुपमा क्षतिग्रस्त घर भत्काउन थालेको जिविस काभ्रेपलाञ्चोकले जनाएको छ ।

    भूकम्पबाट क्षतिग्रस्त बनेका घरको लगत सरकारी टोलीले सङ्कलन गरेपछि भत्काउने काम सुरु भएको हो । गत वैशाख १२ गते गएको भूकम्पका कारण जिल्लामा ५१ हजार ९२९ घर पूर्णरुपमा क्षति र २३ हजार १७९ घर आंशिक क्षति भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । त्यसमध्ये बनेपा नगरपालिकामा करिब एक हजार ४०० को हाराहारीमा घर क्षतिग्रस्त भएका छन् ।

यसैबीच, काभ्रेमा अहिलेसम्म अस्थायी टहरा निर्माणका लागि जिल्लाका ३० गाविसमा राहत स्वरुप प्रतिपरिवार रु १५ हजार वितरण गरिएको छ । त्यस्तै, बनेपा नगरपालिकामा पनि अहिलेसम्म ७०० घर परिवारलाई रु १५ हजारका दरले रु एक करोड ५० लाख वितरण भएको छ । उनीहरुलाई राहतसँगै भूकम्पपीडितको परिचयपत्रसमेत वितरण गरिएको बनेपा नगरपालिकाका कार्यकारी अधिकृत सुरेश दाहालले जानकारी दिए । 

Post a Comment

0 Comments